|

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गतको रकम हस्तान्त्रण गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरूलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे।

बैंकले नेपाल सालिमार सिमेन्ट प्रालिलाई एक करोड रुपैयाँ, नेपाल डेरीलाई १८ लाख ५ सय ६८ रुपैयाँ, पन्चकन्या स्टिल प्रालिलाई १३ लाख ९९ हजार एक सय दुई रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ५ लाख ५० हजार ८ सय रुपैयाँ, बागमती आयल इन्डष्ट्रिजलाई एक लाख ६५ हजार ९ सय रुपैयाँ हस्तान्त्रण गरेको हो।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बिहीबार एक समारोहका बीच हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम वाणिज्य बैंकले इनर्जी इफिसेन्सी प्रोग्राम नेपालले आयोजना कार्यान्वयनको लागि प्रोजेक्ट एक्सक्यटिङ एजेन्सी (पिइए)को रूपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ।

यस आयोजनाअन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइने छ।

आयोजनाअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.