|
फाइल फोटो

पोखरा : पोखरा प्रिमियर लिग पिपिएल क्रिकेटमा चितवन राइनोजले लगातार तेस्रो जित निकालेको छ। आज एक्सपर्ट धनगढीलाई ५२ रनले पराजित गर्दै चितवनले थप दुई अंक बटुलेको छ।

शीर्ष स्थानमा रहेको चितवनले अपराजित रहँदै ३ खेलबाट ६ अंक जोडेको छ। समान ३ खेल खेलेको धनगढीले एउटा मात्रै खेल जितेको छ र दुई अंक रहेको धनगढी तालिकाको पुछारमा छ। पोखरा रंगशालामा आज १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको धनगढीले पूरा ओभरमा ८ विकेट खर्चदै मात्र १ सय २९ रन मात्र बनाउन सक्यो। कप्तान दीपेन्द्र सिंह ऐरी अर्धशतक पूरा गर्नबाट १ रनले चुके।

४२ बल खाएका उनले ४ चौका र २ छक्का हान्दै ४९ रन जोडे। रोड्रिगो थोमसले २४, सन्दीप जोर्राले २१ रन बनाउँदा अमित यादवले १७ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। ३ जना शून्य रनमै आउट भए।

 त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पूरा ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो। आरिफ शेखले अविजीत ४७ रन बनाउँदा सनी पटेल पनि ३२ रनमा नटआउट रहे। आजै भएको अर्को खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको छ।

१ सय २१ रनको विजयी लक्ष्य बुटवल बलास्टर्सले ३६ बल बाँकी छँदै २ विकेट खर्चेर पार गर्‍यो। अफ्ताबुद्धिन अहमदको उत्कृष्ठ ब्याटिङ गर्दै ७५ रन जोडे। ४६ बलको सामना गरेका उनले १२ चौका र २ छक्काको मद्धतमा ७५ रन बनाएका हुन्।

यस्तैगरी, शंकर रानाले १९ रन बनाउँदा भीम सार्की १६ रनमा नटआउट रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर जम्मा १२१ रन जोड्यो। उसका लागि रवि इन्दर सिंहले अभिजित ४५ रनको योगदान गरे।

त्यस्तै प्रथमेश डाकेले अभिजित २० तथा रोहित पौडेलले १९ जोडे। त्यस्तै, इशान पाण्डेले १३ रन बनाए भने कप्तान शरद भेषवाकरले ७ रनमात्र जोड्न सके । बुटवलका लागि हर्ष टोन्कले २ विकेट लिए। ललित भण्डारी, शिवम सिंह तथा नितेश थापाले १–१ विकेट लिए। पोखरा पल्टनको तेस्रो हार हो।

चार खेलमा उसले १ खेलमा मात्र जित निकालेको छ। आज तेस्रो खेल खेलेको बुटवलले दोस्रो जित निकालेको हो। बुटवल ३ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.