प्रशासनको मिलेमतो रहेको स्थानीयको आशंका

|

सोलुखुम्बु : खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेको पाइएको छ। कैलाश र सिम्रिक एयरको हेलिकोप्टरले खुम्बुको विभिन्न क्षेत्रमा दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानी गरिरहेका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थानीय सुरक्षा निकायसँगको समन्वयमा मात्रै उडान भर्ने गरी अनुमति दिए पनि हेलिकोप्टर कम्पनीले आफु खुसी उडान भर्ने गरेको पाइएको छ। नेपाल नागरिक उड्डयान प्राधिकरण काठमाडौंले  सिम्रिक एयर प्रालिलाई २०७६ मंसिर १६ मा लेखेको चलानी नम्बर १०७८ को पत्र र २०७६ मंसिर २० मा कैलाश हेलिकोप्टर सर्भिसेज प्रालिलाई लेखेको चलानी नम्बर ११०७ को पत्रमा स्थानीय सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने उल्लेख छ।

बेखबर प्रशासन !

हेलिकोप्टर कम्पनीले सदरमुकाम सल्लेरीबाट करिब २ घण्टाको पैदल यात्रामा पुग्न सकिने सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुबाट सामान ढुवानी गरिरहेका छन्। दिनहुँ सामग्री ढुवानी गरिरहेको ती हेलिकोप्टरबारे जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल त्यस विषयमा जानकारी नभएको भन्दै सुरक्षा जाँच नगरी मनोमानी उडान भर्दा प्रतिबन्धित सामग्रीहरु ओसारपसार हुन सक्ने सम्भावना बढी रहेको बताउँछन्।

विगतमा पनि यसैगरी समान ढुवानी हुने गरेको स्थानीयहरु बताउँछन् । यसमा स्थानीयदेखि उच्च तहका व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने उनीहरुको आशंका छ। केही वर्षदेखि काठमाडौंबाट टाक्सिन्दुसम्म सिधा सडक सञ्चालन भएकाले त्यहाँसम्म गाडीमा सामान ढुवानी गर्ने र हेलिकोप्टर मार्फत माथिल्लो क्षेत्र लैजाने क्रम बढेको छ ।

समन्वयमा नै उडान : कम्पनी 

प्रमुख जिल्ला अधिकारीले हेलिकोप्टरले सामान ढुवानी गरेबारे जानकारी नभएको बताइरहँदा हेलिकोप्टर कम्पनीहरुले भने स्थानीय प्रशासनसँगको समन्वयमै नै सामान ढुवानी गरिरहेको दाबी गरेका छन्। 

कैलाश एयरका जनरल म्यानेजर प्रतापजंग पाण्डे प्रशासनसँगको समन्वयमा नै उडान भरिरहेको बताउँछन्। 

प्राधिकरण भन्छ : तत्काल छलफल गर्छौं 

उडान अनुमति जारी गर्ने तथा नियमन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने सोलुखुम्बुमा भइरहेको उडानबारे बोल्न चाहेनन्। उनले जिल्लाकै प्राधिकरण प्रमुख जानकार रहेको बताए।

नेपाल नागरिक उड्डयन कार्यालय फाप्लु सोलुखुम्बुका प्रमुख प्रकाश शर्माले भने कम्पनीले समान ढुवानीबारे आफुसँग कुनै समन्वय नगरेको दाबी गरे। कम्पनीले माथिको निर्णय भन्दै आफु खुशी उडान भर्ने गरेको उनको भनाइ छ। 

यता प्राधिकरणका सूचना अधिकारी एवं उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने सोलुखुम्बुमा भइरहेको उडानबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। स्थानीय सुरक्षा निकायसँग समन्वय नगरी उडान भर्नु तथा सामान ढुवानी गर्नु कम्पनीको लापरबाही भएको भन्दै उनले यसबारेमा केही दिनभित्रै बैठक डाकेर आवश्यक निर्देशन दिने र कमजोरी पाइए कारबाही गर्ने बताएका छन्।

उडिरहेको हेलिकोप्टरबाट खस्छ समान

सुरक्षा जाँचबिना जथाभावी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था गरेर मात्रै उडान गर्ने गराउने भन्ने निर्णय गरेको भए पनि त्यो लागू हुन नसक्दा समस्या हुने गरेको छ। 

गत भदौ १९ बिहीबार अपराह्न कैलाश एयरको उडिरहेको हेलिकोप्टरबाट सिरक लगायतको सामग्री खसेको थियो। फाप्लु विमानस्थलबाट उडेको उक्त हेलिकोप्टरले केही मिनेटमै सोलुदुधकुण्ड नगरपालिका–२ फेरामा उक्त सामाग्री खसालेको भन्दै स्थानीयले प्रशासनको ध्यानकर्षण समेत गराएका थिए। यस्ता घटना पटक पटक हुदा समेत नियमनकारी निकाय मौन बसेको स्थानीय छिरिङ शेर्पाले गुनासो गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.