|

सुपरस्टार सलमान खानको जन्मदिनलाई मध्यनजर गर्दै बिइङ ह्युमन क्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ। सलमानद्वारा सञ्चालित बिइङ ह्युमन फाउण्डेसन मातहत सञ्चालित बिइङ ह्युमन क्लोथिङ नेपालले सलमानका ‘फ्यान’हरुलाई लक्षित गरेर नयाँ स्किम निकालेको हो। बिइङ ह्युमन क्लोथिङको नेपालस्थित आधिकारीक बिक्रेता वस्त्र इन्कले आफ्नो फेसबुक पेजमार्फत यसको जानकारी दिएको हो।

स्किमअनुसार सलमानको जन्मदिन अर्थात डिसेम्बर २७ तारिखका दिन बिइङ ह्युमन ब्राण्डको १५ हजार बराबरको कपडा खरिद गर्दा सलमानको फिल्म दबगं–३ को एउटा टिकट र ‘बिइङ दबगं’ लेखिएको टि–सर्ट उपहार पाइनेछ। ‘सलमानको जन्मदिन भव्य रुपमा मनाउने तयारी गरिरहेका छौँ’, बिइङ ह्युमनका सञ्चालक सुदिपचन्द्र बख्रेलले भने, ‘त्यस दिनको लागि भनेर एउटा सिनेमा हल नै बुक गरिसकेका छौँ।’ त्यस दिन ‘वर्थ डे केक’ काटिसकेर सामुहिक रुपमा सलमान खानको सिनेमा हेर्न लगिने उनले जानकारी दिए।

बिइङ ह्युमनका अर्का सञ्चालक सुरज केसीका अनुसार सलमानको जन्मदिनको अवसर पारेर नेपालमा रहेका उनका फ्यानहरुलाई एक ठाँउमा जमघट गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले भने, ‘हामीले बलिउड सुपर स्टार होईन, एउटा ठूलो परोपकारी संस्था, बिइङ ह्युमन फाउण्डेसनका संस्थापकको जन्मदिन मनाउन लागेका हौँ।’

यसै अवसरमा बिइङ ह्युमन ब्राण्डको बिइङ ह्युमन ई–साइकल पनि सार्वजनिक गरिने सञ्चालक राजु थापा क्षेत्रीले जानकारी दिए। ‘१ सय भन्दा बढी अग्रिम बुकिङ भएको ई–साईकल पनि हामी सलमानको जन्मदिनको अवसरमा नै सार्वजनिक गर्दैछौ,’ उनले भने।

स्मरण रहोस, बिइङ ह्युमन फाउण्डेसनले बिइङ ह्युमन ब्राण्डका सामग्रीहरु बिक्री गरेबापत हुने आम्दनीको एउटा निश्चित हिस्सा परोपकारका लागि छुट्याउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.