|

सल्यान : जिल्लाको माल्नेटा राष्ट्रिय रूपमा मात्र नभई एसियाकै रेशाविहीन अदुवा उत्पादनको हिसाबले परिचित छ। शारदा नगरपालिका १४ ढारखानी बोसे जातको अदुवाको जननी मानिन्छ।  यहाँको अदुवा र अन्यन्त्रको अदुवाबीच तुलना गर्न सकिँदैन। भनिन्छ यहाँको अदुवाको बिउ अन्यन्त्र पुगे पनि केही वर्षमै रेशा देखिन थाल्दछ।

यहाँको अदुवा अन्य ठाउँको भन्दी बढी मूल्यमा पनि बिक्री हुने गर्दछ। यहाँका किसानहरुले एक वर्षमा तीन पटक अदुवा बिक्री गर्ने गर्दछन्। साउन भदौमा माउ बिउ, जुन बेमौसमी भएकाले मूल्य पनि राम्रो पाउँछ। दोस्रो कात्तिक मंसिर नयाँ अदुवा र फागुन चैतमा बिउ बिक्री गर्ने गर्दछन्। नयाँ अदुवाभन्दा माउ बिउ र फागुन चैतमा गरिने अदुवाको बिउको मूल्य अधिक हुने गर्दछ।

नेताको भान्सासम्म

माल्नेटा र अदुवाको चर्चा नेपाली राजनीतिक इतिहासमा पनि पढ्न पाइन्छ। अहिले पनि सल्यानमा जुम्लाको समालीमा वर्षे राजधानी र जाजरेकोटको जक्तिपुरमा हिउँदे राजधानी भएका प्रभावशाली राजा जक्तसिंह (वि.स.१०५५) ले भोजन गर्दा प्रत्येक छाकमा बनगाड मानटुरोको चामल, जुम्ला मुनाघाटका माछा, खगेनकोटे गाईको घिउ, जथाकको दही र माल्टा ढारखानीको अदुवा खान्थे भन्ने लोकोक्ति छ।

दिल्ली सम्राट्‍का दरबारसम्‍म

नेपालको केन्द्रीय राज्य सत्तामा रहेका तत्कालीन शाह राजाहरु र राणाहरुको खान्कीमा मात्र होइन ढारखानीको अदुवा दिल्ली सम्राटका दरबारसम्म सल्यानी राजाहरुबाट कोशेलीको रुपमा पठाउँथ्‍यो भन्ने भनाइ छ।

ढारखानी क्षेत्रको माटो अदुवा उत्पादनका लागि उपयोगी रहेको छ। प्रांगारिक पदार्थ धेरै भएको, कालो र दोमट किसिमको माटो भएकाले यहाँको अदुवा राम्रो हुने किसानहरुले बताउने गर्दछन्। ढारखानीका २ सय ५० घरधुरीले व्यावसायिक अदुवा खेती गर्दै आइरहेका छन्।

एउटै बोटमा पाँच केजी

एउटा अदुवाको गाँजमा पाँच किलोसम्म फल्ने किसान तेजबहादुर कँवरले बताए। २५ वर्षदेखि व्यावसायिक अदुवा खेती गर्दै आएका कँवरले वार्षिक २ लाख आम्दानी गर्दै आइरहेको बताए। शिक्षण पेशासँगै अदुवा खेती गर्दै आइरहेका कँवरले ढारखानीवासीको मुख्य आम्दानीको स्रोत नै अदुवा भएको बताए।

गाउँमै पुग्‍छन् व्यापारी

यहाँका किसानहरूले वार्षिक १ हजार ४ सय क्विन्टल अदुवा बिक्रीका लागि तयार गर्छन् भने करिब ५ सय क्विन्टल बिउको रूपमा उत्पादन गर्ने गरेको १४ नम्बर वडाका वडाअध्यक्ष कृष्णबहादुर गिरीले बताए। उनका अनुसार अदुवा किनेर लैजान व्‍यापारीहरु गाउँमै पुग्ने गर्दछन्। अदुवा बिक्री गरेरै कृषकहरुले वार्षिक एक करोड बढी रकम आम्दानी गर्ने गरेका छन्।

पिस्दा रेसा नभएर धुलो मात्र हुने भएकाले ढारखानीको अदुवाको माग धेरै हुने गरेको स्थानीय व्‍यापारी ज्ञानदेव घर्तीले बताए। उनका अनुसार अहिले काँचो अदुवा धेरै माग भएको छ। पछि बिउको रुपमा पनि यहाँका अदुवा देशका विभिन्न जिल्लाबाट माग हुने गरेको छ।

यो वर्ष दोब्बर दाम

गत वर्ष प्रतिकिलो २० रुपैयाँमा अदुवा बिक्री गरेका कृषकले यो वर्ष भने ४२ रुपैयाँ प्रतिकिलो अदुवा बिक्री गरिरहेका छन। बिउको रूपमा अदुवा १ सय ६० रुपैयाँ प्रतिकिलो किसानले बिक्री गर्छन्।

सल्यान जिल्लामा २ हजार ९० हेक्टर क्षेफलमा अदुवा खेती गरिन्छ। यहाँ २८ हजार ३ सय ९२ मेटिक टन अदुवा उत्पादन हुने गरेको कृषि विकास कार्यालय सल्यानको तथ्यांक छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.