|
फाइल फोटो

बाग्लुङ: बाग्लुङमा राजनीतिक दलको आडमा बिकास निर्माणबाटै कमिशन खान वडासदस्य र दलका प्रतिनिधिहरू संलग्न भएको रहस्य खुलेको छ। जनप्रतिनिधिले नै डोजर मालिकसँग तोकेरै घण्टे रकम असुल गरेको खुलेको हो।

डोजर चलाएको घण्टाका आधारमा उनीहरूले ३ सयदेखि ५ सय रुपैयाँसम्म कमिशन खाएको खुलेको हो। वडा सदस्य तथा कांग्रेसका प्रतिनिधि कर्णसिंह पुन, नेकपाका वडा सचिव टेकबहादुर रायमाझी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष रघुनाथ पाध्याले डोजर मालिकसँग रकम बार्गेनिङ गर्दै खाएको स्थानीय युवाले पत्ता लगाएको बताए। उनीहरूले ठेकेदारलाई भुक्तानी समेत रोकेको समेत खुलेको छ। 

स्थानीय थमस श्रीषको अगुवाईमा युवाले ठेकेदारसँगको बार्गेनिक गरेको अडियो रेकर्ड आइतबार र सोमबार गाउँमै सार्वजनिक गरेका थिए। पूर्व वडा अध्यक्ष केशवराज शर्माको डोजर गाउँको सडक खन्न प्रयोग भएको थियो। त्यस्तै अर्का व्यवसायी बसन्त शर्माले पनि यहाँका ग्रामीण सडकमा ठेक्का लिएर डोजर चलाएका थिए।

यहाँ संचालित कृषि सडकमा डोजर प्रयोग भएको थियो। वडा कार्यालय देखि टोलटोलमा पुग्ने सडक निर्माणमा पनि डोजर प्रयोग भएको थियो। आर्थिक बर्ष २०७५/०७६ मा डोजर लगाएको धेरैजसो रकम भुक्तानी नपाएको शर्माले गुनासो गरे। निर्माण व्यवसायीले भुक्तानी नपाएको वर्ष मात्रै पूर्वाधारतर्फ झण्डै एक करोड रुपैयाँ खर्च भएको वडा अध्यक्ष बिजय अधिकारीले स्वीकारे।

‘उपभोक्ताले काम गर्ने भएकोले उनीहरूबाटै योजना सम्झौता हुन्छ ’, अध्यक्ष अधिकारीले भने,‘भ्रष्टाचार भएको कुरा बाहिरियो। अनुसन्धान र कारबाही पनि हुन्छ।’ 
नगरपालिकाले कामको मूल्यांकनपछि उपभोक्ता समितिलाई रकम भुक्तानी दिने गर्छ। उपभोक्ताले डोजरसँग सम्झौता गरेर भुक्तानी बुझाउने गर्छन्। कमिशनकै खेलका कारण मोटर बाटो निर्माणको क्रममा वडा सदस्यले हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेका छन्।

वडा सदस्य कर्णसिंह पुनलगायतले कुटपिट गरेको भन्दै मोटर बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले प्रहरीमा जाहेरी दिन बागलुङ आएका हुन्। दुवै पक्षलाई राखेर छलफल गराउने भन्दै प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन। 

साविकको छिस्ती गाउँ विकास समिति १ देखि ३ सम्मको मोटर बाटो निर्माणको क्रममा हातपात तथा दुर्व्यवहार गरेको भन्दै उनीहरूबिरुद्ध उजुरी दर्ता गर्न खोजिएको छ। पौडेलले पुस ४ गते हातपात गरेको बताएका छन्। नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित पुनले विभिन्न बहाना बनाउँदै मोटरबाटो निर्माण कार्यलाई अवरोध गरेको पौडेलले आरोप छ।

पुनले आफूहरूसँग कमिशन मागेको समेत पौडेलले गुनासो गरे। ‘यो मेरो इलाका हो भन्दै डोजर चल्न दिएनन्’, पौडेलले भने, ‘म अरुलाई मिलाउँछु भन्दै प्रतिघण्टा ३ सय रुपैयाँ समेत माग्थे। नदिएपछि हातपात र दुर्व्यवहार गर्थे।’

वडा सदस्यले भनेको डोजर प्रयोग नगर्दा हातपात गरेको उनको आरोप छ। ‘उनीहरूको दुई शर्त थिए’, पौडेलले भने, ‘पहिलो उनीहरूले बसन्त पौडेलको डोजर प्रयोग गर्न दबाव दिइरहे। त्यो नभएपछि उनीहरूले कमिशन मागे। त्यो पनि नदिएपछि हातपात गरे।’ 

यता वडा सदस्य पुनले आफूले कसैलाई हातपात नगरेको बताउँछन्। वडाले मोटरबाटो निर्माणको लागि चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेको थियो। घटनाको विषयमा दुवै पक्षलाई छलफलको लागि बोलाइएको प्रहरी नायव उपरीक्षक नवराज भट्टले बताए। अर्को पक्षले पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकाले छलफलको लागि पत्र काटिएको भट्टले बताए। उनले छलफलमा नआए मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाउने जानकारी दिए।

घटनाबारे नेकपाको विज्ञप्ति

घटनाको विषयलाई लिएर नेकपा जैमिनी नगरकमिटिले विज्ञप्ति जारी गर्दै खेत प्रकट गरेको छ। राज्यको स्रोतमाथि अप्राकृतिक साँठगाठ गर्दै दोहन गरेको भन्दै नेकपा जैमिनीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

नेकपा जैमिनी नगर कमिटिका अध्यक्ष इन्द्र थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘समाजको अगुवाई गर्ने नेतृत्व पंक्तिका व्यक्ति नै यस्तो कार्यमा संलग्न हुनु अनैतिक र लज्जास्पद विषय हो। हाम्रो पार्टी यस्ता खालका जनविरोधी कार्य, दुश्कर्म, व्यवहार र प्रबृत्तिको बिरोध गर्दछ।’ 

नेकपाले घटनाका विषयमा सत्य तथ्य छानविन गर्दै कारबाहीको माग पनि गरेको छ। नेकपा वडा नं. ८ कमिटिका सचिव रहेका टेकबहादुर रायमाझीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको र जिम्मेवारीबाट मुक्त भएको घोषणा समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.