सात महिनामा ८ करोडको अवैध सामग्री बरामद

|

पर्सा : मध्यतराई चीसोले कठ्याँग्रिदो चिसो बढिरहेको समयमा राजश्व छली र चोरी निकासी गर्ने व्यक्ति भने सक्रिय हुने गरेका छन्। पर्सा प्रहरी मातहतको प्रहरीले एकगाडी कस्मेटिक सामान अवैध तरिकाले निकासी गर्न लागेको समयमा पक्राउ गरेपछि यस्तो खुलासा भएको हो।

शीतलहर र चिसोले मध्यतराई सुनसान रहेको समयमा अवैध कारोबारीले आफ्नो सक्रियता बढाएको पाइएको हो। तर, प्रहरीको सुक्ष्म निगरानीले ग्रामीण बाटो प्रयोग गर्दा पनि कारोबारी उम्कन नसकेको पर्सा प्रहरीले दाबी गरेको छ।  शीतलहरले टाढाको वस्तु यो सिजनमा देखिदैन। त्यो मौका छोपेर पर्साको ग्रामीण क्षेत्र छिपहरमाई गाउँपालिका-४ तुलसीवर्वाबाट ना. १ क २९१८ नम्बरको पिकअप गाडीमा १६ लाखको कस्मेटिकका सामान भारततर्फ लगिदै गर्दा बरामद भएको छ।

सो गाडीसहित चालकलाई पनि नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र शाहीले बताए। प्रहरी नियन्त्रणमा परेका चालक वीरगन्ज २६ सुगौली विर्ताका एजाज देवान रहेको उनले बताए। सो गाडीमा भएको सामानअनुसारको कुनै कागजात फेला नपरेपछि लोडभएको गाडीसहित चालकलाई पनि नियन्त्रणमा लिएको पर्सा प्रहरीको भनाइ छ।

गाडीमा लोड गरिएका सामानमा क्लिनिक प्लस सेम्पो, पोन्स पाउडर, डोभ साबुन, क्लोजअफ लगायतका १६ लाखका सामान छन्। त्यो गाडीसहित मानिसलाई पनि थप कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको पर्सा प्रहरीले जनाएको छ।

सात महिनामा ८ करोडको अवैध सामान र नगद बरामद 

यता खुल्ला सीमाको फाइदा उठाउँदै गएको सात महिनामा पर्सा प्रहरीले ८ करोड जतिको सामान र नगद बरामद गर्नुले पनि पछिल्लो समयमा अवैध कारोवारको पारो बढेको तथ्य फेला परेको छ। पर्सा प्रहरी मातहतका प्रहरीले नियन्त्रणमा लिएको यो तथ्यांक विगतको सात महिनाको समीक्षा अवधिको भन्दा बढी भएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले थाहा खबरसँग बताए।

अघिल्ला वर्षमा समीक्षा अवधिमा (जेठदेखि मंसिरसम्म) ६ करोडभन्दा बढीको अवैध सामान र नगद बरामद नभएको उनले दाबी गरे। प्रहरीको सक्रियताले नै यो तथ्यांक बढेको प्रहरी उपरीक्षक राठौरको तर्क छ।

प्रहरीको तथ्यांकअनुसार ३१ जना मानिस र उनीहरूको साथबाट नेपाली र भारतीय अवैध रकम १ करोड ४८ लाख १४ हजार २४४ रुपैया त नगद मात्र बरामद भएको देखिन्छ। यसको अलावा खाद्यान्न, लत्ताकपडा, मोटर पार्टस्, विद्युतीय सामग्री, चाँदी, भैँसी, पाडापाडी र गरी ६ करोड ५१ लख ८५ हजार ७५६ रुपैया बराबरको भने जिन्सी सामानहरू पर्सा प्रहरीले मात्र बरामद गरेको प्रहरी उपरीक्षक राठौरले बताए।

जिन्सी सामानमा नेपालबाट भारततर्फ अवैध रूपले लान थालेका पनि मरिच, केराउ, छोकडा, सुपारीलगायतका सामान बरामद हुने गरेको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.