आऊ मान्छे बनौं!
मान्छे – मान्छे बन्नुभन्दा ठूलो कुरा
मान्छेका लागि केही हुँदैन।
तिमी अहम्को पगरी उतार
झारी दिन्छु म पनि सङ्कीर्णताको पर्दा
देवता – देवता बन्नुअघि नै
बनेको हो यो सभ्यता
मलाई विश्वास गर
मानवताको मैदानभन्दा अग्लो
धर्मको हिमचुली हुँदैन।
आऊ सँगै हिँडौं – पहिले जस्तै
जसरी हिँडेका थियौं
सडकको डरलाग्दो सन्नाटा चिरेर
निरङ्कुशताका विरुद्धमा
नरोक – देश बनाउन हिँडेको मजदुरलाई
देश पढ्न हिँडेको विद्यार्थीलाई
हिजो त्यही सडक बनाउँदा लागेको घाउमा
टिटानासको सुई हान्न हिँडेको वीरबहादुरलाई नरोक
मलाई विश्वास गर
सडकको सन्नाटाभन्दा भयङ्कर
आँधीको नृत्य पनि हुँदैन
मलाई विश्वास गर
सडकलाई मान्छेको कोलाहलभन्दा प्रिय
सत्ताको साइरन हुँदैन।
आऊ सँगै बसौँ चौतारीमा
कसौँ विश्वासको धागो
झिकौँ दम्भका इँटाहरू हृदयबाट
म सागर लिएर आउँछु
तिमी आकाश लिएर आऊ
तर विन्ती!
काँधमा बन्दुक राखेर
देउरालीको चौतारीमा
राष्ट्रियताको सुस्केरा नहाल
भर्खरै – भर्खरै मात्र देउराली भाकेर
त्यही चौतारीमा यो देश
बेपत्ता छोराको तस्वीर बोकेर निदाइ रहेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।