५४ प्रतिशत काम सकियो

|

पोखरा : निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा ६ महिनाअघि नै तयार हुने भएको छ। उक्त कुराको जानकारी शनिबार विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले दिएका हुन्।

निर्माणाधीन विमानस्थलको कार्यप्रगतिको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई जानकारी दिँदै उनले हालसम्म ५४ प्रतिशत काम सकिएको उल्लेख गरे। 

विमानस्थल परियोजना प्रमुख मुनाकर्मीले तोकिएको अवधि भन्दा ६ महिनाअघि नै अर्थात् सन् २०२१ जुलाई १० सम्म निर्माण पूरा हुने बताएका हुन्। 

परियोजनाले सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न भई परीक्षण उडान सुरु गर्ने तयारी गरेको छ। जुलाईबाट व्यावसायिक उडान सुरु हुने मुनाकर्मीले जानकारी दिए।

विमानस्थल अनुगमनमा पुगेका मन्त्री भट्टराई स्थानीयवासीलाई मर्का नपर्ने गरी मुआब्जा वितरण गरिने बताए। 'जहाज अवतरणलाई थप सहज बनाउन लागिएको छ', उनले भने, 'ग्लाइड पाथ’का लागि १०४ रोपनी  आवश्यक पर्छ।' 

धावनमार्ग तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको परियोजनाले जनाएको छ। ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्वारको काम जारी रहेको परियोजना प्रमुख मुनाकर्मीले जानकारी दिए।
 
सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएमसी इञ्जिनीयरिङ कम्पनीबीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएको थियो। सन् २०१७ को जुलाई ११ बाट निर्माण सुरु भएको विमानस्थलको कूल लागत २२ अर्ब छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.