|

सोलुखुम्बु : जिल्लाको थुलुङदुधकेशी र सोताङ गाउँपालिका जोड्ने दिप्लीघाटस्थित दूधकोशी नदीमा निर्माण हुने मोटरेवल पुलको शिलान्यास गरिएको छ। शनिबार एक कार्यक्रमका बीच उक्त पुलको शिलान्यास गरिएको हो।

सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शूरवीर), प्रदेश सांसद उत्तमकुमार बस्नेत, थुलुङदुधेकोशी गाउँपालिका अध्यक्ष असिम राई, सोताङ गाउँपालिका अध्यक्ष बीरबहादुर राई, नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला समन्वय प्रमुख बीरकुमार राईले संयुक्त रुपमा शिलान्यास गरेका हुन्। हिन्दू परम्पराअनुसार पूजापाठ गरी शिलन्यास गरिएको थियो।

३ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी महादेब खिम्ती हिराचन जेभिलेभ्याटसहित कुल १० करोड १८ लाख १९ हजार ७ सय २९ लागत निर्माणको जिम्मा पाएको छ।

समयमै काम सक्‍न निर्देशन

गाडी चढेर सिधा सडकमार्गबाट सहजरुपमा हिँड्ने कोशीपारीका नागरिकको सपनालाई समयमै पूरा गर्न सफल हुने आशा व्यक्त गर्दै सांसद राईले सोहीअनुसार काम गर्न निर्देशन दिए।

कार्यक्रममा आएका निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा पुल निर्माण कम्पनीका सञ्चालक रबी सिंहले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। जसको लागि बुडिडाँडादेखि दिप्लीघाट सम्मको सडक स्तरोउन्नति लगाएतको क्षेत्रमा सहयोग गर्न आग्रह गरे। उक्त क्षेत्रको सडक साँगुरो तथा ग्रेड नमिलेका कारण मालबहाक गाडी गुड्न समस्या हुने यातायात व्यवसायीको भनाइ छ।

सोही कार्यक्रमलाई सम्‍बोधन गर्दै नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले निर्माण व्यवसायीको कारण जनप्रतिनिधि आलोचित बन्नुपरेको बताए। विभिन्न योजनाको उदाहरण दिदै उनले दिप्लीघाटमा निर्माण हुने पुलको काममा त्यस्तो अवस्था सृजना नगर्न निर्माण कम्पनीलाई आग्रह गरे।

सडक सञ्‍जालको माध्याम

जिल्लाको सोताङ र महाकुलुङ गाउँपालिकालाई सदरमुकामसँगै अन्तरजिल्ला सिधा सडक सञ्जालमा जोड्ने माध्यम नै दिप्लीघाटको पुल बन्ने छ। जसको लागि कोशीपारिका नागरिकको आवश्यकता र निर्वाचानको बेला गरेको प्रतिबद्धताअनुसार अनेकौँ प्रयासपछि शिलान्यास गर्न सफल भइएको सांसद राईले बताए।

हिउँदमा ह्युम पाईप राखेर सिधा सडक सञ्चालन गरेको उक्त स्थानमा बेलिब्रिज समेत निर्माणाधिन अवस्थामा छ। गत वर्ष नै प्रदेश सरकारको करिब ४५ लाख बजेटमार्फत निर्माणका आवश्यक सामाग्री ल्याईएको भए पनि अहिलेसम्म सम्पन्न नहुँदा त्यस क्षेत्रका नागरिकले बारम्बार गुनासो गर्ने गरेको प्रदेश सांसद उत्तम बस्नेतको भनाइ छ।

कार्यक्रममा संबोधन गर्दै उनले बेलिब्रिज निर्माणका क्रममा केही प्राविधिक कारण ढिला भए पनि समयमानै मोटरेबल पुल निर्माणमा सक्दो सहयोग गर्ने बताए।

स्थानीय नागरिक हर्षित

दिप्लीघाटमा पुल निर्माण हुनेभएपछि कोशीपारीका नागरिक भने खुसी भएका छन्। उनीहरुले वर्तमान सरकारले जनताको आवश्यकतालाई पहिचान गरि बिकास गरिरहेको प्रतिक्रिया दिएका छन्। महाकुलुङ ५ का बिकाश राईले दुधकोशी नदीमा सिधा सडक सञ्चालन भएपछि कोशीपारीको बिकासमा ठुलो मद्दत पुग्ने बताए। कोशी पारीको दुई गाउँपालिका भित्रका १० वडा मध्ये अधिकांश वडा सडक सञ्जाल पुगिसकका छन्।

दुई वर्षदेखि यता हिउँदको समयमा उक्त क्षेत्रमा सवारी सञ्चालन गर्नको लागि सोही नदीमा ह्यमु पाइप राख्ने गरिएको छ। जुन बेला दैनिक उपभोग्य बस्तु लगाएत निर्माणका समाग्रीको मुल्य घट्ने गरेको सोताङका स्थानीय छत्र कार्कीले बताए। तर बर्खामा पानीको बहाब बढेसँगै ह्युम पाइप झिक्दा मानिसले बोकेर खोला वारपार गराउँदा प्रतिकेजी ५० रुपैया सम्म मुल्य बृद्धि हुने उनीहरुको भनाई छ।

पुल निर्माण भएपछि उक्त समस्या हट्नेमा कोशीपारीका नागरिक ढुक्क छन् भने सोही क्षेत्रमा पर्ने हुङ्गा खोलामा निर्माण हुने हाईड्रोपावरलाई समेत परियोजना सञ्चालन गर्न बाटो खुल्ला हुनेछ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.