|

अर्घाखाँची : अर्घाखाँचीका ६ वटै स्थानीयतहले सडक निर्माणलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरी खर्च गर्ने गरेका छन्।

चालु आर्थिक वर्षमामात्र अर्घाखाँचीका तीन नगरपालिका र तीन गाउँपालिकाले ३१ करोड १८ लाख ५० हजार रकम सडक निर्माणमा विनियोजन गरेका छन्। 
विकास बजेटको सबैभन्दा बढी हिस्सा २५ प्रतिशत रकम मोटरबाटोमा खर्च हुन्छ।

यस्तो रकम सडकको स्तरोन्नतिभन्दा पनि सडक सोहर्ने र नयाँ ट्रयाक खोल्नेमै खर्च गरिन्छ। प्रदेश तथा संघबाट प्राप्त हुने योजना पनि सडकमै केन्द्रित गरिएको छ। वर्षेनी करोडौं खर्चेर बनाइएका यस्ता सडक न दिगो छन् न सुरक्षित। हचुवाका भरमा डोजर चालकले निर्माण गरेका सडकले वर्षेनी विपद्‌ निम्त्याइरहेका छन्।

सन्धिखर्क नगरपालिकाले चालू आर्थिक वर्षमा ग्रामीण सडक निर्माणमा ८ करोड ८१ लाख ४३ हजार रुपैयाँ छुट्याएको छ। नगरपालिका भित्रका २ सय ५१ सडकको निर्माण, मर्मत, स्तरोन्नती तथा नाली कटिङ, ग्राभेल तथा कालोपत्रेको लागि रकम विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए।

१२ वर्षअघि नै यहाँका तत्कालीन् सबै गाविसमा मोटरबाटो पुगेको थियो। अहिले पुरानाबाटो छोडेर नयाँ ट्रयाक खोल्न होडबाजी नै छ। सन्धिखर्क नगरपालिकाको सिमानादेखि भुमिकास्थान नगरपालिका जाने सन्धिखर्क–कुर–नुवाकोट सडक कालोपत्रेका लागि २ करोड ४० लाख र प्रदेश सरकारको एक करोड गरी ३ करोड ४० लाख रकम विनियोजन भएको सूचना अधिकारी हरिसचन्द्र भुसालले बताए।

शितगंगा नगरपालिकाले एक सय ७१ वटा सडकका लागि ७ करोड ७७ लाख ४० हजार रुपैयाँ छुट्याईएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए। गत वर्ष सडक निर्माणमै ९ करोड भन्दा बढि रुपैयाँ छुट्याइएको थियो।  

यो बर्ष ठाडा अमराई जुकेना दमारबेंसी र भेडामारे सिमलपानी सडकको स्तरउन्नतीलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको छ। यस्तै, पाणिनी गाउँपालिकाले चालू आर्थिक वर्षमा तीन करोड ७९ लाख २७ हजार रुपैयाँ सडक विस्तारका लागि विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अच्यूत गौतमले जानकारी दिए।

मालारानी गाउँपालिकाले ३ करोड ५० लाख, छत्रदेवले एक करोड २९ लाख ९० हजार रुपैयाँ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जनाए। प्रदेश तथा संघबाट बन्ने ग्राभेल सडक र कालोपत्रे सडकमा वार्षिक ५० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ। तर बाटो गुणस्तरीय बन्न सकेका छैनन्। सोही कारण वर्षेनी दुर्घटना पनि बढीरहेका छन्। गएको आठ वर्षमा सडक दुर्घटनामा परि अर्घाखाँचीमा एक सय ५० जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ।

५७८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार नारायण पराजुलीले बताए। जिल्ला समन्वय समितिका अनुसार २८ मुख्य, १६ सहायक स्तर, ५० गाउँस्तरीय र ९६ टोल स्तरीय गरी झण्डै ११ सयको हाराहारीमा नयाँ सडक खनिएका छन्।

‘मोटरबाटो खन्दा नत वातावरणीय प्रभाव मूल्यांकन नै हुन्छ। न प्राविधिक सर्भे नै। डोजर चालक नै इन्जिनियर हुन्। अनि कहाँबाट दिगो विकास हुन्छ त खनिएका अधिकांश सडक डीपीआरबिनै निर्माण गरिएका छन्।

घरघरमा मोटरबाटो पुर्‍याउने होडबाजीले स्थानीयबीच सम्बन्ध टाढिँदै आएको छ। दिगो सडक निर्माण गर्नु भन्दा पनि चुनावताका जनता सामु बोलेका कुरा पूरा गर्न र अर्को पटक मत आफ्नो पक्षमा तान्न  गाँउमा खुद्रे सडक बनाउन तल्लीन भएको कतिपय जनप्रतिनिधिको भनाई छ। 

अव्यवस्थित सडकका कारण घरमै पहिरो खस्न थालेपछि मोटरबाटो निर्माण रोक्न मुद्दा परेका छन्। सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख तथा स्थानीय न्यायिक समितिका संयोजक ठाकुरकुमार विकका अनुसार त्यस्ता मुद्दालाई सबै पक्ष बसेर छलफल गर्ने र क्षति कम हुनेगरी मेलमिलाप गराइने तयारी छ।

जिल्लाका विभिन्न ठाँउमा अनावश्यक रूपमा सडक खोलेर रकम दुरुपयोग भैरहेको स्थानीयको गुनासो छ। हिउँद महिनामा नयाँ सडक बनाउने, पुराना मर्मत गर्ने तर बर्खायाम सुरू भएपछि भू–क्षय तथा पहिरो जाने समस्या छ।

बर्षायाममा सबै ग्रामीण सडक बन्द हुन्छ। गाउँ पुग्ने मुख्य सडक नै बर्षायाममा पहिरोका कारण बन्द हुदा ग्रामिण क्षेत्रका नागरिकले वर्षेनी आवत जावतमा सास्ती खेप्दै आएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.