सडक शिलान्यास कार्यक्रममा अरु नै कुरा

|

अर्जुन काफ्ले 
पथरी (मोरङ)
: मोरङको पथरीशनिश्चरे नगरलाई पुर्व-पश्चिम सडक सञ्जालले जोड्ने पक्की सडक शिलान्यास कार्यक्रम सुकुम्बासी समस्यामै केन्द्रित भयो।

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो प्रमुख अतिथि रहेको कार्यक्रमका बक्ताले सुकुम्बासी समस्या समाधान गर्न केपी ओली नेतृत्वको दुईतिहाइको सरकार असफल भएको आरोप लगाए।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले आफूले संसददेखि सडकसम्म सुकुम्बासी समस्या र नदी कटानका कुरा उठाउँदै आएको बताए। 

उनले  पथरी-शनिश्चरे नगर र कानेपोखरी गाउँपालिका क्षेत्रको सुकुम्बासी समस्यालाई एउटै डालोमा हालेर समस्याको समाधान खोज्न नसकिने उल्लेख गरे।

‘यहाँको समस्या सुकुम्बासीको मात्रै होइन। यहाँ अब्यवस्थित बसोबास छ। दोहोरो स्वामित्वको समस्या छ। जोत्नेको नाममा जग्गा छैन। पूर्जाबालले आफ्नो जग्गा चिन्दैन', उनले भने, 'यो फरक खालको समस्या भएकोले शक्तिशाली उच्चआयोग गठन गरेर मात्रै समस्याको स्थायी समाधान खोजिनु पर्छ।'

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले सुकुम्बासी समस्यालाई समाधान गर्न दुईतिहाइको सरकारले नसकेको आरोप लगाए। ‘भाषणमा मीठा कुरा गर्ने अनि कुर्सीमा बसेपछि भोट बिग्रने डरले समाधान नखोज्ने कम्युनिष्ट चरित्रले समस्या झनै झागिँदै गएको हो,’उनले भने। 

त्यही कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णकुमारी राईले सुकुम्बासीहरूलाई बारम्बार दु:ख दिइरहेको बताउँदै स्थायी समाधान खोज्न तीनै तहका सरकारले चाँडो काम थाल्नु पर्ने बताइन।

नगरका अधिकास क्षेत्रमा सुकुम्बासी समस्या छ। दोहोरो स्वामित्वका कारण यहाँ समय समयमा तनावको स्थितिसमेत हुँदै आएको छ। केही दिनअघि सुकुम्बासीहरुले भोगचलन गर्दै आएको जग्गा दाबी गरेको आरोपमा ४ जनालाई बन्धक बनाएका थिए। केही वर्षअघि मात्रै सुकुम्बासीले गरेको आन्दोलनले पथरी तनावग्रस्त बनेको थियो। 

सडकको शिलान्यासका क्रममा नगर प्रमुख दिलिपकुमार राईले पनि कोही मान्छे पूर्जा बोकेर आउँदैमा जग्गा लिएर नजाने उल्लेख गरे। बिक्री प्रक्रिया नगरको स्वीकृतिबिना असम्भव रहेको उनले प्रष्ट पारे। 

सुकुम्बासी समस्यालाई पटक पटक चुनावी एजेण्डा बनाएका दलले समस्या समाधानका लागि पहल नगर्दा यहाँका स्थानीयवासी निराश छन्। 

सुकुम्बासी समस्या समाधानमा यस क्षेत्रबाट निर्वाचित स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि ठोस कदम चाल्न नसकेको स्थानीयवासी सुकुम्बासी नेता मौसम लिम्बू बताउँछन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.