|

सल्यान : भ्रमण वर्ष सन २०२० सुरु हुन एक दिन बाँकी छ। सल्यानमा भने अहिलेसम्म पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार नै शुरू भएको छैन।

स्थानीय तहहरुले पर्यटक आर्कषण गर्न र पर्यटकीय स्थलको प्रचार प्रसारमा ध्यान पुर्‍याउन सकेका छैनन्। औपचारिक कार्यक्रम र चिठ्ठी–पत्रमा भ्रमण वर्ष सन् २०२० को लोगो राख्ने बाहेक कुनै उपलब्धी मुलक काम भएका छैनन्। 

स्थानीय तहका प्रमुखहरु पनि भ्रमण वर्ष सार्थक बनाउन बृहद योजना आवश्यक भएको, तर जिल्लामा कुनै तयारी हुन नसकेको स्वीकार्छन्। जिल्लामा पर्यटकहरुलाई आकर्षण गर्ने प्रशस्त पुरातात्विक तथा ऐतिहासिक स्थल रहेपनि जिम्मेवार निकायकै बेवास्ताले सल्यानमा भ्रमण बर्ष खल्लो बन्दैछ।

सरकारले सार्वजनिक गरेको सय पर्यटकीय गन्तब्यमा परेको कुपिण्डे ताल सल्यानकै बनगाड–कुपिण्डे नगरपालिकामा पर्छ। एक बर्षभित्र यो तालले तीनपटक रङ बदल्छ। तर यही नगरपालिकाले भ्रमण बर्षका लागि अहिलेसम्म कुनै कार्यक्रम राखेको छैन। 

नगरपालिकाभित्र पर्यटकीय स्थलहरु भएपनि भ्रमण बर्ष लक्षित कार्यक्रम तय नगरेको नगरप्रमुख गोबिन्द कुमार पुनले बताए। ‘हाम्रो नगरपालिकामा छुट्टै कुनै कार्यक्रम छैन’ उनले भने ‘पर्यटकीय गन्तव्यहरु त धेरै छन्, तर कुनै खास योजना बनाउन सकिएको छैन।’ 

शारदा नगरपालिकामा प्रसिद्ध खैरावाङ्ग भुवनेश्वरी मन्दिर पर्दछ। तर शारदा नगरपालिकाले पनि पर्यटन प्रवर्द्धनका लागि कुनै ठोस कार्यक्रम अघि सारेको छैन। ‘अहिलेसम्म भ्रमण बर्ष लक्षित कार्यक्रम तय भएको छैन, तर केही कार्यक्रम ल्याउँछौं।’ नगर उप–प्रमुख सावित्रा बस्नेतले भनिन्–‘कुन कार्यक्रम गर्ने भनेर तय भएको छैन, हामी यस बिषयमा छलफल गदैछौं।’

कुमाख लेक र सिद्ध गुफा सिद्धकुमाख गाउँपालिकामा पर्दछ। यस गाउँपालिकाले पनि भ्रमण बर्ष लक्षित ठोस योजना बनाएको छैन्। गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले यस बिषयमा सरोकारवालाहरु सँग छलफल गरेर कार्यक्रम तय गरिने बताए। 

पशुवली नचढ्ने छत्रेश्वरी शक्तिपिठ, जथाक लेक, चाँदनी साततले गुफा लगाएतका पर्यटकिय क्षेत्रहरु छत्रेश्वरी गाउँपालिकामा पर्दछन् भने कालीमाटी गाउपालिकामा कछुवा दह, लक्ष्मीपुर शक्तिपिठ लगाएतका पर्यटकीय स्थल छन्‌।

यस्तै त्रिबेणी गाउपालिकामा फलावाङ्ग दरबार र त्रिबेणी तिर्थशाला धाम, दार्मा गाउपालिकामा मालिका लेक लगायतका पर्यटकीय स्थलहरु रहेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.