|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टी भद्रगोल भएको आरोप लगाएका छन्। नेता सिहंले सोमबार आफ्नै निवास चाक्सीबारीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन वर्तमान नेतृत्वले नसकेको बताएका हुन्। 

‘अहिले शेरबहादुरजीले परम्परा भनेको, अभ्यास भनेको केही हैन कांग्रेस भनेको मै हुँ भन्ने रवैया देखाउनुभयो,’ उनले भने, ‘उहाँ टेस्टेड लिडर हो, डेमोक्रेसीको लागि फाइट गरेकै हो तर, इलेक्टेट पार्टी सभापतिको हैसियतमा नेपाली कांग्रेसलाई सबैलाई समेटेर नेतृत्व दिनुपनर्थ्‍यो त्यो प्रदर्शन गर्न सक्नुभएन।’ 

पार्टी सभापति नेपाली कांग्रेसलाई एक बनाउनभन्दा पनि गुट स्थापित गर्न अग्रसर भएको सिंहको आरोप छ। ‘ए कांग्रेस, बी कांग्रेस, सी कांग्रेसभन्दा पनि नेपाली कांग्रेसलाई केन्द्र राखेर पार्टी अगाडि बढाउनुपर्छ,’ सिंह भन्छन्,‘जनताको लागि यो पार्टी भरपर्दाे हो भन्ने बनाउनुपर्छ अहिलेको नेतृत्वले त्यो गर्न सकेको छैन। व्यक्तिको कुरा हैन संस्थागत रूपमा अगाडि बढाउन वर्तमान नेतृत्वले सकेन पर्फमेन्सले देखाइसक्यो।’ 

देउवाको विकल्प को? 

पार्टीमा देउवाको विकल्प खोज्नुपर्ने बेला आइसकेको उनको भनाइ छ। ‘प्रजातान्त्रिक पार्टीले अबको अधिवेशनमा प्रजातान्त्रिक तबरबाटै अहिलेको नेतृत्वको अल्टरनेटिभ नेतृत्व हामीले प्रस्तुत गर्नसक्नुपर्छ,’ उनले भने, ‘अहिलेको पार्टी सभापतिले सही नेतृत्व दिन सक्नुभएन उहाँको ठाउँमा बेस्ट टिम खडा गर्नुपर्छ। पार्टीभित्रकै स्थापित नेताहरू एक ठाउँमा आएर गर्नुपर्छ।’

अबको अधिवेशनमा तपाईं कुन पोजिसनमा चुनाव लड्दै हुनुहुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा नेता सिंहले भने, ‘त्यो समयले बताउला।’ उनले आफू नेतृत्व गर्न सक्षम रहेको संकेतसमेत गरेका थिए। उनले आफू विभिन्न हण्डर ठक्कर खाँदै पार्टीको अहिलेको स्थानमा आइपुगेको बताए। 

उनले २०७७ सालको फागुनमा पनि महाधिवेशन हुन्छ भन्नेमा शंका गरे। ‘महाधिवेशन अर्काे  फागुनमा पनि महाधिवेशन होला भन्ने ग्यारेन्टी छैन,’ उनले भने, ‘अहिले काम केही नगर्ने। खै काम गरेको?’ 

एकलौटी निर्णय मान्दैनौँ 

वार्ताबाट आन्तरिक विवाद समाधानको प्रयास भइरहे पनि पार्टी सभापतिले एकलौटी निर्णय गरेको उनको आरोप छ।  ‘छलफलमा क्यालेण्डर नआई हामी बस्दैनौँ भन्यौँ। पार्टी सभापतिले पनि हुन्छ सल्लाह गरौँला भन्नु भयो,’ उनले भने, ‘रामचन्द्र दाईकै कोठामा सँगै थियौँ। केही नभनी उहाँ जानुभयो। पछि त्यहाँको कर्मचारी पठाएर लौ मिटिङमा आउनुपर्‍यो भन्ने?’

प्याकेजमा छलफल गरेपछि मात्रै हामी ओर्किङ कमिटीमा आउने पौडेल पक्षको अडान अझै रहेको उनको भनाइ छ। ‘छलफलमा रामचन्द्र पौडेलको पक्षबाट म लगायत दिलेन्द्र बडू र हृदयराम थानी, शेरबहादुरजीको तर्फबाट उपसभापति विमलेन्द्रलाई पठाइयो,’ उनले भने, ‘पटकपटक बैठक बस्यौँ। पार्टीको विधानअनुसार मंसिरभित्रै अधिवेशन गरौँ भने कार्यतालिका हामीले बैठकमा दियौँ। त्यसमा करिबकरिब टुंगोमा पुगेका थियौँ ।’

नेविसंघको विषयमा सम्झौता गर्दा पौडेल पक्षले आफ्नो हैसियत बिर्सन हुन्न भन्ने ख्याल राखेको उनको भनाइ छ। ‘नेविसंघको कुरा आयो छलफलमा जाँदा हैसियत पनि बिर्सनु भएन। हैसियतभन्दा तल जाँदा त गद्दारी हुन्छ,’ उनले भने। शेरबहादुर देउवाले पार्टीको इतिहाससमेत बिर्सेको सिंहको आरोप छ।  

‘कुरा पार्टीभित्र विभिन्न मतभेदहरू थियो होला तर, महाधिवेशनको मिति घोषणा गर्दा सबैलाई राखेर, सबैलाई चित्त बुझाएर घोषणा हुने गरेको थियो,’ उनले भने, ‘किशुनजी, गिरिजाबाबु पार्टी सभापति हुँदा हेरौँ न ।’  आफुले गल्ती सच्याउन सभापतिलाई भन्दा झगडा गर्न आएको भनेर आरोप लगाएको उनले गुनासो गरे। ‘मैले गल्ती सच्याउन पर्‍यो भनेर कराउँदा झगडा गर्छ यो भनेर भन्छ बा’ उनले भने, ‘अरे बाबा कांग्रेसलाई व्यवस्थित बनाउन कसैन कसैले त आवाज उठाउन पर्‍यो नि। आवाज जायज कुरामा उठाएको छ कि छैन बुझ्नुपर्‍यो नि।’  

पार्टीलाई वर्तमान चुनौतीसँग लड्ने बनाउनुपर्छ भन्दा झगडा गरेको हुन्छ भन्दै उनले सभापतिसँग प्रश्नसमेत गरे। पार्टीमा अहिले धर्म गर्ने र पापी एकै ठाउँमा भएजस्तो भएको अनुभूति भएको पनि बताए। ‘पार्टी संस्थापकहरूको भिजन, परम्पराअनुसार चल्नुपर्‍यो नि नत्र नयाँ पार्टी र नेपाली कांग्रेसबीच के फरक भयो र?’ उनले भने, ‘पार्टीको इतिहास, वर्ग, काम गर्ने शैली छ। सबै कुरा स्थापित गर्नु पर्‍याे।'

मिलनविन्दु के हो? 

पार्टीमा सबै एक हुनको लागि सभापतिले अहिले प्रस्तुत गरेको सबै एजेण्डाहरू सच्याउनपर्ने उनको भनाइ छ। ‘अहिले प्रस्तुत गरेको सबै कुरा सच्याउनुपर्छ। एकातर्फी गरेको निर्णयहरू मान्य छैन,’ उनले भने, ‘पार्टीको धाराहरू निलम्बन गर्नु भएको छ। शेरबहादरजीले खल्तीबाट सक्रिय सदस्य जस्लाई दिए पनि हुने खालको छ। यसरी कसरी हुन्छ?’

 प्रजातान्त्रिक पार्टीमा महाधिवेशन निष्‍पक्ष देखिनु मात्र हैन हुनु पनि पर्ने उनको भनाइ छ।  ‘देख्दा पनि कब्जा गरेको जस्तो छ। आफैँ सभापति हुने खालको गरेर हुँदैन। मनपर्ने मान्छे मात्र राखेर हुँदैन’ उनले भने। 

उनले अब पौडेल पक्षले प्रतिनिधिसँग छलफल नगर्ने पनि बताए। ‘निधिजीसँग हैन सभापतिज्यूले नै जिम्मेवारी लिएर डाकेको बैठकमा हामी जान्छौँ नत्र प्रतिनिधि सहभागी भएको बैठकमा हामी जाँदैनौँ।’

त्यस्तै, उनले वर्तमान सरकारको अनियमितता रोक्न पार्टीको संसदीय दलको नेता नबोलेको आरोप पनि लगाए। ‘सरकारको रवैया रोक्न पार्टीको संसदीय दलले केही बोल्नुपर्‍यो,’ उनले भने, ‘संसदहरूले बोल्दैमा सिरियस लिँदैन रहेछ भन्ने कुरा बुझियो। संसदीय दलको नेता खै बोलेको दलको नेताको समर्थन रहेनछ भन्ने देखियो।’ उनले पार्टी सभापतिले संसदीय दलको नेताको भूमिका समेत बिर्सेको आरोप लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.