|

ताप्लेजुङ : ताप्लेजुङमा विभिन्न जातजाति तथा समुदायको सद्भावपूर्ण सहभागितामा गुरुङ समुदायको विशेष पर्व तमु ल्होसार मनाइएको छ। पूजाआजासहित विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम, झाँकी पदर्शन, र्‍याली लगायतका कार्यक्रम गरी ल्होसार मनाइएको हो।

तमु ल्होसारका अवसरमा (तमु ह्युला छोँज धिँ) गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा यहाँ रहेका किराँत–लिम्बू समुदायका मानिस आफ्नो भेषभुषासहित सहभागी थिए भने उक्त समुदायको सांस्कृतिक नृत्य च्याब्रुङ, धान नाच समेत प्रदर्शन भएको थियो। यस्तै अन्य जातजाति र समुदायको समेत गुरुङ भेषभूषामा उल्लेख्य सहभागिता थियो।

बजारवासीले आफ्नो घर अघि पानीसहितको घडा राखेर बजारलाई झकिझकाउ बनाएका थिए। यहाँ हुने विशेष प्रकारका मेला महोत्सव तथा कार्यक्रममा बजारवासीले सरसफाइसहित घडा राखेर बजारलाई झकिझकाउ बनाउने गर्छन्।

पछिल्लो समयमा ताप्लेजुङमा जातजाति तथा समुदाय विशेष चाडपर्वका अवसरमा हुने कार्यक्रममा यहाँका एकअर्का जातजाति तथा समुदायको उल्लेख्य सहभागिता देखिने गरेको छ। ल्होसारका अवसरमा गत पुस १२ गतेदेखि नै बुद्धिचाल, भलिबल, ब्‍याडमिण्टन, दौड लगायतका प्रतियोगिता भएका थिए।

आज १२ किलोमिटर दौड प्रतियोगिता, र्‍या सहित बजार परिक्रमा लगायतका कार्यक्रमपछि तोक्मेस्थित भीमकाली गुल्मको खेलमैदानमा विभिन्न झाँकी प्रदर्शनीसहित सांस्कृतिक कार्यक्रमका ल्होसार विशेष कार्यक्रमको समापन भए। कार्यक्रममा गुरुङ समुदायको उत्थान र विकासमा सहयोग पुर्‍याउने व्यत्तित्व लगायतलाई सम्मान र खेलकुदका विजेता साथै उपविजेतालाई पुरस्कार वितरण गरिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.