पटिहानीमा सरप्राइज, सौराहामा सडक फुड फेस्टिबल

|

चितवन : नेपाल भ्रमण वर्षको अवसरमा पर्यटकलाई चितवनमा भव्य स्वागत गरिएको छ। भरतपुर महानगरपालिकाले भरतपुर विमानस्थलमार्फत चितवन भित्रिने आन्तरिक तथा वाह्य पर्यटकहरूलाई बुधबार बाजागाजासहित फूलमाला लगाएर स्वागत गरेको हो।

महानगर प्रमुख रेनु दाहालले पर्यटकलाई फूलमाला लगाएर स्वागत गरिन। स्वागतसँगै नगर प्रमुख दाहालले चितवनको पर्यटकीय स्थलको भ्रमण गर्न आग्रह गरिन। मगर बाजा बजाउँदै विमानस्थल पुगेको टोलीमा नगर प्रमुख दाहालसहित प्रदेश सांसद विजय सुवेदी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगी व्यवसायीलगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो।

मालाले गला सजिएपछि विमानस्थलमा ओर्लिएका आन्तरिक तथा बाह्य पर्यटक भने हर्सित देखिएका थिए। उनीहरूले नेपाल भ्रमण वर्ष २०२० सफलताको शुभकामना दिएका थिए। साथै पर्यटकलाई विमानस्थलमा नै केही समय मगर बाजामा नचाइएको थियो।

भ्रमण वर्षलाई स्वागत गर्न भरतपुर विमानस्थलको बाहिरी क्षेत्रमा भ्रमण वर्ष लेखिएको झण्डा फहराइएको छ। भरतपुर महानगरपालिकाले यसअघि बिहान नारायणगढ बाजागाजासहितको र्‍याली निकालेको थियो।

पटिहानीमा सरप्राइज स्वागत

यस्तै, सरकारले तय गरेको सय पर्यटकीय गन्तव्यमा पर्न सफल भरतपुर-२२, पटिहानीमा पनि पर्यटकलाई भव्य स्वागत गरिएको छ । भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महत्तोले पटिहानी पुग्ने पर्यटकलाई सरप्राइज प्याकेजसहित स्वागत गरिएको बताए।

उनका अनुसार पहिलो पर्यटकलाई निःशुल्क खाने, बस्नेको व्यवस्था गरिएको छ। यस्तै, पटिहानी क्षेत्रका होटल व्यवसायीले पर्यटकलाई खान तथा बस्नका लागि २० प्रतिशतसम्म छुट दिने निर्णयसमेत गरिएको जनाएका छन्।

सौराहामा सडक फुड फेस्टिबल

यस्तै, पर्यटकिय क्षेत्र सौराहामा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको छ। अग्रेजी नयाँ वर्षको पहिलो दिन बुधबार सौराहामा सडक फुड फेस्टिबल हुँदैछ। रेष्टुरेण्ट एण्ड बार एसोसिएसन रेवान सौराहाको आयोजनामा बुधबार साँझ सडक फुड फेस्टिबल आयोजना गरेको हो।

सौराहा पुग्ने पर्यटकलाई सडकमै खाना खुवाउने, रमाइलो गराउने उद्देश्यका साथ फेस्टिबल आयोजना गरिएको रेवनका अध्यक्ष दिपेन्द्र खतिवडाले बताए। साथै यहाँ पौष १० गतेदेखि हात्ती महोत्सव चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.