|

पर्वत : नेपाल भ्रमण बर्ष २०२० सुरु भएकै बेला बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भइरहेको एसियाकै लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ। 

पर्वतको कुस्मा नगरपालिका–१ पाङको अदुवावारिबाट बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने गरी कालीगण्डकी नदीको खोँचमाथि १ सय २२ मिटर अग्लो र ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल तयार पार्न लागिएको हो। चैत महिनासम्ममा झोलुङ्गे पुल निर्माण सकिइसक्ने पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिए। अहिलेसम्म पुलको ८० प्रतिशत काम सम्पन्‍न भइसकेको छ।

लम्बाईका हिसाबले यो झोलुङ्गे पुल एसियाकै सबैभन्दा लामो भएको दाबी गरिएको छ। पुल बनाउन २८ वटा लट्ठाहरु प्रयोग गरिएको छ। अब केही लट्ठामात्रै तान्‍न बाँकी रहेको र जाली तथा प्लेटहरु कस्‍ने काम शुरु हुने सुवेदीले बताए। ‘२०७७ सालको असार महिनाभित्र काम सक्ने गरी यो पुल निर्माण ठेक्का सम्झौता भएको हो,’ सुवेदी भन्छन्, ‘हामीले भ्रमण वर्ष मनाइरहँदा यो पुल निर्माण गरी सञ्चालनमा ल्याउन सके यो क्षेत्रमा पर्यटक भित्र्याउन बल पुग्‍नेछ।’ संसारभरबाट नेपाल भ्रमणमा आउनेले एसियाको लामो पुल हेर्न चाहने र यही पुलका कारण पर्वत र बागलुङमा पर्यटक संख्या ह्वात्तै बढ्ने सुवेदीले दाबी गरे।

यो झोलुङ्गे पुलको नजिकै प्रसिद्ध बागलुङ कालिका मन्दिर, पार्वती जन्मिएको भनी विश्वास गरिएको पाङ, पार्वती गुफा, सहस्रधारा, कालीगण्डकी नदीको बहाव लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरू रहेका छन्। पुलकै छेउबाट धौलागिरी हिमालको सुन्दर दृश्य अवलोकन गर्ने सकिने र सो दृश्य हेर्न पनि पर्यटक आकर्षित हुने स्थानीयले अपेक्षा राखेका छन्। 

पुल निर्माणपछि पर्वतको कुस्मा नगरपालिकाको पाङ्ग र बाग्लुङ्गको सदरमुकाम बाग्लुङ्गबजारबीच आवतजावतमा समेत सहज हुनेछ। बागलुङ बजारबाट पाङ्ग पुग्‍न पैदलमार्ग मार्फत डेढ घण्टा लाग्ने गरेकोमा पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिने छ। पर्यटकीय र कृषिको उर्वरभुमि मानिएको पाङ्गलगायत अन्य वडाहरूको विकासमा पनि यो झोलुङ्गे पुलले टेवा पुर्‍याउने छ। 

पुल निर्माणका लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। २०७७ सालको असार महिनाभित्रमा पुलको काम सक्ने गरी ठेक्का सम्झौता भएपनि निर्धारित समयभन्दा अगावै अर्थात चैतभित्रमा निर्माण सकिने निर्माण कम्पनीले जनाएको छ।

कालिगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालिगण्डकी कोरिडोर माथि बन्ने पुल पर्यटकीय दृष्ट्रिकोणले पनि महत्वपूर्ण मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.