|

इलाम :  इलाममा सबैभन्दा बढी पर्यटक छिमेकी मुलुक भारतबाट आउँछन्। दैनिक जसो पशुपतीनगर नाका हुँदै १ हजारको संख्या पर्यटकहरु नेपाल भित्र्ने गरेका छन्। तर उनीहरुलाई टिकाउनु मुख्य चुनौती देखिएको छ। नेपाली नम्बर प्लेटका भन्दा पनि बढी भारतिय नम्बर प्लेटका गाडी पशुपतीनगर बजारमा बढी भेटिन्छन्। 

यातायात व्यवसायी समेत रहेका पशुपतीनगरका स्थानीय मिलन क्षेत्री औषत १ हजार आएपनि लामो समय टिकाउन समस्या रहेको बताउँछन्। ‘दार्जिलिङ भ्रमणमा आउने पर्यटकहरुको एउटा पोइन्ट नेपाल–भारत सिमाना र पशुपतीनगर बजार हो। तर उनीहरुले एक घण्टा भन्दा बढी यहाँ बिताउन पाउँदैनन्।’ नेपालबाट पहल गरेर कम्तिमा एक दिन नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउन सके भ्रमण बर्षमा ५ लाख बढी पर्यटक पशुपतीनगर हुँदै फिक्कल र कन्यामसम्म घुम्न सक्ने क्षेत्री बताउँछन्। नेपालको तर्फबाट प्याकेज बनाएर नै पर्यटकहरुलाई आर्कषित गर्नुपर्ने उनको तर्क छ।

‘प्याकेज बनाएर पर्यटकहरु ल्याउन सक्नुपर्छ। बंगालीहरु चिसो र हुस्सु मनपराउने भएकाले उनीहरुको लागी इलामको मौसम एकदम उपयुक्त छ। ’ उनी भन्छन् ‘हुस्सु लागेको बेला पशुपतीनगरका जताजतै फोटो खिच्दै गरेको भेटिन्छ।’ 

पहिलो दिन भारतीय पर्यटकको चाप

भ्रमण वर्षको पहिलो दिन तुलनात्मक रुपमा पशुपतीनगर बजार र कन्याम क्षेत्रमा भारतीय पर्यटकको चाप बढी थियो। व्यवस्थित पार्किङस्थल नहुँदा सडकका दायाँ बायाँ भारतिय नम्बर प्लेटका गाडीहरु राखिएका थिए। बिहानैदेखि पशुपतीनगर भन्सारमा गाडीको भन्सार काट्नेहरुको लर्को थियो। कर्मचारीहरु समेत विहान ८ बजेबाट भ्याई नभ्याई रसिद काटेर दिँदै थिए। कोही भन्सार काट्नेहरुलाई लाइनमा मिलाउनमै व्यस्त भेटिए।

प्रदेश नम्बर एकको एक मात्र पर्यटकिय नगरी सूर्योदयको कन्याम र नेपाल– भारत सीमा बजार पशुपतीनगरमा भ्रमण वर्षको पहिलो दिन ५ हजार बढी पर्यटकले भ्रमण गरे। कन्यामको हरियो चिया बगानलाई चिरेर गएको मेची राजमार्गको दायाँ बायाँ वनभोज र घोडचढीका साथै जातिय पहिरनमा रमाउन भारतीय पर्यटक पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गरेका हुन्। पशुपतीनगर बजारमा भेटिएकी मुम्वईकी ममता घोष साच्चै नेपाल सुन्दर रहेको बताउँछिन् । ‘नेपालको चिया बगान राम्रो छ। यहाँको चिसो मौसमले मलाई आर्कषित गर्‍यो।’ भ्रमणको लागि सिक्किम हिडेकी उनी नेपालमा स्वर्गिय आनन्द रहेको बताउँछिन्।

उदाउँदो सूर्योदयको दृश्य हेर्न अन्तु पर्यटकीय क्षेत्रमा पनि प्रायः भारतीय पर्यटककै भीड रहेको थियो। भारतमा नयाँ वर्ष पर्वकै रुपमा मानिने भएकाले पर्यटकहरु  ‘ह्याप्पी न्यू इयर २०२०’ को व्यानर टासेरै आफ्नै सवारी  लिएर भ्रमणमा आएका हुन्। नेपाल– भारत सीमाको क्षेत्र गुफापातलमा भ्रमण वर्षको स्वागतका लागि आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी धेरै जसो भारतीय नै थिए। 

पाथीभरामा पदयात्रा

भ्रमण वर्षको पहिलो दिन पूर्वी पहाडी इलाम पाँचथर र ताप्लेजुङ्गको प्रवेशद्धार रोङ गाउँपालिकाको हासपोखरीबाट धार्मिकस्थल सानो पाथीभरासम्म पदयात्रा गरिएको छ। 

जिल्ला स्तरीय पर्यटन प्रवर्धन समितिको आयोजनामा भएको उद्घाटन कार्यक्रम जोरकलशमा गरी हासपोखरी देखि पाथीभरा सम्म पदयात्रा गरिएको हो। उक्त पदयात्रामा आन्तरिक एवं बाह्रय पर्यटकहरुको उल्लेख्य सहभागीता रहेको थियो। 

प्रदेश सांसद धिरेन्द्र शर्मा, काजीमान कागते, जिल्ला समन्वय समिति इलामका  प्रमुख गणेश बराल र इलामका स्थानीय तहका प्रमुख एवम उपप्रमुखहरुले पर्यटकहरुलाई जोरकलशमा स्वागत गरेका थिए। कार्यक्रममा प्रदेश सांसद धिरेन्द्र शर्माले समग्र इलामको पर्यटकीय विकासका लागि प्रदेश सभामा पहल गरिने बताए। जिल्ला समन्वय समिति इलामका  प्रमुख गणेश बरालले वर्षै भरी पर्यटक भित्राउने गरीका कार्यक्रम स्थानीय सरकारले ल्याउनुपर्नेमा जोड दिए।  

उद्घाटनका अवसरमा लोपोन्मुख लाप्चासहित दर्जनौ जातजातीले झाकी प्रदर्शन गरेका थिए।  सरकारले घोषणा गरेको १ सय गन्तव्य मध्ये सन्दकपुर क्षेत्र र कन्याम–फिक्कल–अन्तु सर्किट इलाम क्षेत्रमा रहेकाले भ्रमण बर्षमा एक लाख भन्दा बढी पर्यटक भित्राउने योजना रहेको छ। जोरकलशमा रहेको पर्यटन सुचना केन्द्रको तथ्यांकमा बर्षेनी इलाममा १ लाख भन्दा बढी पर्यटकहरु भित्रिएपनि बाह्रय पर्यटकको संख्या अत्यन्त न्यून देखिन्छ। 

गत आर्थिक वर्षको तथ्यांकमा इलाममा जम्मा ५ सय ५० विदेशी पर्यटकले भ्रमण गरेको देखिन्छ। जसमा भारतिय पर्यटकहरु समावेश भएका छैनन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.