रोकिएन भारतमा गोर्खा सैनिक मारिने श्रृंखला

|

काठमाडाैं  : गत पुसको पहिलो साता मात्रै उनी कश्मीर फर्किएका गोरखा नगरपालिका–५ ठुलोरिपका अर्जुन थापा। एकमहिने बिदामा पल्टन फर्केका अर्जुन कहिल्यै नफर्कने गरी लडाइँको मैदानमा ढले। बुधबार मात्रै पनि उनले फेसबुकमा परिवारका सदस्यसँग कुराकानी गरेका थिए।

एक्कासि पछि कुरा गर्छु भनेर अफलाइन भएका अर्जुन साँझसम्म पनि अनलाइनमा नआएपछि परिवारका सदस्यहरू आत्तिए। अर्जुनको फोन पनि नलाग्ने र अनलाइन पनि नआएपछि परिवारका सदस्यले उनका साथीलाई सम्पर्क गरे। 

जतिबेला परिवारका सदस्यले अर्जुनका साथीलाई सम्पर्क गरे त्यतिबेला अर्जुन जम्मु–कश्मीरको रजौरी जिल्लाको सीमाक्षेत्र नौशेरामा भएको झडपमा ज्यान गुमाइसकेका थिए। काश्‍मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा उनको मृत्यु भएको हो। 

भारतीय सेनाले उनका परिवारलाई पनि बुधबार नै फोन गरेर काँकडभिट्टासम्म शव लिन आउन भनिसकेको छ। परिवारका सदस्यहरू काँकडभिट्टा जान हिँडिसकेका छन्। ‘भाउजूहरूसँग ६, ७ महिनापछि घर आउने कुरा गरेकाे रहेछ। साँझपख त आर्मी अफिसबाटै अर्जुनको नराम्रो खबर छ भनेर फोन आयो,’ अर्जुनका आफन्त सुजित थापाले भने, ‘ल अब जे हुनु भइहाल्यो शव लिन काँकडभिट्टा आउनुहोला भन्ने खबर आयो।’ 

अर्जुन परिवारका एक्ला छोरा छन्। उनले २ वर्षअघि आमा गु्माएका थिए। २५ वर्षका अर्जुन भर्ती भएको चार वर्ष मात्रै भएको छ। अर्जुन भारतीय सेनाका राइफल म्यान थिए।  अर्जुन ६ महिनाअघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए। उनको परिवारमा बुबा, श्रीमतीसहित एक दिदी र एक बहिनी छन्। अर्जुनको मृत्युको खबर सुनेपछि  अहिले रिपगाउँ शोकमा डुबेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.