|
फाइल फाेटो

काठमाडौं : माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा उम्‍मेदवार चयन गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू सहभागी भएका छैनन्। ‘केन्द्रीय समितिको बैठक चलिरहेको छ,’ कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले भने, ‘राष्ट्रियसभा सदस्यको निर्वाचनमा कसरी प्रस्तुत हुने विषयमा छलफल चलिरहेको छ।’ 

पार्टी कार्यालयमा भएको बैठकमा सभापति शेरबहादुर देउवा पक्षका नेताहरू मात्रै सहभागी रहेका छन्। सानेपामा सभापति देउवाले आह्वान गरेको बैठक बहिष्कार गरेको पौडेल समूह भने पार्टी महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा भेला भएका छन्।

‘पार्टी कार्यालयमा भएको बैठकमा कोही जानुभएको छैन,’ वरिष्ठ नेता रामचन्द्र पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले भने, ‘महामन्त्री चितवनबाट आउँदै हुनुहुन्छ। अरू सबै नेताहरू यहीँ छलफल गर्दै हुनुहुन्छ।’

गत मंसिर २६ गते डाकिएको बैठक सभापति देउवाले महाधिवेशनको कार्यतालिका नल्याएको, विभाग गठनमा एकलौटी गरेको, नेविसंघ, तरुण दलको विवाद समाधानको लागि कुनै पहल नगरेको भन्दै पौडेल समुहले बहिष्कार गरेको थियो । त्यसयता वार्ता टोली नै गठन गरेर छलफल गरेपनि विवाद समाधान हुन सकेको छैन। पौडेल समूहले लगातार बैठक बहिष्कार गरेपछि सभापति देउवाले २८ विभागलाई बढाएर ४१ बनाउने निर्णय बहुमतबाट पारित गराए। त्यसयता कांग्रेसको विवाद झन् चर्किँदैछ।

पौडेल पक्षका नेता नविन्दराज जोशीले निर्णय नसच्याई सभापतिले डाकेको बैठकमा सहभागी नहुने बताए। ‘सभापतिज्यूले केही दिन अघि जसरी पेलेर निर्णयहरू गर्नुभयो त्यो फिर्ता नभएसम्म हामी बैठकमा सहभागी हुँदैनौँ,’ उनले भने, ‘आज राष्ट्रियसभाको निर्वाचनलाई उम्मे‍दवार चयन गर्न बैठक आह्वान गरिएको भनिएको छ। तर, हामी अस्तिको निर्णय नसच्याएसम्म बैठकमा सहभागी हुँदैनौँ। पार्टी त एउटै हो नि।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.