|

काठमाडाैं : नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै नेपाली सेनाको टोलीले काठमाडौंसम्मको पदयात्रा सुरु गरेको छ। गोरखा–धादीङ–नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन पुस २७ गते उक्त टोली काठमाडौं आइपुग्नेछ। पदयात्रामा रणसिंह दल गण गोरखा सेनाहरू सहभागी भएको रणसिंह दल गणका गणपति उज्वल केसीले जानकारी दिए। 

शुक्रबार बिहान गोरखा दरबारस्थित हनुमान भञ्ज्याङमा एक कार्यक्रम गरी सेनाका पश्चिम पृतनापति उपरथी गोकुल भण्डारी, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे र प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले संयुक्तरूपमा टोलीलाई बिदाइ गरे। 

नेपालको राष्ट्रिय झण्डा, टर्च, नेपाली सेनाको पाँच प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको झण्डासहित सेनाको टोली पदयात्रामा निस्केको हो। 

३० जना नेपाली सेना, १० जना पृथ्वीनारायण शाहाकालिन पोसाकका सेना, ६ जना झण्डा बोकेर, एक जना टर्च लाईट, ब्याण्ड र नौमती बाजा सहित सह–सेनानी इन्द्रबहादुर खत्रीको नेतृत्वको टोलीले पदयात्रामा निस्केको हो।  

गोरखाको अश्राङ–बोर्लाङ–बोर्लाङघाट हुँदै उक्त टोलीले धादीङको सेनालाई उक्त झण्डा, टर्च हस्तन्तरण गरेर फर्कनेछ । धादीङको टोलीले नुवाकोटको टोलीलाई हस्तान्तरण गर्नेछ भने नुवाकोटको टोली पुस २७ गते काठमाण्डौँमा हुने पृथ्वी जयन्तीको कार्यक्रममा आइपुग्नेछ। 

नेपाली सेनाका पृतनापति भण्डारीले पदमार्गमा अहिले यात्रा गर्ने र यसको संरक्षण र प्रवद्र्धनको लागि सेनाले प्रयास गर्ने बताए । कोट, गढी र किल्लाहरुको संरक्षण गर्दै प्रधानसेनापतीको योजना अनुसार ऐतिहासिक सम्पदा र मार्गहरुको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको उनले विदाई कार्यक्रममा बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.