|

पर्वत : पर्वत हिमाली जिल्ला त होइन तर पनि अत्यधिक चिसो बढेको बेलामा जिल्लाका डाँडाकाँडा ढाकिने गरेर हिउँ पर्ने गरेको छ। बिहीबार अपराह्नदेखि भइरहेको वर्षाका कारण अत्यधिक चिसो बढेपछि यस वर्ष पहिलो पटक हिमपात भएको छ। हिउँका कारण जिल्लाका विभिन्न ठाउँमा रहेका डाँडाहरू सेताम्मे भएका छन्।

जिल्लाका लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरूमा बाक्लो हिउँ परेको छ। 

युवा र कृषकलाई रमाइलो

सामान्य अवस्थामा हिमपात नहुने पर्वत जिल्लामा बढी चिसो भएपछि मात्र हिमपात हुन्छ। यही अवस्थाको फाइदा उठाउँदै हिउँमा खेल्ने युवाको लर्को नै लाग्ने गरेको छ। शुक्रबार मध्यान्नबाट विभिन्न ठाउँमा हिमपात भइरहेपछि युवाहरूका टोलीहरू सवारी नै रिजर्भ गरेर हिमपात भएका डाँडाकाँडातर्फ लागेको छन्।

जलजला गाउँपालिकाको बनौँमा बाक्लो हिउँ परेपछि सदरमुकाम कुस्मादेखि गाडी नै लिएर हिउँ खेल्नका लागि युवा पुगेको बनौँको बनौँ माध्यमिक विद्यालयका शिक्षक ज्योतिन्द्र पौडेलले जानकारी दिए। ‘यहाँ त जताततै हिउँ नै हिउँ छ। मोबाइलमा फोटो खिच्न पनि कठिन भयो।’ फोनमा कुरा गर्दै उनले भने, ‘हिउँ पर्न थालेपछि स्थानीय नागरिक नै हिउँमा खेल्न थाले। अहिले त बजार र अन्य ठाउँबाट आएका युवा पनि हिउँमा खेलिरहेका छन्।’

२०६३ फागुन २ गते देशैभरि अत्यधिक मात्रामा हिउँ परेदेखि हिउँमा खेल्नुको मज्जा लिनेहरू धेरै छन्। हिउँ के होरु भनेर थाहा नै नपाएकाहरूले पनि हिउँमा खेल्नुको मज्जा लिन थालेपछि पर्वतमा हिजोआज हिमपात हुँदासाथ हिउँमा खेल्नेहरूको ओइरो लाग्न थालेको छ। युवालाई हिउँले रमाइलो गराएकै बेला कृषकहरू पनि वर्षाका कारण खुसी भएका छन्।

प्रायः हिउँदको समयमा सिचाईँको लागि पानीको समस्या हुने गरेका विभिन्न ठाउँका कृषकहरूले लगाएका हिउँदे बालीमा राम्रोसँग सिँचाई भएको छ। यो समयमा लगाइएका आलु, तोरी, गहुँ, जौ, तरकारी लगायतलाई सिचाईँको अभाव भएकै बेलामा वर्षा हुँदा सिचाईँको समस्या टरेको फलेवास नगरपालिकाका कृषक डिल्लु सापकोटाले बताए। ‘आलुमा पानी लगाउनुपर्ने बेला भएको थियो। कुलोमा आएको थोरै पानीलाई पाइप सारेर दुःखका साथ भिजाउनुपर्ने अवस्था थियो। पानी आयो आनन्दै भयो।’

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जिल्लाका धेरै ठाउँका कृषकले हिउँदमा सिँचाई गर्न नसक्ने अवस्थामा रहेको बेलामा भएको वर्षाले खाद्यान्न उत्पादनमा सहयोग पुर्‍याउने बताए।

यद्यपि कतिपय ठाउँमा असिना पनि परेका कारण खेती बालीमा सामान्य क्षति भएको आफूले पाएको जानकारी दिए।

बच्चा र वृद्धलाई डर

अत्यधिक चिसो बढेपछि साना बाबुनानी तथा पाका उमेरका ज्येष्ठ नागरिकलाई भने कठिन भएको छ। चिसोका कारण बच्चामा निमोनिया हुने तथा उमेर पुगेकाहरूको रक्तसञ्चार प्रणालीमा देखिने समस्याका कारण ज्यान समेत जाने गरेको छ।

बच्चाहरू आफैँले न्यानोमा बस्नुपर्छ भन्ने ख्याल नगर्ने भएका कारण र तथा उमेर धेरै भएकाहरूको शरीरले चिसो सहन गर्न नसक्दा स्वास्थ्यमा समस्या देखा पर्ने चिकित्सकहरू बताउँछन्। सडकका पेटीहरूमा नै दाउरा बालेर आगो ताप्नेहरू पनि उत्तिकै देखिएका छन्।

वर्षाकै कारण सदरमुकाम कुस्माबाट जिल्लाका विभिन्न ग्रामीण ठाउँहरूमा आउजाउ गर्ने सवारी साधनहरू सञ्चालनमा ल्याउन पनि कठिन भएको यातायात व्यवसायीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.