मनाङ : हिमाली जिल्ला मनाङमा १५ घण्टादेखि निरन्तर हिमपात भइरहेको छ। हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानी अभाव छ। पहिलो पटकको हिउँ पग्लन नपाउँदै पुन: हिमपात हुनाले कर्मचारी सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो।
बुधबार बेलुकीदेखि सुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजे देखि पुन: हिमपात सुरु भएको र बेलुकी हिमपातले जनजीवन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।
उनका अनुसार सडक अवरुद्ध भएको छ भने खानेपानी समेत अभाव भएको छ। 'सडकभर दुई/तिन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन' उनले भने। अत्यधिक चिसो छ हुनुका साथै यहाँको तापक्रम माइनस १२ पुगेको उनले बताए। 'हिटर र दाउरा बालेर बस्न बध्य भएका छौँ' प्रमुख जिल्ला अधिकारी पौडेलले सुनाए।
अहिले मनाङको सबै भागमा हिमपात भएको छ जिल्लाकै सबैभन्दा तल्लो भाग नासों गाउँपालिकासमेत प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए। हिमपातले खेतीपाती राम्रो हुने भए पनि पशुचौपाया र मनावजीवनलाई कष्टकर बनाएको उनको भनाइ छ। जिल्लाको तल्लो भाग ताचैगाउँ, नाँचैगाउँ ओडारगाउँ र धारापानीमा समेत बाक्लो हिमपात परेको छ।
नासो दुईका वडा अध्यक्ष भीमबहादुर गुरुङका अनुसार अहिले हिमपात रोकिएको छ, बादल खेलिरहेको छ, पुन: पर्ने सम्भावन अझै रहेको छ। गाउँघरमा केटाकेटी र बुढाबुढीलाई चिसोले सकस बनाएको छ। घरबाट बाहिर निस्कनसमेत कठिन भएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।