|

पर्वत : समुद्री सतहबाट २३ सय मिटरको उचाइ, उकालो बाटो, चिसोका कारण धाराको पानी नै जम्ने अवस्था, बजारमा पाइने खाद्य पदार्थको अभाव। यो अवस्था रहँदा पनि बागलुङको बागलुङ नगरपालिका १० मा रहेको भुकण्डे गाउँमा रहेको होमस्टेहरूमा पाहुनाहरू खचाखच भरिएका छन्।

धानखेती नहुने भकुण्डे कोदो र मुला उत्पादनको लागि प्रख्यात छ। मुला, कोदो, गुन्द्रुक, भट्ट लगायतका स्थानीय उत्पादनबाट बनाइने फरक फरक स्वादका फरकफरक परिकार खाएर आनन्द लिन पाउँदा होमस्टेमा बस्ने जानेहरूको भिड बढ्दै गएको हो। २०७३ सालबाट भकुन्डेको लामिडाँडामा रहेका केही घरहरूबाट अतिथि सत्कार होमस्टे भनेर सुरु गरिएकोमा अहिले भने धेरै घरहरूमा होमस्टे सेवा सञ्चालन गरिएको छ।

एकजना होमस्टे सञ्चालक अप्सरा थापाले हरेक दिनजसो पाहुनाहरू आउने गरेको बताउँदै गाउँमा उत्पादन हुने हरेक खाद्यान्नले बजार पाएको बताइन्। ‘मुला फल्ने ठाउँ हो यो, मुला खान र लैजान पहिले पहिले पैसा तिर्न पर्दैनथ्यो, अहिले हामीहरूले पनि मुला, भट्ट, मकै जस्ता खानेकुराहरू किन्ने गरेका छौँ।’ उनले भनिन, ‘गाउँमा जे फल्छ त्यो बेच्न पाउँदा किसानलाई पनि राम्रै भएको छ, होमस्टे चलाउनेहरूलाई पनि फाइदा भएको छ।’

बजारमा उपलब्ध हुने स्वादभन्दा लेकको चिसो पानीमा फलेका खाद्यान्नहरूको स्वाद मिठो हुने भएका कारण होमस्टे सञ्चालन गरेका घरहरूमा सधैँ जसो पाहुनाहरू भरिभराउ भइरहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापा बताउँछन्।

‘हाम्रा होमस्टेहरूमा बजारका कुरा पाक्दैनन्। यहाँ धान नफल्ने भएका कारण चामल भने हामीले पनि खरिद गर्ने हो अरू सबै कुराहरू गाउँकै पाक्छ।’ उनले भने, ‘अहिले त हरेक दिन हामीहरू आउँदै छौँ, यस्तो उस्तो पकाईराख्नुहोला भन्दै फोन आउँछन्।’

मूलाबाट बनाइएको अचार, सुकुटी, चटनी, गुन्द्रुक, कोदोबाट बनाइने रोटी, ढिँडो, मकैका परिकार, लोकल कुखुराको मासुका परिकार लगायतका खानेकुराहरूले भकुन्डेका होमस्टेहरूमा पाहुनाहरूको भिड लाग्ने गरेको छ। त्यो बाहेक गाउँको माथि रहेको भ्यु टावरबाट हेर्न पाइने पर्वत र बागलुङ जिल्लाका डाँडाकाँडाका साथै माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण, निलगिरी, मनास्लु लगायतका हिमशृङखलामा सबेरै पर्ने घामले पर्यटकहरूलाई भकुन्डेमा नै सधैँका लागि बसौँ की जस्तै बनाउँछ।

होमस्टे सञ्चालन गर्दै आएका युवा मनोज थापाले बागलुङसहित पर्वत र म्याग्दीका विभिन्न ठाउँमा रहेका सङ्घ संस्थाहरूबाट टोली बनाउँदै होमस्टेमा बस्न जानेहरू धेरै रहेकाले हरेक दिन जसो भ्याई नभ्याई हुने बताउँछन्।

केही समय पहिले वैदेशिक रोजगारीमा जान इच्छुक मनोज अब भने विदेश जानुभन्दा होमस्टेलाई अझै व्यवस्थित बनाएर सञ्चालन गर्ने योजनामा छन्। ‘एक दिनमा कम्तीमा पनि ४/५ जना र बढीमा २०/२२ जना सम्मको टोलीहरू अहिलेसम्म आउनुभएको छ, उहाँहरूलाई खुसी पार्न सकेमा आर्थिक उपार्जनको बाटो पनि रामै हुन्छ।’ उनले भने, ‘झिँजो मान्नु हुँदैन, काम त जहाँ पनि गर्नुपर्छ। बजारका होटेलले ग्राहक पाउँदैनन् गाउँका होमस्टे भरिभराउ छन्। हामी स्वरोजगार भएका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.