हिउँ खेल्ने पर्यटकको घुँइचो, किसानलाई बाली सप्रने आस

|

बैतडी : वर्षा र हिमपातले बैतडीका ग्रामीण कच्ची सडकहरू अवरुद्ध भएका छन्। बिहीबार बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपात भएको थियो।

जिल्लाका विभिन्न स्थानका ग्रामीण कच्ची सडकहरू अवरुद्ध हुँदा स्थानीय नागरिकलाई समस्या भएको छ। हिउँदे वर्षाका कारण जिल्लाको देहीमाण्डौं दुर्गास्थान, देहीमाण्डौं–गिरेगडा, देहीमाण्डौं–दुर्गाभवानी, गुरुखोला–कलौन, दुदिलाखान–गाँजरी,मोतीनगर–शंकरपुर लगायतका सडकहरू वर्षाले अवरुद्ध भएका हुन्।

कतिपय सडकमा हिमपात र कतिपय सडकमा वर्षाले समस्या भएको चालकहरूले बताएका छन्। हिमपात र वर्षाले सडक हिलाम्य भएपछि सवारीसाधन सञ्चालनमा कठिनाइ आएको चालकहरूले बताएका छन्।

वर्षा र हिमपातले सडक हिलाम्य भएपछि कच्ची सडकमा जिप चलाउन मुस्कील भएको चालक जनकराज अवस्थीले बताए। उनले भने, 'हिलाम्य सडकका कारण कच्ची बाटोमा जिप चलाउन मुस्कील भएको छ।'

छैन सञ्चार र विद्युत्

हिमपातले बैतडीमा गए रातिदेखि नै विद्युत सेवा अवरुद्ध बनेको छ। हिमपातले किसानहरू भने खुसी भएका छन्। हिउँदे वर्षासँगै हिमपातले बालीनाली सप्रने भएकाले किसानहरू खुसी भएका हुन्।

हिमपातले बैतडीमा बिहीबारदेखि नै विद्युत् सेवा अवरुद्ध बनेको छ। विद्युत अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन्। यस्तै, नेपाल टेलिकमको जीएसएम र स्काइ मोबाइल सेवा र इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ। विद्युत्, इन्टरनेट तथा फोन सेवाअवरुद्ध हुँदा निकै समस्या भएको रेडियो निंग्लाशैनीका स्टेसन म्यानेजर भगीरथ अवस्थीले बताए। उनले भने, 'फोनमा नेटकर्क छैन,कतै सम्पर्क गर्न सकिएको छैन, विद्युत नहुँदा वैकल्पिक व्यवस्था गरि रेडियो प्रसारण गरिराखेका छौं।'

किसानलाइ राहत

हिमपातले किसानहरू भने खुसी भएका छन्। हिउँदे वर्षासँगै हिमपातले बालीनाली सप्रने भएकाले किसानहरू खुसी भएका हुन्। वर्षा र हिमपातले हिउँदेबाली सप्रने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने, 'हिउँले रोगकिरा मर्ने भएकोले उब्जनी पनि बढ्छ।'

हिउँ खेल्ने पर्यटकको घुँइचो

बैतडीमा हिमपात भएपछि सतबाँझमा हिउँ खेल्ने आन्तरिक पर्यटकको घुँइचो लागेको छ। सतबाँझमा रहेको हेलिप्याड क्षेत्रमा रमणीय स्थान रहेकोले हिउँखेल्न आएको दोगदाकेदारका स्थानीय उकेन्द्र भट्टको भनाइ छ।

जिल्लाका विभिन्न स्थानबाट सतबाँझ हिउँ खेल्न आउनेको घुइँचो लागेको मुस्याचोरका व्यापारी मानबहादुर टेरले जानकारी दिए। सतबाँझ क्षेत्रमा सदरमुकाम तथा अन्य क्षेत्रका नागरिकहरू हिउँ खेल्नका लागि आउने गरेको स्थानीय पूर्णानन्द भट्टले बताए। सतबाँझ क्षेत्रमा हिउँ खेल्नको लागी दैनिक २०० जना आन्तरिक पर्यटक आउने गरेका छन्।

जनजीवन प्रभावित

हिमपातले चिसो बढेपछी जनजीवन प्रभावित भएको छ। चिसोका कारण बाहिर निस्कन मुस्कील भएको स्थानीयहरूले बताएका छन्। हिमपातले वस्तुभाउको स्याहारमा समेत समस्या भएको चौखामका स्थानीय लक्ष्मी शाह चन्दले जानकारी दिए।

हिमपातका कारण बाहिर निस्कन समेत मुस्कील भएको खोड्पेका स्थानीय हरिश विष्टको भनाइ छ। चिसोमा बढीजसो बालबालिका र वृद्धवृद्धाहरू प्रभावित हुने गरेका छन्। यसका साथै दैनिक ज्याला मजदुरी गरेर खाने वर्गसमेत समस्या भएको छ। 

चिसोवाट जोगिन न्यानो लुगा लगाउने, अनावश्यक बाहिर हिँडडुल नगर्ने, तातो झोलिलो पदार्थको सेवनमा जोड दिन स्वास्थ्यकर्मीको सुझाव छ।

लेकाली भेगका ठाँउहरूमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी औषधि आपूर्तिका लागि स्थानीय तहलाई यसअघि नै निर्देशन दिई सकेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

यसका साथै विभिन्न सञ्चारका माध्यमवाट पनि सचेतनामूलक सन्देश पनि प्रसारण तथा प्रकासन गरिएको पनि जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.