|

उदयपुर : उदयपुर जिल्ला आफैँमा प्राकृतिक भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण भएको ठाउँ हो। भित्री मधेसअन्‍तर्गत पर्ने जिल्लामा उच्च गर्मी हुने तराईको भाग महाभारत पर्वत शृङ्खला तथा बाह्रै महिना चिसो हुने अग्ला–अग्ला पहाड डाँडाहरू भएका विविध ठाउँ छन्।

जिल्लाका ८ वटै स्थानीय तहहरूमा पर्यटकलाई आकर्षित गर्ने फरकफरक किसिमका गन्तव्‍य छन्। जिल्लाका सबै स्थानीय सरकारहरु भ्रमण वर्ष २०२० सफल पार्न आफ्नो ठाउँमा पर्यटकहरु बढीभन्दा बढी ल्याउन लागिपरेका छन्।

पर्यटकको मनै लोभ्याउने ठाउँ

नेपाल सरकारले घुम्न लायक १०० औं पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरेको उदयपुरगढी दरबार  तत्कालीन उदयसेन राजाले राज गरेको यो उदयपुरगढीमा अहिले पनि पुरातात्विक महत्व बोकेका पुराना सम्पदा रहेका छन्। जसको नामबाटै उदयपुर जिल्ला तथा उदयपुरगढी गाउँपालिका नाम राखिएको हो। यो ठाउँ उदयपुर जिल्लाको पुरानो सदरमुकाम पनि हो। जहाँबाट भौगोलिक विकटताका कारण २०२८ सालमा यो ठाउँबाट सदरमुकाम गाईघाटमा सारिएको हो। 

रौतामाई गाउँपालिकाको धार्मिक आस्थाको केन्द्र बोकेको रौतापोखरीको दर्शनका लागि उदयपुर, सिरहा, सप्तरी, सुनसरी, विराटनगर, जनकपुर, सिन्धुली र छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउने गरेको स्थानीय सन्तोष काफ्लेले जानकारी दिए।

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरू को घुइँचो लाग्ने रौतापोखरीबाट ढकमक्‍क फूलहरू फूलेको र चारैतिर हरियाली वनजंगलले देखिने भएकाले घुम्न आउने पर्यटकहरुको मन लोभ्याउँछ। खानका  लागि पर्यटकहरुलाई स्थानीय उत्पादन कोदो, मकै, फापरको ढिँडो, धान, सिस्नु, साग, स्थानीय जातको कुखुरा, दाल, गुन्द्रुकको अचारजस्ता परिकार पाइन्छ।

कटारी नगरपालिकाको बेतिनी भञ्ज्याङ पनि पर्यटकहरु आकर्षक गन्तव्यका रूपमा पर्दै आएको छ। एकैछिनमा घाम लाग्ने केही छिनमै हुस्सु लाग्ने र अग्लो  डाँडा र चारैतिर हरियाली छिनछिनमा हुने मौसम परिवर्तन बेतिनी भञ्ज्याङको मुख्य विशेषताका रूपमा रहेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए।

लिम्चुङ्बुङ गाउँपालिकाबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अग्ला ८ वटा हिमाल, पहाडहरुको दृश्यावलोकन आँखै अगाडिबाट गर्न सकिने एभरेष्ट भ्युटप साथै लिम्चुङ्बुङ झरना  रहेको  लिम्चुङ्बुङ गाउँपालिका उपाध्यक्ष रमिला राईले जानकारी दिइन

यस्तै, बेलका नगरपालिकामा पर्यटकले सुन्दर पर्यटकीय स्थलको अवलोकनसँगै प्याराग्लाइडिङ, सप्तकोशीमा क्याम्पफायर, याफ्टिङको मजा लिन सक्न नगर प्रमुख दुर्गा थापाले बताए।

नगरको अन्य पर्यटकीय क्षेत्रहरुमा कोलोहाङ र वासिराङ झर्ना, वासिराङ दह, भूतिया तह, बालबाटिका बगैंचा, टंकेला गुफा, बेलका हाइट, महांकाल मन्दिर, कोशी टप्पु, सप्तकोशी नदी, ऐतिहासिक मैनाराजा मैनारानी यस्तै बेलकाराजा बेलकारानी, सुनखानी सुगाचरि भीर, सीतारानी भीर, भौडा देवि मन्दिर आदि नगरपालिकाको पर्यटकीयस्थल रहेको बेलका नगरपालिकाका, पर्यटन विकास समितिका अध्यक्ष रमन भट्टराइले जानकारी दिए।

चौदण्डीगढी उदयपुर जिल्लाको मात्र नभई नेपालकै प्रमुख ऐतिहासिक तथा पुरातात्विक स्थल मानिन्छ। उत्तरमा दूधकोशी नदी र दक्षिणमा चुरे पहाड रहेको गढी तत्कालीन सेन वंशीय राज्यको राजधानी हो।

विक्रम संवत १७९० देखि जगत सेन, बिक्रम सेन, हरि सेन लगायतका चार पुस्ताले चौदण्डीगढी दरवारमा राज्य चलाएको नेपालको इतिहासमा उल्लेख छ। सदरमुकाम गाईघाटबाट २७ किलोमिटर पूर्वी पहाडी क्षेत्रमा पर्ने चौदण्डीगढीमा पुरातात्विक महत्व बोकेका  देवी देवताकामूर्ति, ढुंगाका सामग्री छन्।

समग्र नगरपालिकाको नामकरणसँग जोडिएको यो स्थान नेपालकै एक महत्वपूर्ण ऐतिहासिक र पर्यटकीयस्थल बन्ने प्रचुर सम्भावना रहेको स्थान छ। भ्रमण वर्ष २०२० को अवसर पारेर यहाँ आउने पर्यटकलाई कुनै असुविधा नहोस् भनेर नगरपालिकाले आवश्यक पूर्वाधार तयार गरी पर्यटकलाई निम्ता गरेको नगरप्रमुख खगेन्द्र राईले जानकारी दिए।

साथै ऐतिहासिक महत्व बोकेको जिल्लाका ताप्लीपोखरी, उदयपुरकै सबैभन्दा अग्लो भालेबासडाँडा, अँधेरी झरना, लगायतका पर्यटकीयस्थलहरू छन्। सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्न उदयपुरको पर्यटकीय गन्तव्यले पनि महत्वपूर्ण भूमिका खेल्ने सरोकारवाला बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.