प्रदेश २ मा भर छैन, अरु सबैमा नेकपा : शान्ता

|
फाइल फाेटाे

काठमाडौं : आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनपछि १८ जना सदस्य बिदा हुँदैछन्। नयाँ राष्ट्रियसभाका सदस्यहरुको उम्मेदवारी मनोनयन आइतवार भएको छ। निर्वाचन माघ ९ गते गर्ने गरी निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ।

५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ। राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ।

‘ऐन अनुसार नै कार्यतालिका ल्याएर रिक्त पदको लागि निर्वाचन हुँदैछ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यलय स्थापना भइसकेको छ। आज दलबाट उम्मेदवार चयन हुनुभएकोले मनोनयन गर्नुहुनेछ।’ 

प्रदेश २ मा भर छैन, अरु सबै नेकपाको : शान्ता चौधरी

सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीले प्रदेश २ बाहेक अरु ६ वटै प्रदेशमा नेकपाले जित्ने दाबी गरेकी छन्। ‘प्रदेश २ मा तालमेलले कत्तिको काम गर्छ, त्यो हेर्न बाँकी छ,’ उनले थाहाखबरसँग भनिन्, ‘अरु ठाउँमा त बहुमत नेकपाकै छ, सबै नेकपाकै सदस्यहरु विजयी हुनुहुनेछ भन्‍नेमा हामी ढुक्क छौँ।’ 

५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये नेपाली कांग्रेसका १३ जना सदस्य छन्। यो निर्वाचनमा नेपाली कांग्रेसले हालै सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग र नेकपाले राजपासँग तालमेल गरिसकेका छन्। यही कारण पनि १८ मध्ये प्रदेश १६ सदस्यहरु नेकपाकै आउने पक्कापक्की छ।

प्रदेश २ मा भने नेकपा र कांग्रेस दुवै ढुक्क हुने स्थिति छैन। यसपटकको निर्वाचनपछि नेपाली कांग्रेसले आफ्ना सातजना राष्ट्रियसभा सदस्य गुमाउँदैछ। अहिले १३ सांसद कांग्रेसका छन्। माघ ९ गतेपछि राष्ट्रियसभामा कांग्रेसका ६ मात्रै सांसद रहनेछन्। 

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाई, बद्री पाण्डे, बिन्दादेवी आले, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा र दुर्गाप्रसाद उपाध्याय बिदा हुँदैछन्। उनीहरुले आफ्नो २ वर्षे कार्यकाल पूरा गर्दैछन्।  

राष्ट्रियसभा सदस्यको २ वर्षे, ४ वर्षे र ६ वर्षे कार्यकाल हुन्छ। यसअघि गोलाप्रथाबाट आफ्नो कार्यकाल छनोट गरे पनि यसपटक बहुमतीय प्रणालीबाट सदस्यहरु चुनिनेछन्। अब निर्वाचित हुनेको कार्यकाल ६ वर्षको हुने। 

‘यसपाली पहिले जस्तो हुँदैन। बहुमतीय प्रक्रियाको निर्वाचन हुने हो,’ सचेतक चौधरीले भनिन्, ‘बमहुतीय प्रक्रियामा नेकपा धेरै बलियो छ।’ माघ ९ मा हुने निर्वाचन पछि नेकपा राष्ट्रियसभामा झन बलियो बन्‍ने पक्का छ। 

कांग्रेसका मतदाता नै कम 

यो निर्वाचनमा स्थानीय सरकारका प्रमुख, उपप्रमुख, प्रदेशसभा सदस्यहरु मतदाता रहनेछन्। देशभर ७५३ वटा स्थानीय तह छन्। माघ ९ गते स्थानीय तहका १५०६ जना प्रतिनिधि र ५५० जना प्रदेश सभा सदस्यले मतदाताका रुपमा भोट हाल्नेछन्। 

अहिले पनि प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेकपाकै सरकार छ। प्रदेश २ मा भने समाजवादी पार्टीको सरकार छ। प्रदेश सरकारमा कमजोर रहेको कांग्रेस स्थानीय तहमा पनि संख्यात्मक हिसाबले कमजोर छ। यही कारण पनि राष्ट्रियसभामा कांग्रेसको उपस्थिति विस्तारै शून्य हुँदैछ।

माघ ९ मा १८ सदस्यको लागि निर्वाचन हुने भए पनि एकजना भने राष्ट्रपतिबाट मनोनित गरिने प्रावधान छ। अहिले अर्थमन्त्री रहेका डा.युवराज खतिवडा सरकारको सिफारिमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभा सदस्य भएपछि मात्रै अर्थमन्त्री भएका हुन्।  

यी हुन यसपाली बिदा हुने 

फागुनमा कार्यकाल सकेर बिदा हुनेमा नेकपाका ९, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना छन्। सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बास्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदैछ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.