|

डडेल्धुराः कुनै पनि व्यापार–व्यवसाय गर्न उमेरले छेक्दैन। यसको गतिलो उदाहरण हुन् डडेल्धुराकी ६४ वर्षीया केउरा धामी।

जिल्लाको भित्री मधेस जोगबुडाकी धामीले डेरी सञ्‍चालन गरी राम्रो आम्दानी गरिरहेकी छन्। परशुराम नगरपालिका १२ गाइबाँधेकी धामीले विगत चार वर्षदेखि डेरी संचालन गर्दै आएकी छन्।

गाइबाँधेका गाउँबाट उनले दैनिक अढाइ सय लिटर बढी दूध संकलन गर्छिन्। पशुपालन किसानबाट संकलित दूध चिलिम भ्याट (चिस्यान) मेशिनमा राखी प्रत्येक चार/चार दिनमा दुग्ध विकास संस्थान अत्तरिया पठाउने गरेको धामीले बताइन्। दुग्ध विकास संस्थानको दूध बोक्ने आफ्नै गाडी यहा पुगी दूध लैजाने गरेको छ। 

डेरी संचालनमा बुहारीको साथ

६४ वर्षीया केउरा धामीलाई डेरीमा उनकी बुहारीले सघाउने गरेकी छन्। यसभन्दा पहिले कैलालीकै धनगढीमा रहेको खप्तड डेरीले दूध लैजाने गरेको थियो। अहिले सरकारी संस्थान दुग्ध विकास संस्थानले दूध लैजान थालेपछि सजिलो भएको उनले बताइन्।

मासिक कमाइ २० हजार

गर्मीयाममा दूधबाट बनेको आइक्रीम पनि बेच्ने गरेकी धामीले महिनामा सबै खर्च कटाएर खुद २० हजार रुपैयाँजति आम्दानी हुने गरेको सुनाइन्। 

पाँच वर्ष पहिले जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले भित्री मधेसका किसानलाई इलाम भ्रमणमा लग्यो। त्यहाँ महिलाले पालन गरेको जर्सी गाई र डेरी संचालन गरेको देखेपछि आफूले पनि गाइपालन गरी डेरी संचालन गरेको उनले बताइन्। 

‘इलामको पशुपति नगर भ्रमणमा गयौं। डेरी देखेँ, डेरीमा महिलाले दूध ल्याइ संकलन गरेको देखेँ। त्यस दिनदेखि मलाई पनि डेरी चलाउने उत्साह जाग्यो। पशु सेवा कार्यालयका कर्माचारीले अझै उत्साह थपिदिए। त्यति बेला भरतपुरका जगत बन्धु नेपाली नामका हाकिम थिए। उनले 'लौ दिदी तपाइँलाई क्षमता छ भने जोगबुडामा जर्सी गाई पालन गर्ने कार्यक्रम गरौं' भने। मैले एकछिन कसरी गर्ने भन्ने सोचेँ', उनले भनिन्, 'पछि सक्छु सर कार्यक्रम दिएपछि भने। उनले पछि लौ त त्यसो भए पहिले समुदयामा पाँचवटा गाइ ल्याउनु पर्‍यो भने। गाउँतिरका किसान पनि आए। उति बेला हाम्रो समूह ठिकै चलेको थियो। बैठक राखेँ। सबैले लौ गरौं भने। पाँच वटा गाई ल्याउन म चितवन पनि गएँ, गाई ल्याएँ, जर्सी गाइले दूध पनि दिन थाल्यो।’

‘पछि त दूध बिक्री गर्न समस्या भयो। यहाँको मान्छेले जर्सी गाईको दूध खानु हुन्न भने। यो त खच्चर हो, गधा हो भन्ने। अब के गर्ने? बजारतिर नखप्‍ने भयो। त्यसपछि पशु सेवाका हाकिमलाई नै भनेँ। गाइको दूध त प्रशस्त भयो। हामीले बिक्री गर्न नसकिने भयो। सरले डेरीको सुरुवात गरौं भन्नुभयो’ उनले थपिन्, 'गाउँमा बैठक बोलाएँ, डेरी संचालन गर्न खर्च पनि जुटाएँ। गाउँका कसैले पनि गर्न चाहेनन्। त्यति बेला पशुसेवाले नै चिस्यान मेसिनमा दुई लाख २५ हजार रुपैयाँ सहयोग गर्‍यो। ढुवानी आफैंले गरे। एउटा चिस्यान मेशिन ल्याएँ। अहिले मर्सिकोरले १ लाख २५ हजार र मैले आफूले १ लाख २५ हजार रुपैयाँ हालेर अर्काे चिस्यान मेशिन राखेको छु।' उनले हाल पनि दुई वटा जर्सी गाई पालेकी छन्।

पाँचदेखि सात सय लिटर दूध दुग्ध विकास संस्थानमा पठाउँदै अहिले उनले दूध संकलनसँगै दही र ग्राहक पाए घ्यू समेत खरिद गरी बिक्री गर्ने गरेकी छन्। उनले गर्मी याममा दुग्ध विकास संस्थानले दूधबाट बनाउने आइसक्रिम पनि बिक्री गर्ने गरेको बताइन्। यसै वर्षको असोज १ गतेदेखि दुग्ध विकास संस्थानलाई दूध दिने गरेको उनले बताइन्। 

‘चार दिनमा पाँच सयदेखि सात सय लिटर दूध दुग्ध विकास संस्थानमा पठाउने गरेको छु’ उनले भनिन्, ‘अहिले ठिकै भएको छ। गाइ बाँधेका किसानले जर्सी गाइ पालन गरेको देखेर अहिले परशुराम नगरपालिका १ जौखेत, मलेनी, गरेडेलगायत गाउँका स्थानीयले पनि पालन गर्न सुरु गरेका छन्।’

सुुरू सुरूमा निकै समस्या भएको उनले सुनाइन्। ‘मेशिन बारे जानकारी पनि नहुने, कसरी चलाउने भन्ने भनि जानकारी पनि थिएन,’ उनले भनिन्, ‘दूधका परिकार  बनाउन नआँउदा समस्या थियो। अहिले सबै सहज भएको छ।’ 

जोगबुडा क्षेत्रमा मर्सिकोरको आर्थिक विकासमार्फत विपद् जोखिम न्यूनीकरण एमरेड परियोजनाले हाल निकै सघाइरहेको उनले बताइन्। रंगुन खोला किनार तथा बगर बनाएको बस्तीमा घाँस रोप्ने, घाँसको बीउ दिने भएकाले सहज भएको उनको भनाइ छ। एमरेडलेनै दुग्ध विकास संस्थानसँग सहकार्य गरी दूध लैजान थालेको उनले सुनाइन्। 

एकीकृत विकास समाज आइडिएस डडेल्धुराद्वारा संचालित आर्थिक विकासमार्फत विपद् जोखिम न्यूनीकरण एमरेड परियोजनाले जोगबुडाको परशुराम र आलितालका कटान, बाढी पहिरो प्रभावित क्षेत्रमा बाँध लगाउनेदेखि घाँस, डालेघाँसको बिउ वितरणसँगै दूध बिक्री वितरणमा समन्वय गर्दै आएको परियोजना संयोजक गणेशबहादुर थापा मगरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.