नेकपाको जित सुनिश्चित

|

डडेल्धुराः आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा आइतबार ४ जनाको उम्मेदवारी परेको छ।

यस प्रदेशबाट राष्ट्रिय सभाका दुई जना सदस्यका लागि हुने निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट दुई र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट २ जना गरी चार जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जस अनुसार नेकपाबाट कैलालीका शारदा भट्ट र अछामका तारामान स्वाँरले उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट कैलालीका तुलसी देवकोटा र बैतडीका प्रताप ठगुन्नाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय डोटीका निमित्त जिल्ला निर्वाचन अधिकारी दलबहादुर मलासीले जानकारी दिए।

महिला कोटामा नेकपाबाट भट्ट र कांग्रेसबाट देवकोटाले उम्मेदवारी दर्ता गराएकी हुन्। भट्टले सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीको प्रस्ताव र डोटी दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको समर्थनसहित उम्मेदवारी दर्ता गरेकी हुन्।

कैलाली निवासी भट्ट नेकपा केन्द्रीय सल्लाहकार समिति प्रस्तावित सदस्य हुन्। नेतृ भट्ट साविकको एमालेकी नेतृ हुन्। कांग्रेस उम्मेदवार देवकोटाले डोटी शिखर नगरपालिका प्रमुख सिताराम जोशीको प्रस्ताव र केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन्।

देवकोटा नेपाली कांग्रेस कैलाली जिल्ला सल्लाहकार समिति सदस्य हुन्। अन्य कोटाका लागि नेकपाबाट स्वाँर र कांग्रेसबाट ठगुन्नाले उम्मेदवारी दर्ता गराएका छन्। स्वाँर प्रदेशसभा सदस्य नन्दबहादुर साउँदको प्रस्ताव र डोटी बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।

स्वाँर साविकको माओवादी केन्द्रका नेता हुन्। अछाम जिल्ला निवासी उनी हाल नेकपाका केन्द्रीय सदस्य एवं अछाम जिल्ला इन्चार्ज हुन्।

कांग्रेस उम्मेदवार ठगुन्नाले  के आइसिंह गाउँपालिका उपाध्यक्ष मीनादेवी विष्टको प्रस्ताव र शिखर नगरपालिकाका उपप्रमुख धौलीदेवी रावलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। ठगुन्ना नेपाली कांग्रेस महासमितिका पूर्वसदस्य हुन्। उम्मेदवारहरूको मनोनयन दर्ताका लागि सिलगढीस्थित पार्टी कार्यालयबाट निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालत डोटीसम्म नेकपा बाजागाजासहित पुगेको थियो।

दुई वटा मतदान केन्द्र

सुदूरपश्चिमबाट महिला एक र अन्य एक गरी दुई सदस्यका लागि हुने निर्वाचनको मतदानस्थल सिलगढीको पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयलाई तोकिसकिएको छ। जहाँ दुईवटा मतदान केन्द्र हुनेछन्।

संविधान शुरु भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चारवर्ष र बाँकी एक तिहाइको ६ वर्षको हुने गरी पदावधि कायम हुने संवैधानिक व्यवस्था छ। जस अनुसार गोला प्रथाबाट नेकपाबाट महिला कोटामा निर्वाचित कमलाकुमारी ओलीको र नेपाली कांग्रेसबाट अन्य कोटामा निर्वाचित बद्रीप्रसाद पाण्डेको दुई वर्ष कार्यकाल भाग परेको थियो।

दुवै सदस्यको पदावधि आउँदो फागुन २० गते सकिन लागेकाले सोही पदमा नयाँ सदस्य चयन गर्न अहिले निर्वाचन हुन लागेको हो। संविधानको धारा ८६ (२) र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ४ (१) अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख-उपप्रमुख र गाउँपालिका अध्यक्ष-उपाध्यक्षले मतदान गर्न पाउँदछन्। 

कति छन् मतदाता?

जसअनुसार सुदूरपश्चिममा प्रदेशसभा सदस्य ५३ र यस प्रदेशका ८८ वटा स्थानीय तहका १७६ प्रमुख तथा उपप्रमुखहरू गरी २२९ जनाले मतदान गर्न पाउनेछन्। प्रदेश सभाका ५३ सदस्यहरूमध्ये नेकपाका ३९, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी (राजपा) का दुई जना छन्। त्यसैगरी ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये साविकको नेकपा एमालेका ३९ प्रमुख र ४४ उपप्रमुखसहित ८३ र साविकको माओवादीका ११ प्रमुख र ९ उपप्रमुख गरी २० समेत गरी अहिलेको नेकपासँग १०३ मत छ।

नेपाली कांग्रेससँग ३७ प्रमुख र ३४ उपप्रमुख  गरी जम्मा ७१ मत छ। समाजवादी पार्टी (साविकको मधेसी जनअधिकार फोरम) का प्रमुख एक र उपप्रमुख एक गरी दुई जना छन्। 

नेकपाको जित सुनिश्चित

बहुमतीय प्रणालीबाट हुने यस निर्वाचनमा मतदाताको अंक गणीत हेर्दा नेकपाको जीत सुनिश्चित देखिन्छ।

निर्वाचन तालिका अनुसार पुस २१ गते उम्मेदवारीविरुद्ध दावी विरोध, २२ गते उजुरीमाथि छानविन, २३ गते उम्मेदवारको नामावली प्रकाशन, २४ गते उम्मेदवारी फिर्ता, २५ गते अन्तिम नामावली प्रकाशन एवं उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान र माघ ९ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.