|

मुगु : नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तब्य सूचीमा मुगुको राराताल पनि परेको छ। 

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा यतिबेला हिमपातले सेताम्मे छ। रारा वरिपरिका रूखविरुवाले हिउँको सिरक ओढेका छन्‌।

'स्वर्गको टुक्रा' रारामा हिउँदे हिमपातले जति सुन्दरता बढाएको छ, चिसो पनि अत्यधिक बढेको छ। जनजीवन साविकको भन्दा कष्टकर बनेको छ।

हिमपातका कारण आवतजावतमा असजिलो हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ। तर पर्यटकहरु भने चिसोको प्रवाह नगरि रारामा हिउँ खेल्न पुगेका छन्। रारा वरवर दुई फिटसम्म हिउँ जमेको छ। पर्यटकलाई बाक्लो हिउँले झन्‌ उत्साहित बनाएको रारा घुम्न आएका पर्यटक विवेक तामाङ्गले बताए।  

मुर्माटपसम्म पुगेर सेताम्मे रारादेखि वरपरको बस्ती दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त रहेको पर्यटकको भनाइ छ। राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटकसम्म रूप बदल्ने गर्दछ। यही रूपमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन्‌, यति बेला रारा हिउँले सेताम्य र मनमोहक देखिएको धादिङ्गबाट रारा घुम्न आएकी सिर्जना थपलियाले बताइन्‌। 

समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको राराताल ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइसम्म फैलिएको छ। रारामा विश्वमा दुर्लभ असला र रेन्बो ट्राउट माछा, भ्यागुतोलगायत जलचरसहित तीन सय प्रजातिका चरा पाइन्छन्। कस्तुरी, रातोहाब्रे (रेडपाण्डा), मृग, घोरल, भालु र रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.