|

डडडेल्धुराः डडेल्धुरा सदरमुकाममा रहेको डडडेल्धुरा अस्पतालमा स्वास्थ्य मन्त्रालयले १४ जना चिकित्सकहरू पठाएको भनि झुक्याएको छ। मन्त्रालयले पठाएका भनिएका १४ जना चिकित्सकमध्ये सातजना अध्ययन बिदामा बसेर डडेल्धुरा अस्पताललाई झुक्याएका हुन्।

मन्त्रालयले पठाएका ११ जना स्थायी र ३ जना करार गरि १४ जना चिकित्सकमध्ये ३ जना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन्। बाँकी ११ जना भने अहिलेसम्म पनि अस्पतालम पुगेका छैनन्। 

पुगुन पनि कसरी ? मन्त्रालयले पठाएका ७ जना चिकित्सक यसअघिदेखि नै अध्ययन बिदामा छन् भने एकजना संघीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएका छन्, अर्का एकजना अहिले सुत्केरी स्याहार बिदामा रहेका छन्। यसैगरि करारमा पठाएका २ जना अझै सम्पर्कमा नआएका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिशचन्द्र बिष्टले जानकारी दिए।

गत कात्तिक पहिलो साता अस्पतालका लागि दरबन्दीअनुसारका चिकित्सक पठाइदिन यहाँका जनप्रतिनिधिसहितको सर्वपक्षीय टोलीले मन्त्रीसँग हारगुहार गरेका थिए। तत्कालिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई भेट्न काठमाडौं पुगेर अस्पतालमा चिकित्सक नहुँदा नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित रहेको गुनासो गरेका थिए। सोही गुनासो सम्बोधन गर्दै मन्त्रालयले १४ चिकित्सक पठायो। तर, अस्पतालमा अहिले तीनजना मात्रै पुगेका छन्। बाँकी ११ जना भने हालसम्म पनि अस्पतालमा हाजिर भएका छैनन्।

चिकित्सक अभाव कायमै
अस्पतालमा चिकित्सक अभाव कायमै रहेको छ। विशिष्ट विशेषज्ञ अस्पतालका रूपमा संघीय सरकार मातहत रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव कायमै रहेको हो।

विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक नपाएको अस्पतालले स्थापनादेखि हालसम्म अस्पतालको ११औँ तहको मेडिकल सुपरिटेण्डेन्ट समेत पाएको छैन भने तत्कालिन जिल्ला अस्पताल व्यवस्थापन समिति भंग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समिती समेत गठन हुन सकेको छैन। 

अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर, अहिले अस्पतालमा छात्रवृती करारबाट एक जना र अस्पताल विकास समितिबाट दुईजना गरी करारमा ३ जना विशेषज्ञ चिकित्सक छन्। त्यस्तै १९ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा ९ जना चिकित्सक रहेपनि ५ जना अध्ययन बिदामा रहेका छन् भने ४ जना मात्र अस्पतालमा कार्यरत छन्। 

अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सात पहाडी जिल्लाको स्वास्थ्य सेवा नै प्रभावित बनेको छ। कर्मचारी समायोजनपछि डडेल्धुरा अस्पतालमा रहेका चिकित्सकहरु सरुवा भइ गएपछि अभाव भएकोे अस्पतालका निमित्त प्रमुख डा.जगदीशचन्द्र विष्टले बताए।

डडेल्धुरा अस्पताललमा ११औँ तहको मेडिकल सुपरिटेण्डेन्टको दरवन्दी रहेको छ, तर अस्पतालले अहिले सम्म ११औँ तहको मेडिकल सुपरिटेण्डेन्ट पाएको छैन्। अस्पताल निमित्त प्रमुखको भरमा चलिरहेको छ। स्थापनादेखि डडेल्धुरा अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारीमा छ। 

के भन्छन् नयाँ मेसु डा. बिष्ट?
डडेल्धुरा अस्पतालका नयाँ निमीत्त मेडिकल सुपरिटेण्डेन्ट डा.जगदीशचन्द्र बिष्टले पत्रकारहरुसंग परिचयात्मक कार्यक्रमको आयोजना गरि अस्पतालको बारेमा जानकारी गराएका छन्। 

उनले अस्पतालमा चिकीत्सक अभाव नै प्रमुख समस्याको रुपमा रहेको बताए। उनले भने, ‘यो अस्पतालको प्रमुख समस्या भनेको दरबन्दीअनुसार चिकित्सक नहुनु नै हो।’ संघीय सरकार मातहत रहेको अस्पतालमा स्वास्थ्य मन्त्रालयले नै दरवन्दी अनुसार चिकित्सक पठाउनुपर्नेमा डा. बिष्टले आग्रह गरे।

अस्पतालको आन्तरीक व्यवस्थापनका लागि आफूले प्रयत्न गर्ने बताउँदै डा. बिष्टले बाह्य वातावरणका लागि यहाँका सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताए। 

डडेल्धुरा अस्पतालमा चिकित्सकहरुलाई काम गर्न कुनै समस्या नरहेको समेत डा.बिष्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। यहाँका राजनितिक दल, स्थानीय प्रशासन र नागरिक समाज अस्पतालको विकासका लागि योजनावद्ध रुपमा अगाडि बढेकाले अस्पताल प्रशासनले समेत हातेमालो गर्दै अगाडी बढ्ने उनले बताए। 

परिचात्मक कार्यक्रममा अस्पताल विकासका साथै चिकित्सकहरुको पदपूर्ति, कर्मचारी व्यवस्थापन तथा औषधि खरिद र आन्तरिक व्यवस्थापनका विभिन्न विषयमा विशेष छलफल समेत गरिहेको थियो। 

अहिले अस्पतालमा सिजरियन सर्जरी सेवा, यूएसजी सेवा, इन्डोस्कोपी सेवा तथा एसयनसियू सेवा संचालनमा आएको छ। अस्पतालमा अहिले नेपाल सरकार तर्फबाट १ सय ८ जनाको दरबन्दी स्वीकृत भएपनि दरवन्दी अनुरुप कर्मचारी भने छैनन्।

दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा डडेल्धुरा अस्पतालले प्रदान गर्ने सेवा दिन सकेको छैन। उपक्षेत्रीय अस्पतालबाट स्तरोन्नति भइ संघीय सरकार मातहत राखी विषेश विषेशज्ञ सेवासहितको डडेल्धुरा अस्पताल बनाइएपछि दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा उपचार सेवा दिन नसकेको हो। उपक्षेत्रीय अस्पतामा हुनुपर्ने दरबन्दीअनुसारका स्वास्थ्यकर्मी समेत नहुँदा उपचार सेवा प्रदान गर्न मुख्य चुनौती भएको उनले बताए। 

कर्मचारी समोजनपछि झनै लथालिङ्ग बनेको डडेल्धुुरा अस्पतालमा उनी अहिले निमित्त मेसुका रूपमा बैतडी जिल्ला अस्पतालबाट समायोजन भइ डडेल्धुरा अस्पतालमा आएका हुन्। उनि स्त्रीरोग विषेशज्ञ  हुन्। अस्पतालमा अहिले रकेका उपकरणले उपचार भइरहेको उनले बताए। उनी अस्पतालमा आएपछि शल्यक्रिया मार्फत सुत्केरीलगायत स्त्री रोगको उपचार सेवा सुचारु गरिएको छ।

‘अस्पतालमा अहिले दन्त सेवा पनि सञ्चालनमा छ। छात्रबृत्ति तर्फ दुईजना दन्त रोगका चिकित्सक आएकाले दन्त सेवा सुचारु भएको छ।’ उनले भने। अस्पतालमा अहिले भएका जनशक्तिले उपचार सेवा प्रदान गरिरहेको निमित्त मेसुको भनाइ छ। विकास समिति समेत नुहुँदा अस्पतालका सेवा सञ्चालन गर्न समस्या रहेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.