|

पर्वत : मङ्सिर महिना लागेयता कास्कीको अन्नपूर्ण गाउँपालिका-३ लुम्ले काँडेको कुमार डाँडामा मान्छेहरूको भरिभराउ छ। चारैतिर वन क्षेत्र, उच्च पहाडी भागमा बिहानदेखि साँझसम्म पर्ने घाम, सबै ठाउँमा घाँसे मैदान, स्पटसम्मै ठूला सवारीसाधनसमेत जान मिल्ने सुविधा लगायतका कारण कुमार डाँडामा हरेक दिनजसो वनभोज खाएर रमाइलो गर्नेहरूको भिड लाग्ने गरेको छ।

कुमार डाँडा कास्की जिल्लाका पिकनिक पारखीहरूको लागि मात्रै होइन गण्डकी प्रदेशका धेरै जिल्लाका लागि रोजाइमा परेको ठाउँ बनेको छ। स्पटको नजिकै व्यापार गर्दै आएका कुमार गुरुङका अनुसार कुमार डाँडामा कास्कीसहित पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा जिल्लाका पिकनिक समूहरु बढी मात्रामा आउने गरेका छन्।

‘यहाँ बिहान सबेरै नआउने हो भने आफ्नो समूहका लागि ठाउँ पाउनै मुस्किल हुन्छ। धेरै जिल्लाका मान्छे गाडीहरू लिएर आउँछन्।’ गुरुङ भन्छन्, ‘एक दिनमा ३० वटासम्म समूहले पिकनिक खाएको रेकर्ड मसँग छ।’

पकाइदिने र भाँडा माझिदिने सुविधा

उनका अनुसार शनिबार र सार्वजनिक बिदा रहेको दिनमा दैनिक २५ देखि ३० वटा समूहसम्म पिकनिकका लागि आउने गरेका छन् भने त्यस बाहेकका दिनमा दैनिक कम्तीमा पनि १२ भन्दा बढी समूहहरू आउने गरेका छन्।

पछिल्लो समय विभिन्न जिल्लाका संस्था, विद्यालय वा समूहले गर्ने वनभोज कार्यक्रमको लागि रोजाइको गन्तव्य यही ठाउँ बनेको छ। पिकनिक स्पटमा पकाइदिने र भाँडा माझ्‍नेसमेत तयार भएका कारण पनि वनभोजका लागि आउनेहरूलाई सजिलो भएको वनभोजका लागि गएका पर्वतका प्रकाश रिजाल बताउँछन्।

‘यहाँ सबै सुविधाहरू छ भन्ने थाहा पाएर नै विद्यार्थीहरू लिएर आएका हौँ।’ उनले भने, ‘तल देखिने फेवाताल र पोखरा सहर, पारी देखिने विश्व शान्ति स्तुपा, माथि देखिने सराङकोटको डाँडा लगायतका प्राकृतिक दृश्यको अवलोकन गर्न पाइनुले पनि यहाँ वनभोज खानुको छुट्टै मज्जा छ।’

पिकनिक स्पटको व्यवस्थापनको लागि स्थानीयवासीले समूह नै निर्माण गरेका छन्। स्पटको सरसफाइ, पानीको व्यवस्थापन लगायतका पूर्वाधारहरूमा लगानी गर्नका लागि वनभोज जाने समूहसँग कर पनि उठाउने गरिएको छ। कुमार डाँडा पिकनिक व्यवस्थापन समिति निर्माण गरेर ठाउँको व्यवस्थापनको लागि विभिन्न कामहरू गरिरहेको समितिमा पनि आबद्ध रहेका गुरुङले बताए।

उनका अनुसार कुनै पनि समूहले आफैँ खानाहरू पकाएमा १६ सय रुपैयाँ, क्याटरीङ लिएर गएमा २ हजार रुपैयाँ, ड्राई फुडहरु खाएर गरिने पिकनिकको लागि ५ सय रुपैयाँ ठाउँको उपयोग गरेबापत तिर्नुपर्ने नियम राखिएको छ। यस्तै भाँडा सफा गर्नेहरूले पनि उपसमिति नै निर्माण गरेर काम गर्दै आएका छन्।

रोजाइमा पर्दै कुमार डाँडा

मङ्सिर, पुस र माघ महिनामा पिकनिक जानेहरूका लागि मात्रै होइन पैदल यात्रा गर्दै ट्रेकिङ रुटमा हिँड्ने आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइमा पनि कुमार डाँडा नै पर्ने गरेको छ।

वडाध्यक्ष चन्द्रबहादुर गुरुङका अनुसार पोखराको सराङकोट हुँदै पर्वत, स्याङ्जा र कास्कीको जिल्लाको सिमानामा पर्ने उच्च पहाडी क्षेत्र पञ्चासेमा ट्रेकिङका लागि आउजाउ गर्ने पर्यटकहरु पनि सोही स्पटमा खाना खान र आराम गर्नका लागि रोकिने गरेका छन्। पर्यटक र धेरै जिल्लाको रोजाइमा परेको कुमार डाँडाले कास्की क्षेत्रमा पर्यटकहरु भित्राउनको लागि पनि महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.