|

पर्वत : परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीस्थित चोरकाटे भन्ज्याङका ४२ वर्षीय विष्णु परियार आम्दानीकै लागि भन्दै २०७१ सालमा मलेसिया पुगे।

सुरक्षा गार्डका रूपमा ४ वर्ष काम गरेपछि उनका दुवै मिर्गौला फेल भएको पत्ता लाग्यो। यही कारण उनी मलेसियाबाट फर्केर उपचारको लागि काठमाडौँ स्थित बुलन्दसिद्धि ट्रमा सेन्टरमा भर्ना भए। एक वर्षदेखि उनले हप्ताको तीनपटक मिर्गौलाको डायलाइसिस गर्दै आएका छन्।

आर्थिक अवस्था कमजोर हुनु र मिर्गौला दान दिने मान्छे नपाएका कारण विष्णु जीवन र मरणको दोसाँधमा परेका छन्। आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि उनको परिवारले सहयोगका लागि अपिल गरेको छ।

पैसाले थेगेन

विष्णुकी श्रीमती लक्ष्मी परियारले आफूसँग भएका सबै गरगहना बेचिसकेकी छन्। श्रीमानलाई बचाउन पाए उनको लागि गहना त के आफूलाई नै मेटाउनु पनि ठूलो कुरा छैन। तर, ज्यान दिन तयार रहँदैमा श्रीमानलाई निको हुँदैन। ‘म के गरूँ? म मरेर मेरो उहाँलाई निको हुने भए मलाई मेरो ज्यानको माया छैन’ उनले भनिन्, ‘अहिलेसम्म १० लाख रुपैयाँ सकियो। नाक कानमा लगाएका गहना पनि बेचेर सकिए, अब के बेचेर उपचार गराउने?’

लक्ष्मीका अनुसार विष्णुलाई काठमाडौंमा भाडाको कोठा खोजेर राखिएको छ। डाइलाइसिस, भ्याक्सिन, कोठा, खाना सबै गर्दा महिनामा कम्तीमा पनि ३० हजार रुपैयाँ चाहिन्छ। अहिलेसम्म यो खर्चलाई जसोतसो व्यवस्थापन गरेको भए पनि अब भने उनको सामर्थ्य सकिएको छ। 

२०७५ असोजबाट उपचाररत विष्णुलाई बचाउन अपिल गर्दै सहयोग संकलन भएको भए पनि त्यो पैसा सबै सकिएको छ। ‘वडा देखि चिनेका इष्टमित्रले सबैले सकेको सहयोग गरिसक्नुभएको छ। तर त्यो सबै पैसा सकिएको छ’ लक्ष्मीले भन्छिन्, ‘अब फेरि उहाँहरूसँग सहयोगको अपिल गर्ने कुरा भएन। पैसा नभई भएको छैन।’

एक वर्षको अवधिमा सहयोग स्वरूप आएको झन्डै १० लाख रुपैयाँ सबै सकिएको उनले बताइन्। अहिले सामान्य घर खर्ची चलाउन र विष्णुलाई पैसाको अभाव भएको बेलामा थपथाप गर्ने सामान्य खर्च जापानमा बस्दै आएका लक्ष्मीका भाइ कृष्ण परियारले पठाउँदै आएका छन्।

श्रीमान् उपचाररत रहेको बेलामा लक्ष्मीलाई पीडा त छँदै छ त्यसमाथि पनि कुस्मामा बस्दै आएका आफू, छोरा र छोरीलाई कसरी लालन पालन गर्ने? भन्ने चिन्ता पनि उत्तिकै छ। सानो खालको ‘टेलरिङ सप’ बाट अलि-अलि आम्दानी भएको पैसा उपचारमा नै खर्चिनु पर्दा छोरा-छोरी पाल्न नै धौ भएको उनको भनाई छ। 

आमाले झुक्काएको आरोप

मिर्गौला पीडित विष्णुलाई उनकै ५५ वर्षीया आमा मनबुजाको मिर्गौला मिलेपछि आमाकै मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको थियो। आमा मिर्गौला दिन तयार पनि भइन् तर जुन बेला प्रत्यारोपणको अन्तिम तयारी हुँदै थियो त्यो बेलामा गाउँ गएर फर्किन्छु भनेर अस्पतालबाट बाहिरिएकी आमा अहिलेसम्म पनि अस्पताल नगएकाले समस्या भएको लक्ष्मीको भनाइ छ।

‘आमा मिर्गौला दिन तयार हुनुभएको थियो। ५० हजार तिरेर उहाँको मिर्गौलाको स्याम्पल भारत पठाएर जाँच भयो। सबै मिल्यो तर मिर्गौला फेर्ने बेला हुनै लाग्दा आमा गाउँमा आउनुभयो। खै के सोच्नुभयो मिर्गौला दिन मान्नुभएन।’

आमाले मिर्गौला दिन्छु भनेपछि त्यसैको तयारीमा झन्डै ४ लाख खर्च भएको तर त्यो सबै खेर गएको लक्ष्मी बताउँछिन्। श्रीमानलाई बचाउनको लागि लक्ष्मी आफ्नै मिर्गौला दान गर्ने सोचमा छन्, तर दुर्भाग्य श्रीमानको शरीरमा आफ्नो मिर्गौला मिल्छ या मिल्दैन? भनी परीक्षण गर्ने पैसा समेत नहुँदा चाहेर पनि आफ्नो मिर्गौला श्रीमानलाई दिन पाएकी छैनन्।

‘मेरो शरीरको रगत र मिर्गौला दिएर उहाँलाई बचाउन चाहन्छु’ उनी भन्छिन्, ‘जाँच नगरी दिन नमिल्ने रहेछ। तर जाँच गराउने पैसा समेत छैन। भगवान् पनि दुःखीमाथि मात्रै किन लाग्ने रहिछन्?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.