|

चितवन : चितवन मेडिकल कलेज (सिएमसी) मा विद्यार्थीले लगाएको ताला मंगलबार खुलेको छ। विद्यार्थीबाट लिएको अवैध अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै कैलासनगरमा रहेको कलेजमा लगाएको अनिश्चितकालीन ताला अभिभावकको उपस्थितिमा विद्यार्थीले खोलेका हुन्।

ताला खोलिए पनि आन्दोलन भने जारी रहेको आन्दोलनरत चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ। माग पूरा गराउन आन्दोलनको स्वरूप मात्रै परिवर्तन गरिएको उनीहरूको भनाइ छ।

विगत लामो समयदेखि जारी आन्दोलनले ठप्प भएको पठनपाठन पुनः सुचारु गराउन र माग पूरा गराउन केहि सहज रूपमा प्रस्तुत हुँदै ताला खोलिएको समितिले जनाएको छ।

सबै ब्याचका विद्यार्थीले शुल्क नतिर्ने

विद्यार्थीले कलेजलाई 'कठोर आर्थिक नाकाबन्दी' लगाउने चेतावनी दिएका छन्। माग पूरा नभएसम्म सबै व्याचका विद्यार्थीले एक रुपैयाँ पनि नदिने निर्णय गरेको विद्यार्थी प्रविन तामाङले बताए।

त्रिविले तोकेको शुल्क कट्टा गरी बाँकी अतिरिक्त शुल्क समायोजन अथवा फिर्ता गर्नुपर्ने उनीहरूको अडान रहेको छ। यसबीचमा कलेजले विद्यार्थीसँग गरेको लिखित सहमति कार्यान्वयन नगरेकाले आर्थिक नाकाबन्दी गर्न बाध्य भएको विद्यार्थी तामाङको भनाइ छ।

सहमतिबाट पछि नहट्ने

२०७२ सालयता आठवटै संकायका चारै व्याचक विद्यार्थीबाट सिएमसीले ५६ करोड रुपैयाँ अतिरिक्त शुल्क अवैध रूपमा उठाएको संघर्ष समितिले जनाएको छ। जसअनुसार २२ करोड समायोजन गर्नुपर्ने र बाँकी रकम फिर्ता गर्नुपर्नेछ।

यसअघि चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा भएको विद्यार्थी, अभिभावक र कलेज प्रसासनबीचको वार्तामा सबै अतिरिक्त शुल्क समायोजन तथा फिर्ता गर्ने सहमति भएकाले यो सहमतिबाट पछि नहट्ने विद्यार्थीको अडान छ।

एमबिबिस, बिडिएस, बिएससी नर्सिङ, बिएनएस, बिपिएच, बिएमएलटी, बिएमआइटी र बि-फार्मेसीका सबै विद्यार्थीका सबै कक्षा र प्रयोगात्मक अभ्यास पाठ्यक्रमअनुसार पूर्णरूपमा सकाउन पठनपाठन सुचारु गर्नुपर्ने समितिले निकालेको विज्ञप्तिमा जनाइएको छ।

यस्तै, विद्यार्थीको यसअघि छुटेको वार्षिक परीक्षा पुनः दिने वातावरण बनाउन विश्वविद्यालयले परीक्षाको तालिका पुनः प्रकाशित गर्नुपर्ने छ। यस्तै पूरक परीक्षाका लागि त्रिविले २५ सय परीक्षा शुल्क तोके पनि कलेजले ५ हजार लिँदै आएकाले त्रिविले कायम गरेकै शुल्क मात्रै तिर्ने विज्ञप्तिमा उल्लेख गरीएको छ। विद्यार्थीको सुरक्षाको पूर्ण ग्यारेण्टी गर्न पनि माग गरिएको छ।

आफूहरूको आन्दोलन नरोकिएको अर्का विद्यार्थी नसिम अख्तरले बताए। ‘अहिलेसम्मको आन्दोलन यहि सकिएको भन्ने होइनस्वरूप मात्रै परिवर्तन गरेका हौँ, जुनसुकै बेला संघर्ष चर्किन सक्छ।’

अभिभावक तथा नागरिक समाजका अगुवा बिपी ओलीले ताला खेलेर विद्यार्थीले कलेज प्रशासनलाई सच्चिने मौका दिएको बताए। आफूहरू नैतिक कार्वाहीका लागि जुनसुकै बेला तयार रहेको उनले चेतावनी दिए। अभिभावक टेकप्रसाद चपागाईंले विद्यार्थी र अभिभावकलाई दु:ख दिएको भन्दै यसको परिणाम राम्रो नहुने बताए।

कलेजमा विद्यार्थीले पहिलोपटक भदौ १८ गते ताला लगाएका थिए। त्यसपछि असोज ४ गते जिल्ला प्रसासन कार्यालयमा विद्यार्थी, अभिभावक र कलेजबीच सिडिओको रोहवरमा सहमति भएको थियो। भोलिपल्ट असोज ५ गते विद्यार्थीले ताला खोलेका थिए। निर्धारित समय कात्तिक १८ गतेभित्र सहमति कार्यान्वयन नभएको भन्दै विद्यार्थीले पनः कात्तिक २४ गते ताला लगाएर आन्दोलन सुरु गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.