नेविसंघ र विभागमा भागवण्डा गर्न देउवा तयार

|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल पूरा भइसकेको छ। यद्यपि देउवाले विधानको प्रयोग गरेर एक वर्ष म्याद थपिसकेका छन्। गत पुस ११ गते सभापति देउवाले २०७७ फागुनमा नयाँ अधिवेशनको मिति तोकेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको सहभागीबिना देउवाले बहुमतका आधारमा विभिन्‍न एजेण्डा प्रस्तुत गरेर पारित गराएका थिए।

त्यसयता कांग्रेसको आन्तरिक विवाद छताछुल्ल भएको छ। पौडेल, सिटौला पक्षले पटकपटक केन्द्रीय समितिको र पदाधिकारीको बैठक बहिष्कार गरिसकेको छ।
अहिले पार्टी सभापति देउवालाई दबाब दिन वरिष्ठ नेता पौडेलको आह्वानमा झण्डै ५० जिल्लाका जिल्ला सभापति पार्टी कार्यालयमा भेला भएका छन्। 

देउवाले बहुमतका आधारमा महाधिवेशनको मिति तय गरेको आरोप लगाउँदै वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, सिटौला, नवीन्द्रराज जोशी, गगन थापा, डा. मिनेन्द्र रिजाल, बद्री पाण्डेलगायत नेता जिल्ला सभापतिसँगको छलफलमा सँगै छन्। 

देउवाविरुद्ध रणनीति बनाउने पौडेल पक्षका जिल्ला सभापति सोमबारबाट पार्टीको केन्द्रीय कार्यालय सानेपमा छन्। एक दिनको लागि डाकिएको भेला जिल्ला सभापतिले बोल्ने क्रम नसकिएपछि मंगलबार पनि चल्यो। मंगलबार पनि नसकिएपछि बुधबार पनि छलफल चल्ने केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए। 

सानेपामा जिल्ला सभापतिको भेला जारी रहेकै बेला पार्टी सहमहान्त्री डा. प्रकाश शरण महत एकाएक पार्टी कार्यालयमा देखिए। देउवा पक्षइतरको मात्रै चहलपहल देखिएको पार्टी केन्द्रीय कार्यालयमा एकाएक सभापति देउवा पक्षका भनेर चिनिने महत देखिएपछि सबैले उनी पनि सभापतिको भेलामा सहभागी हुन आएको शंका गरे। 

सबैले शंका गरेको कुरामा महतले सञ्चारकर्मीहरू माझ प्रष्ट पारिहाले, ‘म सभापतिहरूको भेलामा सहभागी हुन आएको होइन।’ उनले जिल्ला सभापतिहरू यहाँ भेला भएर विग्रह नचाहेको तर्क पनि गर्न भ्याए। लगत्तै उनले पार्टी सभापति देउवा गत पुस ११ गते बसेको केन्द्रीय समितिमा बहुमतले तोकेका महाधिवेशनको मिति फेरबदल गर्न तयार रहेको पनि बताइहाले। ‘सभापति ज्यू कार्यतालिका परिमार्जन गर्न तयार हुनुहुन्छ। पहिले पनि छलफलमा आएर सबै टुंग्याउने उहाँको उद्देश्य थियो,’ उनले भने।

जिल्ला सभापतिहरूले देउवाले एकलौटी गरेको निर्णय नमाने, देउवाले पेलेर निर्णय गरेको आरोप लगाएका छन नी भन्‍ने सञ्चारकर्मीको प्रश्‍नलाई उनले खण्डन गरे। उनले भने, ‘सभापतिलाई त्यस्तो आरोप कसैले लगाएको छैन। उहाँहरू त महाधिवेशनको तालिका आएको भनेर खुसी हुनु भएको छ।’ महतले सभापति देउवा विभागमा ४० र नेविसंघमा ४९ प्रतिशत पौडेल पक्षलाई दिन आफू तयार रहेको पनि संकेत गरे। 

यता, जिल्ला सभापतिहरूले सोमबारदेखि नै पार्टी सभापति देउवा पेलेर गएको, एकलौटी निर्णय गरेको, पुस ११ गते देउवाले बहुमतको आधारमा गरेको निर्णय अबिलम्ब फिर्ता गर्नुपर्ने बताउँदै आएका छन्। उनीहरूले सोमबार भनेको उक्त कुरा मंगलबार पनि दोहोर्‍याएका छन्।  

सोमबार वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला र प्रकाशमान सिंहले सम्बोधन गर्दै छलफल प्रारम्भ गराएका थिए। मंगलबारको परामर्श भेलामा सिटौला, शेखर कोइराला, रामशरण महत, अर्जुन नरसिंह केसीले सभापतिहरूको जिज्ञासा मेटाउँदै आफ्नो धारणा राखेका थिए। जिल्ला सभापतिहरूले पौडेललाई सभापतिले गरेको निर्णयविरुद्ध आफूहरूको साथ रहेको बताउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.