'द हन्ड्रेड'को सकस

|

काठमाडौं : दुई खेलमा तीन गोल। भेट्रान खेलाडी सन्तोष साउखलले जारी सहिद स्मारक ए डिभिजन लिगमा आक्रमक सुरुवात गरे। ३४ वर्षीय साउखलले लिगमा साँच्चिकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सुरुवातका दुई खेलका तीन गोलपछि उनी ९९ औं गोलमा पुगेका छन्।

लिगमा कुनै पनि खेलाडीले गर्न लागेको यो पहिलो ‘द हन्ड्रेड’ हो। तर त्यसपछिका दुई खेलमा सन्तोषले गोल गर्न सकेका छैनन्। उनको क्लब च्यासल पनि निष्प्रभावी रह्यो। 

उपाधि दौडमा रहेको च्यासलका लागिसमेत नमिठो झट्का हो, पछिल्लो दुई खेल। तर सन्तोष र च्यासलका लागि बुधबार एक अर्को मौका छ। सन्तोषले आज नेपाल पुलिसविरुद्ध एक गोल गरे भने सय गोलको कोसेढुंगा पुरा गर्ने छन्। क्लबले जिते उपाधि होडमा आफूलाई निरन्तर राख्ने छ।

फुटबल नै जीवन

सानैमा दाजुको औंला समाएर मैदानमा होमिएका सन्तोष फुटबल जीवन र लिग करिअरमा सर्वाधिक सफल खेलाडी छन्। तिनै सन्तोषले फुटबललाई जीवन बनाए । फुटबल जीवनको उतराद्र्धमा उनी दुर्लभ रेकर्ड नजिक छन्। साउखल नेपाली लिग इतिहासको त्यो मोडमा पुगेर अड्किएका छन्, जहाँसम्म पुग्नु धेरै खेलाडीको सपना हुन्छ।

क्रिकेटको हरेक खेलमा शतक बनाउन खेलाडी जति लालायित हुन्छन्, त्यहाँसम्म पुग्न अनेकन चुनौती पार गर्नुपर्छ। फुटबलको सय गोल एउटा खेलाडीको खेल जीवनको झन्  ठूलो सपना हुन्छ । सन्तोष भन्छन्, ‘सय गोल गर्छु भन्ने सपना देखेर फुटबलमा होमिएको थिइनँ। तर नजिक पुगेपछि आशा लाग्दो रहेछ।’

साउखलले भनेजस्तै फुटबलको शतक धेरै खेलाडीका लागि निकै दुर्लभ हुन्छ । त्यसो त नेपाली लिग एकनासको छैन। कहिले हुने कहिले नहुने उतरचढावपूर्ण नेपाली लिगमा सय गोलको कोसेढुंगा पार गर्नु कुनै खेलाडीका लागि ऐतिहासिक उपलब्धी हो। 

गौरवपूर्ण इतिहास नजिक उभिएका साउखल अहिले त्यही ‘नर्भस ९९ को सिकार’ भइरहेका छन्। अर्थात पछिल्ला दुई खेलमा उनले गोल गर्न सकिरहेका छैनन्।

अघिल्ला लिगमा ९६ गोल गरेका सन्तोषले जारी लिगमा पहिलो खेलमा नै संकटाविरुद्ध दुई गोल गरे। सन्तोषले दोस्रो खेलमा मच्छिन्द्रविरुद्ध एक गोल गरे। 

सन्तोषका ९९ गोल

२०६०-थ्रीस्टार (६ गोल)
२०६१-एपीएफ (६ गोल)
२०६२ थ्रीस्टार (६ गोल)
२०६३ थ्रीस्टार (११ गोल)
२०६६–६७ थ्रीस्टार (१९ गोल)
२०६८-मनाङ (१६ गोल)
२०६९-थ्रीस्टार (१७ गोल)
२०७०-थ्री स्टार (९ गोल)
२०७५-च्यासल (३)
२०७६-च्यासल (३ गोल, लिग जारी)
कुल-९९ गोल 

पहिलो खेल जितेको च्यासल दोस्रो खेलमा मच्छिन्द्रसँग १-१ को बराबरीमा रोकियो। तर तेस्रो र चौथो खेलबाट भने च्यासल र सन्तोषले निराश हुनुपर्‍यो। च्यासल तेस्रो खेलमा एनआरटीसँग २-१ ले पराजित भएको थियो। चौथोमा पनि जावलाखेलसँग २-० ले हार्न पुग्यो च्यासल ।

च्यासलले बुधबार पुलिस क्लबविरुद्ध प्रतिस्पर्धा गर्दा च्यासलका लागि जित अत्यावश्यक छ। एकातिर सन्तोषलाई सय गोलको सकस परेको छ भने लिगको उपाधि होडमा रहिरहन च्यासललाई पनि जित अत्यावश्यक बन्दै गएको छ।

डेब्युमै सनसनी

१७ वर्षअघि व्यवसायिक फुटुबल करिअर सुरु गरेका सन्तोषले थ्री स्टारका लागि डेब्युमै गोल गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका थिए। 

संकटाविरुद्धको खेलमा डेब्यु गर्दा उनले टिमलाई पहिलो अग्रता दिलाए । जुन खेलमा उनले निराश हुनु परेन। खेल थ्री स्टारले ३-२ ले जित्यो । त्यसपछि उनले करिअरमा पछि फर्कनु परेन । लिगमा सर्वाधिक सफल खेलाडी अब निर्विकल्प सन्तोषनै हुन् ।

क्लबमा चलेका साउखलले राष्ट्रिय टिममा भने जादु चलाउन सकेनन् । राष्ट्रिय टिममा नियमित पर्न नसक्नुमा प्रशिक्षकले आफ्नो प्रतिभा प्रशिक्षकले चिन्न नसकेको ठान्छन् सन्तोष। 

‘सबै कुरा आफुले चाहेर हुँदैन रहेछ, मसँग खेल्ने शैली फरक थियो’, उनी सुनाउँछन्, ‘मैले त्यो कुरो सायद प्रशिक्षकलाई बुझाउन सकिन होला की।’ 

उनले सुरुमा प्रशिक्षकले आफुलाई बुझ्न नसकेको मान्थे। तर करिअरको उत्तराद्र्धमा पुगेका उनी अहिले प्रशिक्षकलाई आफूले बुझाउन नसकेको मान्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.