पार्टी केन्द्रीय कार्यालयमा समानान्तर गतिविधि

|

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा गत सोमबारदेखि जिल्ला सभापतिहरुले भरिभराउ छ। पार्टी कार्यालयमा भेला भएका ४७ जिल्लाका सभापतिहरुले केन्द्रीय सभापति शेरबहादुर देउवाको निरन्तर चर्को आलोचना गरिरहेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट सभापति देउवालाई दबाब दिन जिल्ला सभापतिहरु पार्टी कार्यालयमा भेला भएका हुन्।

उनीहरुले सोमबार यता ‘सभापति निरंकुश भए’ पटक पटक दोहोर्‍याएका छन्। उनीहरुले पार्टी सभापतिलाई ‘विधानका धारा निलम्बन गर्ने अधिकार कस्ले दियो?’ भन्दै प्रश्‍न पनि गरेका छन्।  

‘पार्टी विधानको धारा निलम्बन गर्दा नेताहरूको बीचमा सहमति हुन जरुरी छ कि छैन? आम कार्यकर्ताको धारणा बुझ्नपर्छ कि पर्दैन?,’ कांग्रेस धादिङका सभापति रमेश धमलाले भने, ‘यो गुटको भेला होइन, पार्टीलाई जीवन्त राख्‍न छलफल डाकिएको हो। विधान मिच्‍नु हुन्‍न भनेर सभापतिलाई सम्झाउने भेला हो।’

नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले पार्टी सभापति निरंकुश भएको आरोप पनि लगाउन भ्याए। ‘धाराहरू निलम्बन गर्ने भनेको कांग्रेसका तल्लो तहमा रहेका नेता कार्यकर्तालाई विस्थापित गर्ने उहाँहरूको तयारी हो,’ उनले भने, ‘हामीले चाहेको पार्टी भनेको कार्यकर्ताले चाहेको नेतालाई भोली नेतृत्वमा पुर्याउन सक्ने, सबैलाई समेट्ने पार्टी निर्माण गर्न लामो छलफल गरेर हामीले विधान निर्माण गर्यौं । यही विधानलाई कुल्चने अनि नेतृत्वले निरंकुशता लाद्न खोज्ने ?’

समानान्तर गतिविधि

गत मंसिर गते सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरे। पौडेल पक्ष र सिटौला पक्षका नेताहरुले बैठक बहिष्कार गरे। पौडेल र सिटौला पक्षले बैठक बहिष्कार गरेपनि सभापति शेरबहादुर देउवाले पुस ११ गते आह्वान गरेर बहुमतबाट महाधिवेशनको कार्यतालिका ल्याए, एकलौटी ढंगले केन्द्रीय कार्यसमितिको म्याद थप गरे, क्रियाशील सदस्य खुला गर्न विधानको दफा निलम्बन गर्ने निर्णय गरेका थिए।  

पुस ११ गतेको देउवाको निर्णय पछि कांग्रेसको विवाद छताछुल्ल नै भएको हो। देउवा विरुद्ध पौडेल–सिटौला पक्षले पार्टी कार्यालयमै समानान्तर गतिविधि नै चलाउन थालेका छन्।

पार्टी सभापति देउवालाई एकपक्षीयरूपमा अघि बढ्न नदिन दबाबका लागि संस्थापनइतर जिल्ला सभापतिहरूको भएका छन् छलफल आज पनि जारी छ। वरिष्ठ नेता पौडेल, सिटौलासँगै, पार्टी महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु एकैठाउँमा छन्।

सभापतिले ११ गतेको निर्णय नसच्याएसम्म काठमाडौँमै बसेर दबाब दिइरहने काभ्रेका जिल्ला सभापति मधु अचार्य बताउँछन्। ‘जिल्ला सभापतिहरु त्यति सजिलै काठमाडौँ छोडर जाने वाला छैन,’ आचार्यले भने, ‘सभापतिलाई निर्णय सच्याउन हामीले पहल गरिरहेका छौँ । त्यो निर्णय सच्याउन सभापति ज्यू जहिलेसम्म तयार हुनुहुन्न हामी यहीँ बसेर दबाब दिइरहन्छौँ।’सोमबार नै देउवाले पार्टी कार्यालयमा सुरु हुन लागेको सभापतिहरुको भेला रोक्नलाई पनि प्रयास गरेको तर, नसकेको नेताहरुले बताएका छन्।

देउवाले किन पठाए महतलाई?

मंगलबार जिल्ला सभापतिहरुको संस्थापनइतर को नेतृत्व गरिरहेका नेताहरुमाझ आफ्नो धारणाा राखिरहँदा सहमहामन्त्री डा.प्रकाशशरण महत सानेपा पुगे। महत सभापतिहरुको भेला चलिरहँदा पार्टी कार्यालय पुगेपछि धेरैले चासोका साथ हेरे। देउवा निकट स्रोतका अनुसार देउवाको सन्देश लिएर महत पार्टी कार्यालय पुगेका थिए।

पार्टी कार्यालयमा महतले भनेका थिए,‘सभापतिज्यू कार्यतालिका परिमार्जन गर्न तयार हुनुहुन्छ। पहिले पनि छलफलमा आएर सबै टुंग्याउने उहाँको उद्देश्य थियो ।’ मंगलबार महतले पार्टी कार्यालय  आएर सभापति ११ गतेका निर्णय परिमार्जन गर्न तयार रहेको बताएपछि पौडेल-सिटौला पक्षका नेताहरु देउवा हच्किन थालेको बताउँछन्। 

पौडेल पक्षका नेता भनेर चिनिएका नवीन्द्रराज जोशी पनि पार्टी सभापतिले गत ११ गते गरेको निर्णय फिर्ता नगर्दासम्म दबाब कार्यक्रमहरु जारी रहने बताउँछन् ।

‘सभापतिले अहिलेसम्मको नेतृत्वले गर्दै नगरेको विधान मिच्ने काम सच्याउनै पर्छ,’ उनले भने, ‘हामीले त पार्टीको विधान अनुसार नेतृत्व चल्न पर्छ भनेका त हौँ नी। उहाँले निर्णय परिमार्जन गर्छु भनेर आफैँले भन्‍नुपर्‍यो ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.