|

भक्तपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधानको मर्मविपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैँ राजीनामा दिएर आन्दोलनमा उत्रिने बताएको छन्। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३औँ स्थापना दिवस समारोहमा मन्त्री बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको दावी गरे।

मिडियासँग बोल्न नै मन लाग्न छाडेको प्रतिक्रिया दिँदै उनले भने, ‘एउटा कुरा बोल्दा पूर्वदृष्टि राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति हावी भएको छ।’ अहिलेको पत्रकारिता देखेर कहिलेकाँही आफूलाई राजीनामा दिएर बस्ने झोंक चल्ने गरेको बताए।

‘म पनि वर्षौसम्म पत्रकारिता गरकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ,’ उनले भने। उनले सरकारले ‘संमृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा नलिएको स्पष्ट पार्दै अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्नेमा जोड दिए।

‘अब कमिसन पत्रकारिता धेरै चल्दैन,’ उनले भने, ‘पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने वातावरण बन्नुपर्छ।’ उनले  पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने प्रतिबद्धता जनाए।

आफू मन्त्री भएपछि पाँच करोड ३४ लाख रुपैयाँको पत्रकारिता कल्याण कोष स्थापना गरेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले त्यसलाई बढाएर १० करोड रुपैयाँ पुर्‍याउने उद्देश्य लिएको बताए।

अनुशासन उल्लंघन गर्ने पत्रकारितालाई प्रेस स्वतन्त्रतासँग जोड्न मिल्दैन भन्दै उनले सरकारको असन्तुष्टिसँग पत्रकारितालाई नजोड्न आग्रह गरे। उनले पत्रकारितालाई भजन, मिसन, पार्टी पत्रकारिताबाट माथि उठाएर संमृद्ध नेपाल सुखी नेपाली अभियानमा जोड्नुपर्ने बताए।

महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस जगतलाई संकुचन गराउने मिडिया विधेयक सच्याउन महासंघको दवाबपछि नै सरकारले समिति बनाएर छलफल गरिरहेको बताए। 

कार्यक्रममा महासंघका उपाध्यक्ष दिलीप थापामगर, वरिष्ठ पत्रकार कविर राणा, महासंघ उपत्यका प्रदेश अध्यक्ष एन के दाहाल, महासचिब श्रृजन झा, सचिव अमर भुजु र जिल्लाका पूर्वअध्यक्ष नारायण किलम्बू, भगवान महर्जन स्मृति पुरस्कारका संस्थापक माउण्ट भ्यु स्कुलका प्रिन्सीपल राजकुमार महर्जन, लक्ष्मी नारायण शिल्पकार, उपाध्यक्ष रोशन शिल्पकार, सहसचिब सुन्दर शिल्पकार लगायतले प्रेस स्वतन्त्रता हनन हुने गरी ल्याएका विधेयकहरु सच्याउनुपर्ने सुझाव दिएका थिए।

यसैगरी महासंघ भक्तपुरले स्थापना दिवसको अवसर पारेर दबाब साप्ताहिकका सम्पादक तथा महासंघ उपत्यका प्रदेश सचिब अमर भुजुलाई यसवर्षको स्व. मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारद्धारा पुरस्कृत गरिएको थियो भने अग्रज पत्रकार ध्रुव मधिकर्मीलाई नगद १० हजार राशिको स्व. भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.