मन्त्री पुनद्धारा निरीक्षण

|

सोलुखुम्बु : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दूधकोशी जलाशययुक्त विद्युत आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने बताए।  खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सिमानामा बन्न लागेको ६३५ मेगावाटको विद्युत आयोजनाको निरीक्षणपछि सो कुरा बताएका हुन्।

खोटाङको रावाबेसी गाउँपालिकामा आयोजित कार्यक्रममा मन्त्री पुनले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको कार्य अन्तिम चरणमा रहेको जानकारी दिँदै एसियाली विकास बैंक (एडिबी)ले रु.६० अर्ब लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको बताए। आयोजना सम्पन्न गर्न करिब १ खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको छ।

उनले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई उचित मुआब्जा, क्षतिपूर्ति र पुनर्बासको व्यवस्था मिलाइने प्रतिबद्धता जनाउँदै, आगामी वर्ष ७७ वटै जिल्लामा विद्युतीकरण गर्ने बताए। आयोजनाबाट हुने आम्दानीको २५ प्रतिशत स्थानीय सरकारमै रहने संवैधानिक व्यवस्थाले यस क्षेत्रका विद्यालय, सडकलगायत पूर्वाधारको विकास हुने भन्दै सबैलाई सहयोगी भूमिका खेल्न उनले आग्रहसमेत गरे।

कार्यक्रमलाई संबोधन गर्दै सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शूरवीर)ले सोलुखुम्बुलाई जलविद्युत अयोजनाको प्रभावित जिल्ला घोषणा गर्न माग गर्दै सम्पूर्ण स्थानीय तहमा केन्द्रीय प्रशारण लाइन विस्तारका लागि आग्रह गरे।

कार्यक्रममा खोटाङका सांसद विशाल भट्टराईले जिल्लामा गौरवको आयोजना सञ्चालन हुने सुखद भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ओखलढुंगाका प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवारले आयोजना निर्माणपछि यहाँको जनजिविकामा समेत सकरात्मक परिवर्तन हुने विश्वास व्यक्त गरे।

यस्तै, प्रदेश सांसद एवम् नेकपा संसदीय दल प्रदेश नम्बर १ का बुद्धिकुमार राजभण्डारीले  पहाडको विद्युत आयोजनाको प्राथमीकता पहाडनै हुनुपर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्‍बोधनका क्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल मुलुकभरका ८८ प्रतिशत घरधुरीले विद्युत सेवा उपभोग गरिरहेको चर्चा गर्दै खाना पकाउनका लागि ग्यासको सट्टा विद्युतीय चुल्हो प्रयोगमा जोड दिन आग्रह गरे।

आयोजनाले विस्थापित

आयोजना निर्माण गर्दा जम्मा १ सय ६२ घरपरिवार पूर्ण रूपमा विस्थापित हुने र ९ सय ८८ परिवार आंशिक प्रभावित हुने बताईएको छ। यस्तै एक हजार ५० घर परिवारको खेतीयोग्य जमिन डुबानमा पर्ने र ७६ हजार १ सय ९५ रोपनी जमिन प्रभावित हुने पनि कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

आयोजनाका लागि २ सय २० मिटर अग्लो बाँध निर्माण गरी दूधकोशी नदीमा १७ किलोमिटर, ठोट्ने खोलामा ५.५ र रावा खोलामा ८ किलोमिटर लामो जलाशय बनाइने र १३.३० किलोमिटर लामो सुरुङ मार्ग हुने बताइएको छ।

उक्त आयेजनाबाट वर्षा याममा २ अर्ब ८ करोड तथा सुक्‍खा याममा १ अर्ब ३६ करोड युनिट बिजुली उत्पादन हुनेछ। उत्पादित बिजुली प्रस्तावित सुनकोशी (ढल्केबर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.