|
ट्रयाक्टर दुर्घटनामा घाइतेको उपचार गराइँदै

रुकुम : पछिल्लो दुई हप्तायता रुकुम पश्चिममा भएका दुईवटा छुट्टाछुट्टै ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु र २५ बढी घाइते भएका छन्। त्यसबाहेक अन्य समयमा पनि बेलाबेला ट्याक्टर दुर्घटना हुँदै आएका छन्।

साताअघि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ट्याक्टर दुर्घटना भयो। दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भए। आठबिसकोट नगरपालिका-११ गोइरीदेखि राडी जाँदै गरेको लु४त ६३१ नम्बरको ट्याक्टर वडा नं.२ गोइरीको शिलागाउँमा दुर्घटना हुँदा सडकबाट झण्डै डेढ सय मिटर तल खसेको थियो।

घाइतेको नगर अस्पतालमा उपचार सम्भव नभएपछि केहीलाई  थप उपचारको लागि नेपालगञ्ज रिफर गर्नुपरेको थियो। बालुका ल्याएर फर्किरहेको ट्याक्टरमा स्थानीयहरू चढेर राडीतिर आउँदै थिए।

त्यस्तै शनिबार राति साढे नौ बजे त्रिवेणी गाउँपालिका ४, मा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान भयो भने दुई दर्जन बढी विद्यार्थी घाइते भए। त्रिवेणी गाउँपालिकाको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ खेलेर फर्किरहेका विद्यार्थी बोकेको लु३त ९०९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका ५, को विद्या विकास मावि जिवाङको कक्षा ८ का १७ वर्षीय छात्र दलबहादुर विकको ज्यान गएको हो।

दुर्घटनामा विद्या विकास मावि र ४ नम्बर वडाको अन्धनाशक मावि खुम्चेरीकाका विद्यार्थी र बाजा बजाउन गएका ४ जना गाउँले पनि घाइते भए। घाइतेमध्ये ३ विद्यार्थी र एक जना बाजा बजाउनेको अवस्था जटिल भएपछि उनीहरूलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।

दुर्घटनाको कारण खुलेको छैन भने सवारीधनी गणेश परियार पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

ट्याक्टरमा सवारी रोकौं

रुकुममा बेलाबेला हुने गरेको ट्याक्टर दुर्घटनामा परेर ज्यान गुमाउने र घाइतेहरूको संख्या बढेपछि ट्याक्टरमा सवारी यात्रा गर्ने काम रोक्नुपर्ने आवाज उठ्न थालेको छ। मालबहाक ट्याक्टरमा यात्रुबहाक सवारीसाधनझै गरेर मानिसहरु ओसारिनु कानुनी रुपमा समेत गैरकानुनी हो।

घटनापछि कर्णाली प्रदेशसभा सांसद गोपाल शर्माले आफ्नो फेसबुकमा घटनाप्रति दुख व्‍यक्त गर्दै आगामी दिनहरुमा ट्याक्टरमा सवारी रोक्नुपर्ने धारणा राखेका छन्। ‘ट्याक्टर दुर्घटनाका घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना! केही समय यता भएका ट्याक्टर दुर्घटनामा भइरहेका क्षतिलाई ध्यान दिदै ट्याक्टरलाई सवारी साधनको रुपमा प्रयोग गर्ने गराउने प्रवृतिलाई पूर्णतः निरुत्साहित गरौं’ उनले लेखेका छन्।

के हेर्छ प्रहरी?

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले जिल्लामा पछिल्लो पटक भएका दुई ट्याक्टर दुर्घटनापछि प्रहरी सक्रियता झनै बढाइएको प्रतिक्रिया दिए।

‘नियमित नभएर केहीलेकाहीँ र भित्री सडकहरूमा ट्याक्टरमार्फत यात्रा गर्ने काम भइरहेको देखिन्छ, अस्ति त्रिवेणीमा भएको घटनामा पनि रातिको समयमा भएको घटना हो’ उनले भने, ‘मुख्य सडकहरूमा र प्रहरी देखेपछि ट्याक्टरमा हुने सवारीलाई रोकिँदै आइएको छ, आगामी दिनहरुमा झनै कडाइ गर्ने योजना बनाएका छौं।’ ट्याक्टरमार्फत हुने सवारी रोक्न प्रहरी सक्रियतासँगै स्थानीयस्तरका जनप्रतिनिधिसम्म पनि सहकार्य भइरहेको बताइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.