कलाकारहरु दलका चुनाव जित्‍ने साधन मात्रै भए

|

काठमाडौं : बाल्यकालको कुरा हो। मलाई समय ठ्याक्कै याद छैन। कक्षा ४-५ मा पढ्दै थिएँ। विद्यालयमै गरेको नाटकले सबैको ध्यान तानेछ। त्यसबेला मलाई सरहरुले भन्‍नु भएको थियो, ‘यस्तो राम्रो गर्दै गयौ भने, एकदिन राम्रो कलाकार बन्छौ।’

कलाकार कृष्णप्रसाद धिताल 'धिताल चिरिच्याट्ट' ले आफ्नो कलायात्राको कथा यसरी सुनाए। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-६ का  उनी नेपाली कला क्षेत्रमा विस्तारै अघि बढ्दैछन्।

सामान्य परिवारमा जम्मेका धितालको बाल्यकालदेखिको कलायात्राले अझै गन्तव्य खोज्दैछ, पाइला रोकिएका छैनन्। आफुलाई अब्बल कलाकारका रुपमा स्थापित गराउन उनी खारिँदैछन्। ‘बाल्यकालदेखिकै रुचि हो, त्यसैलाई जीवन्त बनाउने लक्ष्य लिएको थिएँ', उनले सुनाए, 'अहिले लक्ष्य नजिक पुगेको आभाष हुन थालेको छ।'

अहिले उनी कृष्णप्रसाद धिताल भन्दा 'धिताल चिरिच्याट्ट' नामले परिचित छन्। ‘विद्यालयमा कला देखाउँदै प्लस टुुसम्म पढेँ। कक्षा १२ मा हुँदा क्याम्पसमा नाटक देखाउने कार्यक्रम थियो। त्यहीँबाटै मेरो नाममा 'चिरिच्याट्ट' थपियो। मैले 'चिरिच्याट्ट' भूमिकामा नाटक देखाएको थिएँ’ उनले भने, ‘पछि मेरा नाम नै त्यही भयो। मलाई खुसी लाग्छ अहिले 'धिताल चिरिच्याट्ट'का रुपमै परिचित छु।'

कलाकारितामा तिखारिने अवसरका रुपमा धितालले विराटनगरमा एक वर्षसम्म नाटकका काम गर्ने अवसर पाए। नाटककार सुनील पोखरेलसँग सिक्ने अवसर मिलेकाले कलाकारिता क्षेत्रमा माझिएर यहाँसम्म आएको उनी सुनाउँछन्। 

जनआन्दोलनपछि व्यावसायिकता

बाल्यकालबाट आफ्नो रगतमा कलाकारिता कुदिरहे पनि समय र परिस्थितिले व्यवसायिक रुप दिन नसकेको उनी बताउँछन्। तत्कालीन माओवादीको १० वर्षे जनयुद्धपछि मात्रै कलाकारितालाई व्यवसायिक रुप दिन सकेको उनले सुनाए।

‘जनआन्दोलनपछि कलाकारितामै डुबेर लागियो। २०६२/६३ पछि मात्रै थोरै पैसा लिएर कार्यक्रमहरुमा हिँड्न थालियो,’ उनले भने, ‘सामान्य परिवारमा जन्मिएको मान्छे, आर्थिक अवस्था उस्तै थियो। कलाकारितालाई व्यवसायिक रुपमा लैजान ठूलो समस्या परेको थियो।’

अहिलेसम्म कलाकारिता क्षेत्रमा धितालका २ वटा नाटक, ३ वटा गीति एल्बम र दजनौँ नाटक बजारमा आइसकेका छन्। बजारमा आएका उनका दुई नाटक ‘गफै त हो सन्धि’ र ‘कि कसो’ कमेडी छन्। यस्तै 'बाउले भन्छन् मलेसिया जा', 'व्यापार गर्न धन छैन', 'सुनमा सुति', 'फलाम चोर्ने देश' लगायतका गीति एल्बम बजारमा आएका छन्। यस्तै, 'बहादुरपुरको दन्ते कथा', 'चतुरेको दाउपेच'लगायत दजनौँ नाटकसमेत बजारमा आइसकेका छन्।  

कलाकारिताका क्रममा उनले चर्चित टेलिसिरियल 'मेरी बास्सै'मा समेत खेल्ने अवसर पाए। ‘मेरी बास्सैमा लामो समय काम गरेँ। खै, के भन्‍ने! सधैँ टिक्न सकिँदो रहेनछ, त्यो छोडियो। त्यसपछि विभिन्‍न साना फिल्ममा काम गरेँ,’ उनले भने। 

अहिले कलाकारितालाई निरन्तरता दिने क्रममा 'आवाज आर्ट क्रियसन थियटर ग्रुप' दर्ता गरेर साेहीमार्फत सामाजिक कार्यक्रममा सक्रिय भएर लागेको धिताल साे त्यही समूहका निर्देशकको भूमिकामा छन्।

‘यही समूहमार्फत सामाजिक क्षेत्रमा जनचेतनामुलक काम गरिरहेको छु’ उनले भने, ‘व्यवसायिक रुपमा लागेपछि गीत, संगीत र स्टेज कार्यक्रम पनि गरिरहेको छु। त्यसैमा दिनचर्या बितेको छ।’ 

परिवारमा किचलो

कलाकारितामा जमिरहन आर्थिक हिसाबले चुनौतीपूर्ण छ। नेपाली कलाकारिता क्षेत्रमा यो अनौठो कुरा भएन। ‘सामान्य परिवारमा जन्मेका मान्छे, घरको आम्दानीको स्रोत खेती किसानी हो। अहिले पनि त्यही नै छ,’ उनले सुनाए, ‘आर्थिक अभावले परिवारमा आएको किचलोले मलाई अहिलेसम्म झस्काइरहन्छ।’

परिवारको आम्दानीको स्रोत राम्रो नभएपनि आफ्नो इच्छामा परिवारले दिएको साथ महत्वपूर्ण रहेको अनुभव उनीसँग छ। ‘मलाई परिवारले आर्थिक हिसाबमा मात्रै तुलना गरेन। मेरो इच्छा र चाहानालाई पनि महत्व दियो। त्यसैले अहिले म सफल भएको छु’, उनले भने।

आफूले गरेको अफ्रिकन कलाकारको नाटक, विश्‍वकपमा ब्राजिलका चर्चित खेलाडी नेयमारको अभिनयलाई उनी सम्झिरहन्छन्। यसबाट उनले धेरै प्रशंसा पनि बटुले। त्यो अभिनयले दर्शकको साथ पाउँदा कलाकारितामा हौसला मिलेको अनुभव सुनाउँछन् उनी। 

व्यङ्ग्य गर्दा गाली 

कलाकारितामा लागेपछि उनले धेरैको व्यङ्ग्य गरे। धेरै स्टेज कार्यक्रममा हिँडेको अनुभव उनीसँग छ। कलाकारिता जीवनमा  अविश्मरणीय क्षण पनि छ उनीसँग। सिन्धुपाल्चोक सदरमुकाम चौतारामा आयोजना भएको एक कार्यक्रमलाई उनी कहिल्यै भुल्न सक्दैनन्। 

‘चौतारामा एक कार्यक्रम थियो। त्यही कार्यक्रमका आयोजकमाथि व्यङ्ग्य गरेको थिएँ। हाम्रै कार्यक्रममा हामीलाई नै व्यङ्ग्य गर्ने भन्दै बेस्सरी गाली गरे’, उनले ती दिन सुनाए, ‘कलाकारितामा अहिलेसम्मको तीतो क्षण त्यही हो। त्यस्तो तीतो क्षण अहिले भोग्‍नुपरेको छैन।'

सम्भावना धेरै, तर टिक्नै मुस्किल 

कलाकारिता क्षेत्रमा धेरै सम्भावना छन्। चुनौतीका चाङ पनि उस्तै। सम्भावनासँग चुनौती जोडिएकैले मिहिनेत गरेमा लक्ष्यबाट विमुख नहुने उनले बताए।

‘पहिला आफ्नो क्षमता बाहिर ल्याउने कुनै माध्यम थिएनन्। तर, अहिले सामाजिक सञ्जालमै जोडिइरहेका हुन्छौँ’, उनले भने, ‘सामाजिक सञ्जालसँगै मिडिया पनि छन्। प्रतिभा देखाउन कसैको गुलामी गर्नुपर्ने अवस्था अब रहेन।'

धैर्य गरेर मिहिनेत गर्न सके लक्ष्य चुम्‍नबाट पछि परिन्छ जस्तो लाग्दैन उनलाई। 'प्रतिभा भएमा थोरै समयमा चर्चित हुन सकिने वातावरण बनिसकेको छ', उनले सुनाए।

राजनीतिक दलसँग गुनासो

कलाकारलाई राजनीतिक दलहरुले चुनावमा मात्रै देख्‍ने गरेको धितालको गुनासो छ। ‘राजनीति दलले हामीलाई चुनावमा मात्रै देख्छन्। चुनाव सकिएको भोलिदेखि फर्केर हेर्दैनन्', उनले भने, ‘कलाकारलाई चुनावमा भोट माग्‍ने हतियारका रुपमा हेर्ने गरेकोमा मलाई नमज्जा लागिरहन्छ।'

कलाकारिता क्षेत्रलाई व्यवस्थित र दिगो बनाउन सरकारले पनि ठोस कदम नचालेको गुनासो उनले गरे। ‘अहिले झन् तीनतहको सरकार बनेको छ। तर, तीनै तहको सरकारले कलाकारिता क्षेत्रलाई व्यवस्थित बनाउन कुनै कदम चालेकै छैन्‌,' उनले सुनाए।

कलाकारको जीवन सुरक्षाका लागि कुनै नीति-कार्यक्रम नल्याएकोमा धितालको चित्त फाटेको छ। 'कलाक्षेत्रले देश विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्न सक्छ', उनले भने, 'तिनै नेतालाई चुनाव जिताउन कलाकार चाहिन्छ। चुनाव जितेर गएपछि योजना ल्याउने बेलामा कलाक्षेत्रलाई बिर्सिजान्छन्।'

विकसित मुलुकमा कलाकारिताको प्रभाव धेरै ठूलो रहेको उनी सुनाउँछन्। कलाक्षेत्रका लागि सरकारले पनि धेरै काम गरेका छन्। 'तर नेपालका चर्चित कलाकारलाई समेत जीवन चलाउन गाह्रो पर्छ,’ उनले भने।

संघीय सरकार आएकाले तीनै तहका सरकारले ध्यान दिएमा कलाकारहरुको जीवन उज्वल हुने उनको बुझाइ छ। 'दलहरुले चुनावका बेलाका वाचा नभुली काम गरे हुन्छ', उनी भन्छन्, 'कलाक्षेत्रको विकासमा सरकारले थोरै काम गरिदिए पनि पुग्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.