|

हेटौँडा : हेटौँडामा छैटौँ स्व. माधवराज सुमार्गी टि-ट्वान्टी क्रिकेट कप प्रतियोगिता आयोजना हुने भएको छ। ३ नम्बर प्रदेशस्तरीय प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाउने भएका छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मकवानपुर क्रिकेट संघले छैटौँ र सातौँ प्रतियोगिताको लागि प्रायोजक हेटौँडा एकेडेमीसँग दुईवर्षे सम्झौतासमेत गरेको छ। सम्झौता पत्रमा हेटौँडा एकेडेमीका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गी र मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौता हस्ताक्षर तथा प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजक अध्यक्ष श्रेष्ठले अबका वर्षमा निरन्तर प्रतियोगिता सञ्चालन गरिने बताए। उनले यो वर्षको खेलका लागि पाँच लाख रुपैयाँ खर्च लाग्नेसमेत बताए।

आगामी पौष २६ गतेदेखि छैटौँ प्रतियोगिता आयोजना गर्न लागेको उनले जानकारी गराए। बाहिरी जिल्लामा पनि क्रिकेटका प्रतियोगिता भइरहेका कारण यो वर्षको फाइनल खेल माघ ४ वा ५ गते खेलाडीको अनुकूल हुनेगरी समपन्न गर्ने समेत उनले बताए।

आगामी दुई वर्षको लागि प्रतियोगिता प्रायोजन गर्ने सहमति गर्दै क्यान मकवानपुरका संस्थापक अध्यक्ष एवं हेटौँडा एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमार्गीले आफ्नो बुबा स्व. माधवराज सुमार्गीको नाममा यो प्रतियोगिता आयोजना गर्ने अवसर प्रदान गरेको आयोजकलाई धन्यवाद दिए।

उनले दुई वर्षको लागि मात्र सम्झौता भए पनि फेरि यसलाई निरन्तर आयोजना गर्न आफूहरू तयार रहेको बताए। मकवानपुरमा क्रिकेट खेललाई अगाडि बढाउन यो प्रतियोगिताले भूमिका खेल्ने समेत उनले बताए।

प्रतियोगीतामा पहिलो पाइला शिशु स्याहार केन्द्रकी संचालिका अंकिता सुमार्गीले खेलाडीलाई ग्राउण्डमै पहिलो पाइलाको तर्फबाट खाना खुवाउने व्यवस्था गरेको बताइन्। पत्रकार सम्मेलनमा मकवानपुर क्रिकेट संघका सचिब दिपेन्द्र ढकाल, प्रतियोगिता संयोजक एवं क्रिकेट संघ प्रदेश कमिटीका उपाध्यक्ष प्रेमबहादुर क्षेत्री, जिल्ला सदस्य विनोद प्रधान, जिल्ला उपाध्यक्ष एवं केन्द्रीय सदस्य करण महत्रालगायतले यो वर्ष २ र ३ नम्बर प्रदेशका ६ जिल्लालाई मात्र समेट्न सफल भएको र आगामी वर्षमा अन्य प्रदेशका जिल्लालाई पनि समेट्न लागि पर्ने बताए।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्वितीय हुने टिमले २० हजार नगद, शिल्ड, प्रमाणपत्र प्राप्त गर्ने जिल्ला अध्यक्ष श्रेष्ठले बताए।

प्रतियोगीताको पहिलो खेल आगामी २६ गते बिहान ८:३० बजे महावीर क्लब मकवानपुर र मकवानपुर क्रिकेट एकेडेमी बीच हुने आयोजकले बताएको छ। प्रतियोगिताको 'ए' समूहमा महावीर क्लब हेटौँडा, मकवानपुर क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट क्लब, र कलैया क्रिकेट रहेका छन। 'बि' समूहमा युनाइटेड क्रिकेट क्लब पर्सा, नुवाकोट क्रिकेट क्लब, चितवन क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडेमी रहेका छन्।

यो वर्षको खेल हेटौँडाको हुप्राचौरमा हुनेछ भने दोश्रो वर्षदेखि प्रयोजक हेटौँडा एकेडेमी मैदानमा आयोजना हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.