|

डोटी : सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक पानीसँगै परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ। अत्याधिक चिसो बढेपछि डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई ६ दिन बिदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले चिसोका कारण विद्यार्थीलाई विद्यालय आवतजावत तथा पठनपाठन गर्न कठिनाइ हुनका साथै स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएका कारण विद्यालय बन्द गर्ने निर्णय गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले जानकारी दिइन्।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु थापाले जारी गरेको सूचनामा मौसम प्रतिकूलका कारण चिसो अत्यधिक बढ्न गई विद्यार्थीलाई विद्यालय आवतजावत तथा पठनपाठन गर्न अति कठिन भएको तथा सोको असरबाट विद्यार्थी बिरामीसमेत भइरहेको कारण विभिन्न विद्यालयबाट केही दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।

पुस २५ गतेदेखि माघ १ गतेसम्म विद्यालय बन्द गर्ने तथा माघ २ गतेदेखि विद्यालय खुल्ने सूचनामार्फत जानकारी दिइएको छ। संस्थागत विद्यालयको हकमा भने कुनै कुरा उल्लेख गरेको छैन।

सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय पहिले नै गरिसकेको छ। दिपायल सिलगढी नगरपालिकाभित्र ४० वटा सामुदायिक ४० र १८ वटा संस्थागत विद्यालय रहेका छन्।

केही दिनको लगातार वर्षाका कारण चिसो अत्यधिक बढेको छ। बिहीबार डोटीको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.