|

काठमाडौं : लिगको पुछारमा रहेको सरस्वती युथ क्लबलाई स्तब्ब बानाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजिन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा बिहीबार भएको खेलमा विभागीय टोली आर्मीले तालिकामा खाता खोल्न नसकेको सरस्वतीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो। बिहीबारको जितसँगै आर्मी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सम्पन्न ५ खेलमध्ये चार खेलमा जित र १ खेल गुमाएको आर्मीले १२ अंक बनाएको छ।

आर्मीलाई स्पष्ट जित दिलाउनका लागि जर्ज प्रिन्स कार्कीको गोल निर्णायक बन्यो। ३० औं मिनेटमा कार्कीले गरेको गोलबाट आर्मीले जित निकाल्न सफल भएको हो। खेलमा आर्मीका विकास खवास म्यान अफ दि म्याच चुनिए।

जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ। र, साविक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई एक अंकले पछि पारेको छ। दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ। यस्तै, सरस्वतीको यो लगातार पाँचौं हार हो। लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा अंक जोड्न सकेको छैन।

लिगअन्तर्गत बिहीबारै सम्पन्न दिनको पहिलो खेलमा विभागीय टोली एपिएफमाथि ४-२ को जित निकाल्दो संकटाले जारी लिगमा दोस्रो जित निकालेको छ। दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले दुई गोल गरे।

यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल आफ्नो नाममा लेखाए । एपीएफका नबिन लामा र आशिष लामा लामाले एक/एक गोल फर्काए। जितपछि संकटा लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ। संकटाले ५ खेलमा ७ अंक जोडेको छ। एपीएफको ५ खेलमा ४ अंक रहेको छ। एपीएफ लिगको ११ औं स्थानमा रहेको छ।

बिहीबारको खेलसँगै जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौ चरणका पनि खेल सकिएका छन्। आर्मी १२ अंकका  साथ तालिकाको शीर्ष स्थानमा उक्लिँदा मनाङ ११ अंकका साथ तालिकाको दोस्रो, मच्छिन्द्र १० अंकका साथ तालिकाको तेस्रो, थ्री स्टार समान १० अंक भए पनि गोल अन्तरका आधारमा तालिको चौथो स्थानमा छ। पाँचौं चरणका खेल समापन हुँदा सरस्वती युथ क्लबले अहिले सम्म कुनै खाता खोलेको छैन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.