दुवै क्लबलाई ५०/५० हजार जरिवाना

|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले मनाङ मस्र्याङदी क्लब र मच्छिन्द्र क्लबबीचको खेलमा मैदानमै हातपातमा उत्रिएका खेलाडी कारबाहीमा परेका छन्। एन्फाको अनुशासन कमिटीले दुवै क्लबका तीन/तीनजना गरी ६ जना खेलाडीलाई कारवाही गरेको हो।

एन्फाले मनाङका जगजित श्रेष्ठ र गोलरक्षक अशोक बराललाई ५ वटा पाँचवटा खेलमा प्रतिबन्ध लगाएको छ भने रञ्जन विष्टले दुई खेल खेल्न नपाउने भएका छन्। यस्तैगरी, मच्छिन्द्र क्लबका विजय धिमाल, देवेन्द्र तामाङ र दीपक राईलाई दुईवटा खेल खेल्न नपाउनेगरी प्रतिबन्ध लगाईएको एन्फाले जनाएको छ।

एन्फाको अनुसाशन कमिटीको बिहीबार बसेको बैठकले जगजित र अशोकलाई आर्थिक कारवाहीसमेत गर्ने निर्णय गरेको छ। उनीहरूमाथि १० हजार जरिवाना तोकिएको छ ।

यस्तैगरी, मनाङ मस्र्याङदी क्लबका किट्स म्यानेजर शिव लामालाई लिगका बाँकी सबै खेलमा प्रतिबन्ध लगाउनुका साथै १० हजार रुपैयाँ जरिवाना सुनाइएको छ। एन्फाले खेलाडी र व्यवस्थापकसँगै दुबै क्लबलाई जरिवाना तोकेको छ। दुवै क्लबले अब ५०/५० हजार जरिवाना तिर्नुपर्ने भएको छ।

तीन दिनअघि दशरथ रंगशालामा भएको लिगको पाँचौ चरणको खेल सकिएपछि दुवै क्लबका खेलाडी हातपातमा उत्रिएपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले मैदानमै प्रवेश गरेर स्थिती नियन्त्रणमा लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.