|

काठमाडौं :  महानगरीय ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको रिङरोडभित्र सञ्चालित सार्वजनिक यातायातका साधनको अनुगमन गरेको छ। ट्राफिक प्रहरी महाशाखा र अखिल नेपाल यातायात मजदुर संघ, नेपाल स्वतन्त्र मजदुर संरक्षण, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात राष्ट्रिय व्यावसायी महासंघको संयुक्त आयोजनामा अनुगमन गरिएको हो।

त्यसक्रममा ५० वटा सवारीसाधनको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा चालक र सहचालकलाई ट्राफिक नियमका १८ वटा बुँदा पढेर सुनाइएको थियो।  सुझावहरु एक हप्तामा परिवर्तन नभएमा जरिवाना गरिने अनुगमनका क्रममा रहेका ट्राफिक प्रहरीले बताएको छ।

ट्राफिक नियम उल्लंघन गरेमा १ हजार देखि १५ हजारसम्म जरिवाना तिराइने ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। उनले  सार्वजनिक यातायातका साधन सफा सुग्घर हुनुपर्ने र चालक तथा सहचालकले यात्रुसँग राम्रो बोलिवचन गर्नुपर्ने पनि बताए।

अनुगमनका क्रममा सार्वजिनक यातायातमा भाडासम्बन्धी हुने गुनासो, चालक र सहचालकले यात्रीलाई गर्ने व्यवहारको बारेमा ट्राफिक प्रहरी र मजदुर संघका प्रतिनिधिले एकसाथ सोधेका थिए। अधिकांश यात्रुले चालक र सहचालकको बोली र व्यवहार नराम्रो भएको प्रतिक्रिया दिएका छन्।

चालक र सहचालकलाई हामी साथीको व्यवहार गर्न चाहिरहेको महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.