गार्मेन्टमा मजदुरदेखि सफल मिड फिल्डरसम्म

|

इलाम : अंग्रेजीमा एउटा भनाइ छ ‘एभ्री फेलियर इज वन्ली अ स्टेप क्लोजर टुवार्ड्स सक्सेस’ अर्थात् ‘हरेक असफलता सफलताभन्दा एक कदम मात्रै नजिक छ।’ 

राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य भोला सिलवालको जीवनमा यो भनाइ मेल खान्छ।  २ पटक एन्फा एकाडेमीका लागि भएको छनोटको अन्तिम चरणमा पुगेर फालिए। 

खाली खुट्टा खेलेर विराटनगरको शहीद रंगशालामा प्रशिक्षकहरूलाई मख्ख बनाएका भोला दुवैपटक काठमाडौंमा छनोट हुन सकेनन्। 

यही असफलतालाई प्रेरणा बनाएका उनले नेपाली टिममा ८ वर्ष विताए। ४ वर्षमात्र हुँदैछ उनी नेपाली टिममा नपरेको। सन् २०१६ को साग क्लोज क्याम्प जानुअघि इन्जुरी भएपछि उनको राष्ट्रिय टिम आगामी यात्रा टुङ्गिएको थियो। 

तर अझै पनि घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिसबाट प्रभावशाली प्रर्दशन गर्दैछन्। जारी लिगमा सरस्वतीविरुद्ध १ गोल गरिसकेका छन्।

‘यदि काठमाडौंमा छनोट भएको भए माहोल र परिस्थित यस्तो हुने थिएन होला’, उनी भन्छन् ‘एन्फामा खेल्न नपाएको पीडाले मलाई खारेको हो भन्दा पनि फरक नपर्ला।’ 

तीन दिनलाई सम्झेर भोला अहिले पनि भावुक हुन्छन्। ‘पहिलो पटकको छनोटमा राम्रो खेल्न सकेको थिइन’, उनले सुनाए, ‘तर दोश्रो पटक युगोस्लास्भियाका प्रशिक्षक र उमेश प्रधानले बाबु तिमीले राम्रो खेल्यौ भन्दा आस पनि लागेको थियो।’ तर डेढ महिनापछि आएको नतिजामा भोलाको नाम थिएन्। त्यही पीडा उनका लागि शक्ति बन्यो।

अहिले पनि उनी मोफसलको गोल्डकपमा फरक÷फरक भूमिका देखिन्छन्। कहिले खेलाडी त कहिले टचलाइनको हिरो अर्थात् प्रशिक्षक। पुलिसका मुख्य प्रशिक्षक अनन्तराज थापाले भन्दा पनि बढी मैदानमा खेलाडीहरूलाई निर्देशन दिइरहेका भेटिन्छन् भोला। 

उनी खेलाडीका रुपमा जति सफल बने प्रशिक्षकका रुपमासमेत अगाडि बढ्ने प्रयासमा छन्। ६ महिनाअघि प्रशिक्षककारुपमा नेपाल पुलिसका खेलाडीलाई एन्फाका पूर्वउपाध्यक्ष ललित कृष्ण श्रेष्ठको स्मृतिमा आयोजित ललित मेमोरियल यु–१८ च्याम्पियनसिप दिलाए। 

‘खासमा म प्रशिक्षक होइन, फुर्सदको समयमा भाइलाई सिकाएको मात्रै हो’, उनी भन्छन्, ‘तर परिणाम सुखद नै आयो।’

फुटबल यात्रा

विराटनगरको शहिद रंगशाला नजिकै आर्दश माविमा अध्ययन गर्दा दिनहुँ सिनियरहरुको खेल हेरेर उनमा फुटबलप्रति इच्छा जाग्यो। परिवारमा खेलको महत्व बुझेका कारण भोलालाई फुटबलमा आउन त्यति असहज भएन। 

तर आर्थिक अवस्था मजवुत नहुँदा बुट किन्न समस्या नै थियो। खाली खुट्टा नै उनले रंगशालामा प्रशिक्षण गर्न छाडेनन्। १४÷१५ वर्षको उमेरमा नै उनले स्थानीय मोतीराम स्र्पोटिङ क्लब र सम्राट स्र्पोटिङ क्लबबाट फुटबल खेल अघि बढाए। 

मोरङको टिमबाट आहा गोल्डकप, बुढासुब्‍बा गोल्डकप, त्रिभुवन गोल्डकप, महेन्द्र गोल्डकप जस्ता त्यसबेलाका देशकै चर्चित प्रतियोगितामा मिडफिल्डरको रुपमा खेल कौशल देखाए। 

केही समय ‘सी’ डिभिजनको सामाजिक युथ क्लबमासमेत बिताए। तर घरको अवस्थाका कारण फुटबल छाड्नुप¥यो। केही समय गार्मेन्ट कारखाना पनि मजदुरकारुपमा काम गरे।

‘मन नलागी नलागी पनि केही वर्ष फुटबल छाड्नुपर्‍यो,’ उनले भने, ‘तर, दुःखका ती दिनपछि अवसरका ढोका पनि खुले।’

भोलाको भाग्य त्यति बेला चम्कियो जब काठमाडौंमा सनमुन कप यु–१९ फुटबल खेल आयोजना हुने भयो। त्यसबेला कुमार प्रधान, सन्तोष बानियाँ, वसन्त अर्यालहरुको आग्रहपछि उनी फुटबलमा आए। इटहरीमा पूर्वाञ्चल टिमको छनोट थियो। जहाँबाट उनीसँगै पूर्व-राष्ट्रिय खेलाडी सन्दीप राईसमेत टिममा परे।

अनि पुगे पुलिस टिममा

संयोगवश प्रतियोगिता नेपाल पुलिस क्लबको मैदानमा आयोजना गरिएको थियो। सनमुन कपमा पूर्वाञ्चल टिमको प्रदर्शन सामान्य रहे पनि भोलाको भाग्य चाहिँ चम्कियो।

तत्कालीन समयमा नेपाली फुटबलमा एकल प्रभाव जमाइरहेको महेन्द्र पुलिस क्लबका प्रशिक्षक योगम्बर सुवालको नजर भोलामाथि पर्न गर्‍यो।

मध्यपंक्तिबाट छरितो शैलमिा बल अगाडि बढाउने क्षमताबाट प्रभावित भएर सुवालले भोलालाई पुलिसमा ल्याउन चाहेका थिए। जागिर पनि मिल्ने भएपछि उनले २०६१ सालको अन्तिमतिर फर्म भरेर पुलिसमा आवद्ध भए। 

पुलिसबाट खेल्न सुरु गरेको ६ महिना नबित्दै अर्थात २०६२ साल जेठ २९ गते जवान पदमा भर्ना भए। हरि खड्का, अनन्त थापा, देवनारायण चौधरी, पर्वत पाण्डे जस्ता राष्ट्रिय टिममा प्रभाव जमाइसकेका खेलाडीमाझ प्रमाणित गरेर टिममा पर्नु भोलाका लागि अर्को चुनौती थियो। 

‘सिनियर दाइहरु खेलेको ठाउँमा जाँदै उहाँहरुको शैलीलाई ध्यान दिएर हेरेर आफुमा लागु गर्न खोजेँ,’ भोला भन्छन् ‘लगनशीलता र मिहिनेतका कारण टिमको टप २० मा परेँ।’ २०६२ सालमा आयोजित शुभजन्मोत्सव कपमा पहिलो पटक पुलिस टिमबाट मैदानमा उत्रिने मौका पाए।

पुलिसको निकटतम प्रतिद्वन्द्वी मानिएको मनाङसँगको खेलमा अन्तिम ३० मिनेटको खेल बाँकी रहँदा किशोर सुव्वालाई प्रतिस्थापन गर्दै डेव्यु गरे। 

‘बराबरी भएको अवस्थामा ८० औँ मिनेटमा डिबक्सभित्र पेनाल्टी गराएँ। हरि दाइ (हरि खड्का) ले सहजै गोल गर्नुभयो, हामीले खेल जित्यौँ,’ भोला सम्झन्छन्।

त्यसपछि हरेक पटक किशोर सुब्बाको प्रतिस्थापन बन्न थाले भोला। २०६२ सालको शहिद स्मारक लिगपछि सुब्बाले क्लब छाडे। त्यहीँदेखि भोलाका लागि सुरुवाती ११ मा पर्ने राम्रो अवसर मिल्यो। १४ वर्षको अवधीमा भोलाले ३ संस्करणको शहिद स्मारक लिग जिताउन योगदान दिए। 

उनी टिममा रहँदा पुलिसले २०६३, ०६७ र २०६८ को सहिद स्मारक लिग जितेको थियो। २०६८ सालको राष्ट्रिय लिग पनि पुलिसले जित्यो।

शहिद स्मारक लिगको २०६८ को संस्करणमा उत्कृष्ट मिडफिल्डर बन्दै मोटरसाइकलसमेत पाए। ‘१४ वर्षे ‘ए’ डिभिजन फुटबल यात्रामा तीनवटा जति चाहिँ मोटरसाइकल पाएँ’, उनले भने, ‘म्यान अफ दि म्याचको त गणना नै राखिएन्।’ 

पोखराको मनकामना केबलकार कप र विराटनगरकै वीर गणेशान सिंह गोल्डकपमासमेत सर्वोत्कृष्ट खेलाडी बन्दै भोलाले मोटरसाइकल प्राप्त गरे। 

लिग च्याम्पियनको हैसियतले ५ पटक पुलिसले एएफसी प्रेसिडेन्ट कप खेल्दा भोलाले पुलिस टिमको मध्यपंक्तिलाई बलियो गरी सम्हाले। पुलिस एक पटक उपविजेता, २ पटक सेमीफाइनलिष्ट र २ पटक लिग चरणबाटै बाहिरिएको थियो। जुमानु राईको अनुपस्थितिमा करिब २ वर्ष पुलिस टिमको कप्तानीसमेत भोलाले सम्हालेका थिए।  

राष्ट्रिय टिम

सन् २००७ मा भएको एएफसी प्रेसिडेन्ट कपको तेश्रो संस्करणमा महेन्द्र पुलिस क्लब उपविजेता बनेको थियो। कीर्गिस्तानको डोरोडो डाइनामोसँग पराजित बन्दै पुलिस उपविजेता बनेको साल नै भोला राष्ट्रिय टिममा परे। 

२ अगष्ट २००८ भोलाका लागि सम्झनालायक मिति। त्यो दिन उनी उत्तर कोरियाविरुद्ध सुरुवाती ११ मा पर्दै राष्ट्रिय टिमबाट डेव्यु गरे। त्यसयता उनले सन् २०१६ सम्म नेपाली राष्ट्रिय टिमबाट ३९ क्याप जित्दै २ गोल समेत गरेका छन्। 

भोलाको नाममा इस्ट टिमोर र बंगलादेशविरुद्धको गोल रहेको छ।  उनले १ खेलमा नेपाली राष्ट्रिय टिमको क्याप्टेन आर्मव्यान्ड बाँध्ने मौका पाएका थिए। 

फिलिपिन्सविरुद्धको मैत्रीपुर्ण खेलमा कप्तान सागर थापा खेल मैदानबाट बाहिरिएपछि भोलाले नेपाली टिमको नेतृत्व गरेका थिए। 

एएफसी प्रेसिडेन्ट कपमा दोश्रो हुँदा क्षण फुटबलमा लाग्दाको सवैभन्दा खुशीको क्षण भएको भोला बताउँछन्। ‘नेपालको एउटा क्लबले त्यो लेभलको प्रतियोगिताको फाइनलसम्म पुग्नु आफैमा गर्वको कुरो पनि हो,’ उनी भन्छन् ‘सबैभन्दा नमज्जा चाहीँ सन् २०१३ को साफमा अफगानिस्तानसँग सेमीफाइनलमा हार्दा भएको थियो।’

त्यो बेला नेपाल भारतलाई हराउँदै समूह बिजेताका रुपमा सेमीफाइनल पुगेको थियो। अफगानिस्तानसँग सुरुमा खाएको गोल नै नेपालका लागि घातक बन्यो। 

भोलाले क्लब र देशका लागि सबै खेल मिडिफल्डरको भूमिकामा खेले। १७ नम्बर जर्सी लगाएर उनी मैदान उत्रँदा प्लेमेकरको रुपमा सबैको भरोसा उनमै टिकेको हुन्थ्यो। 

प्रोत्साहन नै छैन

सरकार र एन्फाले पछिल्लो समय खेलाडीको मनोबल उच्च बनाउन नसकेको भोला बताउँछन्। ‘हामीले लगातार ३ पटक सन २००९, २०११ र २०१३ को साफमा सेमीफाइनलसम्म पुग्दा पनि नगद प्रोत्साहन पाएको थियौ। अहिले त्यस्तो छैन,’ उनी भन्छन्। खेलाडीको प्रर्दशनलाई हेरेर उनीहरुको मनोबल बढाउन थोरै भएपनि नगद प्रोत्साहन आवश्यक रहेको उनी बताउँछन्। 

सुखद बिदाइको अपेक्षा

८ वर्ष नेपाली राष्ट्रिय टिममा बिताएका भोला अब सरकारबाट सुखद बिदाइको अपेक्षा रहेको बताउँछन्। 

‘८ वर्ष राष्ट्रिय टिममा बिताएँ, अब सुखद बिदाइका लागि उचित अवसरको खोजीमा छु,’ उनी भन्छन्, ‘राष्ट्रिय टिममा पर्ने सम्भावना अब छैन जस्तो लागेको छ। यो समयमा राष्ट्रिय टिममा खेल्ने अपेक्षा पनि छैन।’ 

सन २००८ मा प्रधानमन्त्री कपमा नेपाल निलोबाट पहिलो पटक नेपाली झन्डा अंकित जर्सी लगाएर मैदान उत्रिएका भोलाले १३ वर्षपछि जापानी टिमसँगको मैत्रीपूर्ण खेलमा पनि नेपाली टिमको नेतृत्व गर्दै निलै जर्सी लगाए। 

राष्ट्रिय झन्डा अंकित जर्सीमा त्यही नै अन्तिम खेल हुन सक्ने उनको बुझाई छ। ‘कुनै पनि खेलाडीले आफ्नो बिदाइ मैदानमै होस् भन्ने चाहन्छ’, उनले सुनाए, ‘मेरो मात्रै होइन, नेपाली टिममा लामो समय बिताएका सबैको अपेक्षा त्यही हो।’ 

प्रहरी जवानबाट जागिर सुरु गरेका उनी हाल प्रहरी सहायक निरीक्षकका रुपमा नेपाल पुलिस क्लबमा छन्। खेलाडीबाट प्रशिक्षकको रुपमा नयाँ भूमिकामा देखिने लक्ष्य उनले बुनिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.