१४ रुपैयाँ लिने ठाउँमा २० रुपैयाँ असुल्छन् काठमाडौंका गाडी

|

काठमाडौं :  इन्दुकान्त घिमिरे यात्रा गर्दा सार्वजनिक यातायातको साधनको प्रयोग गर्छन्। उनले सरकारले तोकेको निर्धारित रकममा यात्रा गर्न नपाएको गुनासो गरे।

निश्चित गन्तव्यमा पुग्नको लागि तोकेको भाडाभन्दा बढी तिरिरहेको उनको भनाइ छ। उनले भने, 'चार किमि यात्रा गर्दा १४ रुपैयाँ तिर्नुपर्ने नियम छ। तर, सहचालकले २० रुपैयाँ लिइरहेका छन्। ट्राफिक प्रहरी यहीँ हुनुहुन्छ यस्तो कुराको कसले अनुगमन गर्ने हो?'

ट्राफिकले गरेको अनुगमन नाटक मात्र रहेको उनले सुनाए। 'अनुगमनमा चालक र सहचालक इमानदारी जस्ता हुन्छन् जब गाडी चल्छ यिनीहरूको दादागिरी सुरु हुन्छ,' घिमिरेले भने।

शुक्रबार महानगरीय ट्राफिक महाशाखा प्रहरीले यातायात व्यावसायी र मजदुर संघका प्रतिनिधिसँग मिलेर एकसाथ अनुगमन गरेको छ। सुनधारा, काठमाडौं मल  र एनसीअगाडि ५० वटा सार्वजनिक सवारी यातायातको अनुमगन गरेको थियो।

सार्वजनिक यातायातमा यात्रुलाई यात्रा गराउँदा कुनै पनि अभद्र व्यवहार गर्न नपाइने र त्यस्तो व्यहार गरेको पाइएमा १ हजारदेखि १५ हजारसम्म जरिवाना गराउने ट्राफिक महाशाखाका प्रहरी प्रमुख भीमप्रसाद  ढकालले बताए। पहिलोपटक सार्वजनिक यातायातमा केही त्रुटि भेटिए पनि सुझाव दिएर र सम्झाएर छाडिएको उनले प्रष्ट पारे।

भ्रमण वर्षलाई लक्षित गरी सार्वजनिक यातायातको अनुगमनलाई तीव्रता दिएको उनको भनाइ छ। सार्वजनिक यातायातको क्षेत्रमा भएका विकृति विसंगतिलाई हटाउनलाई यस्तो अनुमगनको अभियान चलाइरहेको उनले बताए।

सार्वजनिक यातायातका साधनको मात्र समस्या नरहेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका सचिव नन्दलाल श्रेष्ठले बताए। उनका अनुसार सडक मार्ग निर्माण हुनुपर्छ। सरकारले सवारीसाधन खरिद गर्नको लागि ऋण प्रवाह गर्नको लागि सहज गरिदिनुपर्छ।

'यातायात व्यावसायीलाई मात्र नराम्रो देखाउन पाइँदैन। राम्रो कुराको लागि सहयोग गर्न सधैँ तत्पर छौँ,' उनले भने,' राज्यमा हामी बस्ने हो। राज्यलाई सहयोग नगर्ने भन्ने कुरा आउँदैन।'

सरकारले नेपाल भ्रमण वर्ष सुरु गरिसकेको छ, यसका लागि दैनिक यातायातको साधनलाई सधैँ सफा गरेर सञ्चालन गराउनलाई चालक र सहचालकलाई अनुरोध गरिरहेको  उनले बताए।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.