|

जाडो छ
यतिबेला नानीहरू

कक्षाकोठाबाट
घाम चोरिरहेछन् /आगो चोरिरहेछन्
 र, गुरुहरू अनुशासनको नाममा छडी घुमाइरहेछन्।

जाडो छ
बादलले घाम चुसिरहेछ
हिउँले आगो लुछिरहेछ।

बन्द छन् झ्यालढोकाहरू
बन्द छन् बालआवाजहरू

र पनि
झ्यालढोका खोलेर फोरेर
सडक चउर र बस्तीमा
घाम आगो चोर्न दगुरिरहन्छन् -आँखाहरू।

पाठशाला नजिकै
बर-पीपलको चौतारीमा
भारी बिसाएर गर्मी साट्न
आउँछन्
पसिना र ठेला बोकेका भरियाहरू

तर
छुट्टै मनस्थिति बोकेर
छुट्टीपछि सधैँ सधैँ
खुला चउरमा
खुला सडकमा
खुला बस्तीमा
घाम/आगो चोर्न दगुर्छन् कोठाभित्रका नानीहरू।

जाडो छ
कठ्याङ्ग्रिएका छन्
समग्रमा यतिबेला
आगो चाहन्छन् नानीहरू
घाम चाहन्छन् नानीहरू।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.