विद्युत् भन्छ : वायरिङ समस्याले गर्दा बढी महसुल उठ्यो

|

डडेल्धुरा : डडेल्धुराको भित्रीमधेसमा पर्ने आलिताल गाउँपालिका-७ का मानबहादुर कार्कीले चारवटा बल्ब बालेबापत एक महिनाको विद्युत् महसुल ३० हजार ५ सय ११ रुपैयाँ तिरेका छन्।

मानबहादुर किसान हुन्। उनी वडा नं. ७ सुनखोलाका स्थायीबासिन्दा हुन्। उनी यहीँ ठाउँमा गाईभैँसी र बाख्रा पालेर बसेका छन्। उनले हालसालै मात्रै गाउँपालिका-८ मा नयाँ घर बनाए। घर बनाएलगत्तै बिजुली पनि जडान गरे। बिजुली जडान भएपछि उनी खुसी थिए।

जब एक महिनापछि बिजुलीको बिल आयो तब उनी छक्क परे। प्राविधिकका अनुसार बिल २७ हजार रुपैयाँ आयो। त्यसपछि प्राविधिकले उनलाई जडान प्रक्रियामा समस्या भइ विद्युत् चुहावट भएको हुन सकने अथवा मिटर खराब भएको हुन सकने भएकोले चेक गराउना उनलाई सुझाए।

उनले मिटर जिल्ला सदरमुकाम डडेल्धुरा ल्याए। चेक गराउँदा मिटर राम्रै भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले उनलाई भन्यो।

त्यसपछि उनले जडान प्रक्रिया चेक गराउँदा वायरिङमा समस्या भइ विद्युत् चुहावट भएको फेला पर्‍यो। उनलाई त्यो बिल तिर्न पुस महिनाको २३  गते पर्खिनु पर्‍यो। जब २३ गते बिल तिर्न गोदाम बजार गए, उनी झन् छक्क परे। कारण थियो बिल हर्जनासहित ३० हजार पाँच सय ११ रुपैयाँ तिर्नुपर्ने देखियो।

आर्थिक अवस्था कमजोर भएका कार्कीले विद्यतु कर्मचारीसँग केहि छुट गर्दिन भनी आग्रह गरे पनि कर्मचारीले मिटरमा आएको यूनिटको आधारमा बिल तिर्नै पर्ने भनेपछि उनले ऋण गरेर सो पैसा तिरेका हुन्। मिटर उनकी बुहारी राधाकुमारी साउँद कार्कीको नाममा छ।

एक महिनामा चार वटा बल्ब बालेर तीस हजार बिल तिर्न आफूलाई निकै समस्या भएको उनले सुनाए। ‘एक महिनामै यति धेरै पैसा तिर्नुपर्‍यो। चारवटा मात्रै बल्ब बालेका छौँ’ उनले भने।

विद्युत् भन्छ : वायरिङमा समस्याले गर्दा महसुल बढी तिर्नुपर्‍यो

विद्युतले भने पासबुकमा लेखेको कुरा ग्राहकले पालना नगर्दा यस्तो समस्या आएको जनाएको छ। घरमा विद्युत् जनडा गर्दा नै वायरिङमा समस्या आएको हुँदा ग्राहकले बढी पैसा तिर्नुपर्नेको नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र डडेल्धुराका प्रमुख इश्वरकुमार श्रेष्ठले जानकारी दिए।

‘विद्युत् जनडा गर्दा नै वायरिङमा समस्या आएको हुँदा यसो भएको हो। उहाँले (कार्की) मिटर हाम्रो अफिसमा ल्याउनुभएको थियो हामीले त्यो हेर्‍यौ। मिटर राम्रो नै थियो’ प्रमुख श्रेष्ठले भने, ‘वायरिङमा समस्या हुँदा मिटरमा बढी यूनिट देखाएको हो। यस्तो अवस्थामा ग्राहक स्वयमले नै मिटरमा लेखाएको यूनिटका आधारमा पैसा तिर्नुपर्छ।’

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.